देशभर कोरोनाको संक्रमण बढ्दै झापा ‘रेड जोन’मा, निको हुने दर घट्यो

0
775

झापा ।

कोरोना भाइरस बढिरहेका बेला झापा पनि रेड जोनमा परेको छ । सोमबार सक्रिय संक्रमितको संख्या दुई सय नाघेसँंगै झापा रेड जोनमा परेको हो ।

नेपालमा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । २ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.वासुदेव पाण्डेका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लालाई प्राथमिकता दिएर योजना बनाइएको छ ।

झापामा संक्रमितको संख्या बढ्दै जाँदा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको पाइँदैन् । भीडभाड बढ्दै गएको तथा स्वास्थ्यको मापदण्ड नअपनाएका कारण झापामा कोरोनाको संक्रमण बढ्दै जाने भन्दै चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् । यसैबीच आइतबार अहिलेसम्मकै सर्वाधिक ५५ जना संक्रमित भएकोमा सोमबार भने ११ जनामा मात्रै कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा दुई सय २० जना संक्रिय संक्रमित रहेका छन् भने १२ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै बिर्तामोड नगरपालिकाका तीनवटा वडा कार्यालयको सेवा सोमबारदेखि तीन दिनका लागि बन्द गरिएको छ । कोरोना संक्रमितका परिवारका सदस्य कार्यालयमा आएको र अरु व्यक्तिसँग घुलमिल गरेको जनाउँदै ती वडाका दैनिक कामकाज बन्द गरिएको हो ।

बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बर वडाको संयुक्त वडा कार्यालय गरामनी बजारमा रहेको छ । संक्रमितका परिवारका सदस्य कार्यालयमा आएको खुलेपछि तीन दिनका लागि कार्यालय र सेवा बन्द गरिएको बिर्तामोड –९ की वडाध्यक्ष पवित्रा पाठकले जानकारी दिइन् । विराटनगरको नोवेल हस्पिटलमा मिर्गौला सम्बन्धी समस्याको उपचार गराइ रहेका बिर्तामोड –९ का एक व्यक्तिलाई आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय परिचयपत्र बनाउन विवरण संकलनको काम चलिरहँदा संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्यहरु आइतबार दिउँसो संयुक्त वडा कार्यालय गएका थिए । नगरपालिकासँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङसम्मका लागि कार्यालय बन्द गरिएको वडाध्यक्ष पाठकले जानकारी दिइन् । संक्रमण पुष्टि भएका ती व्यक्तिलाई शुरुमा बिर्तामोडको बिएण्डसी हस्पिटल लगिएको थियो । त्यहाँबाट उनलाई विराटनगर लगिएको थियो । विराटनगरबाट घर आइसकेका ती व्यक्तिको नोवेलमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्तिलाई अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरको आइसोलेसनमा राखिएको छ । संक्रमितका परिवारका सदस्य, छिमेकी, वडा कार्यालयमा आएका सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी लगायतको कन्ट्रयाक ट्रेसिङ गरिने जनाइएको छ । तीन वटै वडाका वडाध्यक्षद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ– बुधबारसम्मका लागि वडाका सम्पूर्ण कामहरु बन्द रहनेछन् ।

यसैबीच नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित निको हुने दर पछिल्लो समय घट्दै गएको छ । केही समय अघिसम्म कोरोना संक्रमित निको हुने दर ७४ प्रतिशत रहेको अवस्थामा यो घट्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले संक्रमितहरु निको हुने दर घट्दै गएको जानकारी दिएका हुन् ।

दक्षिण एसियामा नेपालको अवस्था अन्य देशको तुलनामा भयावह देखिएको छ । सार्कका अन्य राष्ट्रमा निको हुने दर बढेर सक्रिय संक्रमित घटिरहँदा नेपालमा भने ठीक उल्टो भइरहेको छ । असोज १४ सम्ममा नेपालमा ७३.१ प्रतिशत कोरोना संक्रमित निको भएका थिए । यो पनि दक्षिण एसियामै कमजोर थियो । तर डेढ हप्तामै यो अवस्था झन् खराब देखिएको छ । मन्त्रालय प्रवक्ता गौतमका अनुसार सोमबारसम्मको तथ्यांक हेर्दा निको हुने दरहरु घटेर ६९.१ प्रतिशतमा पुगेको छ । एक सातायता यो दर झन् घट्दै गएको छ । सोमबार मात्रै देशभर सक्रिय संक्रमित ३३ हजार ८८० पुगेका छन् । यस्तोमा डिस्चार्ज हुनेको अवस्था घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना पुष्टि हुँदा केबल १४ सय ७३ जना मात्रै निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० वटा स्वाब नमूनाको पीसीआर गरिएको छ । केही दिनअघि १८ हजारको परीक्षण भएको थियो । पछिल्ला दिनहरूमा सरकारले परीक्षणको दायरा बढाउँदै लगेको छ । तर कोरोनामुक्त हुने दर भने केही दिनयता घटिरहेको छ । देशभर एक लाख ११ हजार ८ सय २ जनामा कोरोना संक्रमण भइसकेको छ ।

असोजको पहिलो साता कोरोना संक्रमण हुनेभन्दा मुक्त हुने दर बढे पनि पछिल्ला केही दिनयता काठमाडौं उपत्यकालगायत शहरमा संक्रमण चुलिन थालेपछि कोरोनामुक्त हुनेको प्रतिशत घट्न थालेको हो । नेपालमा ७४ प्रतिशतसम्म संक्रमण मुक्त हुने दर पुगेको थियो ।

लकडाउन निषेधाज्ञापछिका दिनमा बजार खुल्दा कोरोना जित्नेको संख्यामा कमी आएको छ । निको हुने दर कम हुने सार्क राष्ट्रको सूचीमा नेपाल पहिलो स्थानमा छ । पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत, माल्दिभ्समा ८६.६ प्रतिशत, अफगानिस्तानमा ८३.२ प्रतिशत र भारतमा ८२.१ प्रतिशत रहेको छ । यस्तै भुटानमा ७५.३ प्रतिशत, बंगलादेशमा ७४.८ प्रतिशत संक्रमितहरु निको भएका छन् ।

चाड पर्व नजिकिएसँंगै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चाडपर्वको समयमा भयावह अवस्था आउन सक्नेतर्फ चिकित्सकहरुले सचेत हुन आग्रह गरेका छन् । तर, सर्वसाधारणले भने कोरोनाई वेवास्ता गर्दा स्थिति भयावह बन्न सक्ने सरकारले चेतावनी दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here