विश्व शान्ति आजको अनिवार्यता

0
2162

झण्डै छब्बीस सय वर्षअघि भगवान बुद्धले विश्वशान्तिको कामना गर्दै शान्तिको सन्देश प्रवाह गरेका थिए । लुम्बिनीका राजकुमारका रुपमा जन्मिएका सिद्धार्थ गौतम कठोर साधनाबाट प्राप्त ज्ञानको ज्योति र त्यस अनुशरणका माध्यमबाट भगवानका रुपमा स्थापित भए । त्यही बुद्धको भूमि नेपालमा अशान्ति, हिंसा र हत्याको लामो संघर्ष चल्यो । सयौं, निरपराध, निर्दोष र कर्ममा निष्ठापूर्वक लागेकाहरुले बिनाकारण कसैको सनकमा जीवन गुमाउनु पनि प¥यो । जनयुद्ध नाम दिएर गरिएको सशस्त्र द्वन्द्व टुंगिएको डेढ दशक बितिसक्दा पनि जनताको मनबाट त्यसबेला उब्जिएको त्रास अझै मेटिएको छैन । अनि पनि नेपाली जनता अझै शान्ति कै आशामा छन्, प्रतिक्षा गर्दैछन् कि एकदिन ‘राम राज्य’ आउने छ । सबै अन्याय, हिंसा, हत्या र दुराचारी प्रवृत्तिको अन्त्य हुनेछ ।

द्वन्द्व, युद्ध र त्यसले उत्पन्न गर्ने पीडा कसैका लागि सुखद् हुन सक्दैन । त्यसैले विश्व समाज आज शान्तिको पक्षमा छ । तर, केही अहम् पालेर बसेका नेतृत्व वर्गका कारण, कतै दम्भ र आसुरी प्रवृत्तिका कारण अमानवीय घटनाहरु भइरहेका छन् । पहिलो र दोस्रो विश्वयुद्धले दिएको पीडाबाट मुक्ति पाउन अभिभावकका रुपमा जन्माइएको संयुक्त राष्ट्रसंघ आज विश्वलाई सुख, विकास, शान्ति, भाइचारा र सद्भावको सूत्रमा उनेर विश्व मानवको ओठमा मुस्कान दिन प्रयत्नशील छ । त्यसकै उदाहरण हो कि आज सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवसका रुपमा मनाउन थालिएको छ । संयुक्त राष्ट्रसंघको सन् २०१६ मा भएको साधारणसभाले गरेको घोषणा अनुरुप आज उसको छाताभित्र रहेका देशहरुले यो दिवस मनाउने गरेका छन् । संयुक्त राष्ट्रसंघले बजाएको शान्तिको यो बिगुलले आतंकवाद, आन्दोलन, हत्या, हिंसा, वैमनस्यता र अमानवीय श्रृंखलाको अन्त्य गर्नुपर्दछ ।

भगवान बुद्धको शान्ति सन्देश आज विश्वभर पुगिसकेको छ । शक्ति राष्ट्रका रुपमा दरिएको चीन होस् वा पश्चिमी अथवा अमेरिकी मुलुक सबै शासकहरुले आत्मियता साटासाट गर्नुपर्दछ । हाम्रो सनातनी दर्शनले त सबैलाई सुख होस्, सबै स्वस्थ र शुभाशुभ पहिचान गर्न सक्ने होऊन्, कसैलाई कुनै प्रकारको दुःख नहोस् भनेर विश्वशान्तिको कामना नै गरेको छ । वैदिक सनातन मार्गीको यो मन्त्र ओठमा मात्र नहोस्, बरु विश्वका लागि उदाहरणीय बन्न सकोस् । शान्तिको बाटोबाट मात्र मानव सभ्यताको गौरवको संरक्षण र सम्बद्र्धन हुने भएकाले यसै बाटोमा हिँड्न मुख्यतः शासक वर्गलाई आजको दिनले प्रेरणा दिओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here