विविध थरी र विविधरुपका मानिसहरको बसोबास झापामा छ । यसको प्राकृतिक स्वरुप र मानिसहरुको स्वभाव पनि विचित्रको नै छ । सबै जातका, सबै धर्मकाभन्दा पनि सबै बिचित्र–बिचित्र स्वभावका मानिसहरुले झापालाई रमाइलो बनाएका छन् । झापामा विगत सयौं वर्षदेखि रजगज गर्ने मानिसहरुको आफ्नै मपाईपन छ, ता की अरु मानिसहरु केही पनि होइनन् । कोही सबै झापाको जानकारीको ठेक्का लिएर अरुलाई झापाको सम्बन्धमा बोल्ने या लेख्ने हक नै छैन भनी ठान्ने मानिस पनि झापामा छन् । तर, धेरै मानिस यस्ता छन् कि हिजो आएर भए पनि अरुभन्दा झापामा आफूलाई पुरानीय ठानेर अरुको हक र अधिकारमा बन्देज लाउन खोज्छन् । कोही आफूलाई बढो सज्जन र इमान्दार भएको हावा पिट्छन् । तर, हिजो आफूले के–के गरेँ सबै अरुले सम्पूर्ण यथार्थ जानकारी राखिरहेका र देखिरहेका छन् भन्ने थाह पाउँदैनन् । आफ्नो विगतप्रति अरुलाई थाह नै नभएको भान छ उनीहरुलाई । कोही आफ्नो बाबुबाजेको कृति लेखाउन पैसा बाँडेर हिँडिरहेका छन् । कोही प्रशस्ती–पत्र आफैं छपाएर या आफैं मैले यो गरेको भनेर फलाक्दै सम्मान–पत्रको खोजीमा हिँडेका छन् । तर, कोही यस्ता विचित्रका मानिस पनि छन् । जो यी केहीसँग मतलब राख्दैनन् । आफ्नो चलन पनि छोड्दैनन् । यस्तै–यस्तै बीचमा एकजना मनुष्य छन्– रामबाबु प्रसाई ।
रामबाबु प्रसाई थरी–थरीका नामले चिनिन्छन् । मैले पहिले–पहिले सुनेजानेका नाम हो रामबाबु र त्यसपछि खनुपरुदे प्रसाई । मलाई मेरो बाल मस्तिष्कमा के छाप परेको थियो भने उहाँहरु सबैभन्दा पैसावाला मानिस हुनुहुन्छ । पैसाको केही कमी छैन, जे पनि खरिद गर्न सक्नुहुन्छ र उहाँको नाम खरिदे प्रसाई भएको हो । खनुपरुदेप्रकाहा, खनुपरुदे, रामबाबु आदि विभिन्न बेलामा कोही कुनै अलग–अलग नाम दिनुभएको उहाँको झ–झल्को मलाई छ । धेरै मानिसलाई लाग्छ– उहाँ बढो निहँु खोजुवा मानिस हो । तपाईं कुनै एउटा कुरो थाल्नुहोस्, तपाईले प्रयोग गरेका शब्द निकालेर उहाँ बखेटा झिक्न शुरु गर्नुहुन्छ । तपाईलाई काबु–काबु पार्नुहुन्छ र अर्कोपल्टदेखि उहाँसँग बोल्दा प्रत्येक शब्द बोल्दा तौली–तौली बोल्नुपर्ने हुन्छ । त्यसैले उहाँसँग बोल्दा बढो होसियार भएर बोल्नु पर्छ । तर, उहाँसँगको कुराकानीमा तपाईले कुनै झर्को अथवा झन्झट भने लाग्ने छैन । उहाँको प्रथम झापामा चिनारी बढो सत्यवादी भनेर चिनिनु भयो । उहाँ महात्मागान्धीको चेला हो भनेर चिनिनु भयो । त्यसैले उहाँ कुनै अवस्थामा ढाट्नु हुन्न भनेर चिनिनु भयो । जब उहाँ विदेशी एजी कृषि विज्ञानमा स्नातकोत्तर अध्ययन सफलताका साथ गरेर झापा आउनु भयो । २०१२ सालतिर धुलावारी बजारको उत्तरका उहाँको अन्तरे काका इन्द्रप्रसादजीसँगको साझा खेतीमा उहाँले बढो आधुनिक ढंगबाट खेती गर्न शुरु गर्नुभयो ।
