माछामा प्रतिबन्ध, मेयरमाथि शंका !

0
1293

भद्रपुर । बिर्तामोड नगरपालिकाले विषादी प्रयोग गरिएको र बरफ हालेर ल्याएको मरेको माछा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले बिर्तामोडलाई विषादिमुक्त नगर बनाउने अभियान अन्तर्गत माछालाई मात्र केन्द्रित बनाएर यस्तो निर्णय गरेको हो ।

बिषादिमुक्त नगर बनाउने अभियान अन्तर्गत फलफूल, सागसब्जीमाथि पनि प्रतिबन्ध लगाउनु पर्ने हो । तर, नगरपालिकाको निर्णयमा त्यो उल्लेख छैन । जसले गर्दा अहिले सामाजिक सञ्जालमा मरेको माछा बिक्री गर्न नपाउने नगरपालिकाको निर्णयको विषयमा व्यापक आलोचना भइरहेको छ । उक्त निर्णय कानून विपरीत, अव्यवहारिक भएको माछा व्यवसायीको आरोप छ । कतिपयले आफ्नो व्यापार बढाउन यस्तो निर्णय गराएको आशंका गरेका छन् ।
बिर्तामोड नगरपालिकाका मेयर धुव्रकुमार शिवाकोटीले आफ्नै वाटर पार्कमा माछा पालना गरिरहेकोले नगरको सो निर्णय आफू लक्षित गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यंग्य समेत गरिरहेका छन् । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र नियमावली २०५६मा भारतबाट आयातित माछा बरफ हालेर निर्यात गर्न सकिन्छ भने प्रष्ट उल्लेख गरिएको छ । जिउँदो माछा आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको ऐनमै उल्लेख भएको अस्थायी पशु क्वारेन्टाइन चेक पोष्ट भद्रपुरका प्रमुख डा. मुकेशकुमार सिंहले जानकारी दिए । ‘मान्छेमा माछा आयातको विषयमा भ्रम हट्नु प¥यो’ पोष्ट प्रमुख सिंहले भने– ‘माछा पोखरी वा खोलाबाट निकाल्ने बित्तिकै मर्छ । माछाको गुणस्तर खराब नहोस् भनेर बरफ हालेर माछा कार्टुनमा राखेर ल्याउनु पर्ने कानूनमै छ ।’ माछा आयात गर्ने व्यापारी मेघु राय भन्छन्– ‘भारत सरकारले नै जारी गरेको विषादिको क्वारेन्टाइन प्रमाणपत्रकै आधारमा माछा नेपाल भित्र्याउँछौ ।’ ‘त्यहाँ विषादि जाँच नगरी कुनै पनि माछा भित्र्याउन पाइँदैन । त्यसपछि यहाँ पनि फरमालिन जाँच हुन्छ र बजारमा बिक्री वितरणका लागि पठाउँछौं’– उनले भने ।

यसरी जाँचिन्छ आयातित माछा

जिल्लाका अधिकांश बजारमा बिक्री वितरण हुने माछा भारतबाट आयात गरेर नै बिक्री गरिन्छ । नेपालमा उत्पादित माछाले नेपाली बजार धान्न सक्दैन ।

अहिले जिल्लाको तीन वटा नाकाबाट माछा आयातका लागि चेक पोष्ट राखिएको छ । पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टा र त्यसको मातहत रहेको भद्रपुर र गौरीगञ्जमा अस्थायी पोष्ट राखिएको छ ।
पहिला आँखा हेरेर र हातले छामेर माछा आयात गर्ने चलन थियो । विषादि जाँचको आवाज उठेपछि पशु सेवा विभागले अहिले भारतबाट आयातित माछामा कडाइ गरेको पशु क्वारेन्टाइन चेक पोस्ट भद्रपुरका प्रमुख डा. मुकेशकुमार सिंहले बताए ।

अहिले विषादि परीक्षण बिना कुनै पनि माछा भित्र्याउन नदिने गरेको उनले बताए । ‘विषादि परीक्षण पछि मात्र माछा आयातको क्वारेन्टाइन प्रमाणपत्र जारी गछौं’– उनले भने– ‘माछाको विवादित विषय भनेकै नै फरमालिन रसायन हो । यसले यो रसायनले मान्छेलाई प्राणघात रोग क्यान्सर लगाउँछ  ।’ उनका अनुसार भारतको राज्य सरकार नभई केन्द्र सरकारले नै माछा आयातका लागि प्रमाणपत्र जारी गरेको हुन्छ । त्यो प्रमाणपत्रमा पनि फरमालिन जाँच हुन्छ । त्यही प्रमाणपत्रको आधारमा हामी पनि क्वारेन्टाइन जाँच गर्छाैं ।

उनले भने– ‘त्यसैले माछाको फरमालिन जाँच गर्छौ । एउटा फरमालिनमा तीन वटा डब्बा हुन्छ । माछालाई चिरेर निकालिएको तरल पदार्थलाई तीन वटा बट्टामा हालेर चेकजाँच गर्छाै । तीनै वटै बट्टामा एउटै रङ आउनु पर्छ । पहिलो रङ्ग देखिएमा फरमालिन रसायन प्रयोग भएको हुन्छ, जुन विषादि हो ।’ क्वारेन्टाइन जाँच भएका माछा बजारमा बिक्री गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here