उहाँले खेती के थाल्नु भयो– सारा गाउँबासीको समस्या शुरु भयो । गाउँबासीको मात्र होइन, सारा धुलाबारी बजारबासीको समस्या शुरु भयो । त्यसताका प्रत्येक जस्तो दोकानदारहरुको आफ्नो घोडा हुने गथ्र्यो । ठूलो समस्या शुरु गरिदिनु भयो रामबाबुले । गाउँमा दिउँसो या राति गाई, गोरु, घोडा, राँगा, बाछा, पाडा, बाख्रा आदि बाँध्ने चलन नै थिएन । सबै गाईवस्तु छाडा नै हुन्थे । हिउँदको समयमा त रेखदेखका लागि गोठाला समेत हुँदैनथे । धान काटिसकेपछि रामबाबुले गहँु, जौ लाउनुभयो । गहुँ के लाउनु भएको थियो, सारा गाउँभरका गाईवस्तु, बजारियाका घोडा, कता–कता हरियो छ, त्यतै–त्यतै ओहिरिए । सारा गाउँले र बजारिया त रामबाबुको बालीबाट आफ्ना गाईबस्तु, घोडा बचाउने प्रयत्नमा लागे । तर, एउटा साँढे गोरुको कोही वारिस भएन । घरबाट मानिस गएर साँढे धपायो । मानिस घरमा आइपुगेको छैन साँढे फेरि फर्किएर आइहाल्यो । फेरि धपायो, फेरि आइहाल्यो साँढे । हुँदा–हुँदा साँढे यति चलाख देखिन थाल्यो कि मानिस आएको छनक पायो कि साँढे टाप ठोकी हाल्थ्यो । हैरान–हैरान पा¥यो साँढेले ।
एकपटक छेका मारेर साँढेलाई निन्दा खोला समेत तारेर जङ्गल कटाएर नकलबन्दा गाउँ छेउसम्म पु¥याइयो । मानिसहरु अब साँढेलाई डाँडा कटाइयो भनेर आए । तर, मानिसहरु सँगसँगै केही छिनपछि साँढे पनि आइपुग्यो । साँढेले लगाउनसम्म दिग्दार लायो । सायद कोही साँढेको हकवाला निस्कन्छ कि भनेर होला । साँढेको नाममा एउटा सार्वजनिक सूचना टाँसेर साँढेलाई शक्त कार्वाही हुने सचेत समेत गराइयो । तर, साँढे सचेत पनि भएन, कोही हकवाला पनि निस्केन । बाली जोगाउने कुनै उपाय हुन सकेन । के गर्ने बढो फसाद प¥यो रामबाबुलाई । हुँदा–हँुदा साँढे यति चलाख बन्यो कि घरबाट कुनै मानिस निस्क्यो कि साँढे टाप ठोकी हाल्थ्यो । मानिस आयो कि साँढे बालीमा फर्की हाल्थ्यो । रामबाबुले एउटा जुक्ति निकाल्नुभयो साँढे समाउने । तर, समातेर पनि साँढे बाँध्न नहुने, के गर्ने ? सिंगो धर्मशास्त्र र परम्परा रामबाबुको अगाडि खडा भयो । यी सबैबाट पनि बच्नुपर्ने बालीको केही टाढा, खोला किनारतिर एउटा भास जमिन थियो । त्यहाँ मानिस अथवा कुनै जनावर पस्न सक्दैनथे । पसे कि भासिएर निस्कन सक्दैनथे । जब साँढे आयो गाउँका सबै भेला भई ठूलो छेक्का पारेर पछाडिपटिबाट झुक्याएर सयौं मानिसबाट साँढे घेरियो र छेकारो पारेर साँढेलाई भासतिर धपाइयो । बिचरा साँढे खुरले भूँइ कोर्दै होक्काँ–होक्काँ गरेर कराउँदै, घर वरिपरिको मानिसलाई झम्टिँदै अगाडि बढ्दै गयो । साँढे भासतिर गयो, अलि–अलि अगाडि बढ्दै साँढे बिस्तारै–बिस्तारै घुँडा–घुँडाभन्दा बढी भसिएपछि हल न चल भई उभिन पुग्यो । साँढे के बन्धनमा प¥यो रामबाबु खुकुरी लिएर अगाडि बढ्नुभयो र हल न चल भएको साँढेको धरनासो तास्न थाल्न भयो । साँढे ग्वाँ–ग्वाँ गरेर कराउँदै भासमा पछारियो ।
गाउँघरमा सारा हल्ला चल्यो । रामबाबुले साँढे काट्नु भयो भनेर । प्रहरी आएर रामबाबुलाई समातेर लिएर गए । सारा चन्द्रगढी बजारमा थरी–थरीका मानिसहरुले भरियो । रामबाबुले साँढे काटेको होइन भनेर वकिलहरु मार्फत भन्न लगाइयो । तर, रामबाबुले काटेको होइन भनेर भन्नुभएन । साँढे काटेको मुलुकी ऐनमा मानिस काटेको सरह सजाय हुँदा रामबाबुलाई ज्यान मुद्दा लाग्ने भयो । सबै मानिस रामबाबुलाई उकास्न लागे, तर रामबाबुलाई लाख बिन्ती गर्दा पनि आफ्नो बयान सच्याउन मान्नुभएन । आफूले साँढे काटेको इन्कार गर्नुभएन । बढो अप्ठ्यारो स्थिति बनाई दिनुभयो रामबाबुले । त्यसैले अड्डा, अदालतका डिट्ठा, बिचारी र चन्द्रगढीका किर्ते, काइते, वकिल राखेर रामबाबुलाई एउटा कागजमा बयान गराइयो । र, अर्को कागजमा सही गराएर छुटाएर ल्याइयो । रामबाबु साँढे काटेको कानूनी आरोपबाट भने बच्नुभयो, तर रामबाबु आफूले साँढेमाथि हतियार प्रयोग गरेको कुरा कहिल्यै अस्वीकार गर्नुभएन ।
गाउँमा रामबाबु अत्यन्त सत्यवादीको रुपमा झापा र इलाममा प्रख्यात हुनुको कारण अर्को पनि छ । २०१७ सालपछि केही वर्ष उहाँ इलाम बस्नु भयो । ठीक त्यही बेला नेपाली कांग्रेसले सशस्त्र विद्रोह थालेको थियो । त्यसका लागि गाउँ–गाउँमा आन्तरिक संगठन गर्न समिति निर्माण गरिएको थियो । यस कामका लागि उहाँ गाउँ जानुभयो । यही कामको सिलसिलामा उहाँ साँखेजुङ्ग पनि जानुभयो । साँखेजुङ्गमा उहाँले टुंगबहादुर बस्नेत, मदनबहादुर बस्नेत, गंगाबहादुर बस्नेत, बाजवर्ण कटुवाल, बलबहादुर राईहरु रहेको समिति बनाउनु भयो । समितिले आफ्नो काम शुरु ग¥यो । हतियार लिएर आउने मानिसहरुलाई लुकाउने, खुवाउने, बसाउने काम शुरु भयो । यही सिलसिलामा इलाम जिल्लाको कमाण्डर सम्हाल्नु भएका श्री उदयबहादुर साउदेन, जसले पुवामझुवामा एउटा षडयन्त्रमा परी शहादत प्राप्त गर्नुभयो । भूविक्रम नेम्बाङले यहीँ बेस क्याम्प बनाएर पाँचथर च्याङथापुतिर क्रान्तिको मोर्चामा आतङ्क नै मच्चाउनुभयो र कयौं सेनाका सिपाहीहरुलाई ढाल्नु भयो । सेनाहरु इलामबाट घरमा आएर भात पकाएर खाएर जान्थे अनि उहाँहरु चाहिँ सेना परेवाको खरमा, बुइँकलमा बसेर समय गुजार्नु हुन्थ्यो र जिल्ला कब्जा गर्ने योजना बनाउनुहुन्थ्यो ।
पहाड–पहाड नै नेपालटार, माईपोखरी, माईमझुवा हुँदै जमुना भएर भारत दार्जीलिङको पुलन बजारसम्म मानिसहरुलाई साथ दिएर मानिस पठाउनुपर्ने, बन्दुक र अन्य हतियारहरुलाई ल्याउनुपर्ने, कामहरु सकुशल भई नै राखेको थियो । यसैबीच रामबाबु प्रसाई प्रहरीको कब्जामा पर्नुभयो । प्रहरीले उहाँलाई बयान लियो । प्रहरी समक्ष उहाँले साँखेजुङ्गमा गरिएको सबै गतिविधि बताई दिनुभयो । साथै आफूँसँग भएको डायरी समेत उहाँले हस्तान्तरण गर्नुभयो । डायरीमा सबै नाम कोडमा लेखिएको थियो । जब प्रहरीले उहाँसँग –‘कोडमा लेखिएको नाम कसको–कसको हो बताउनुहोस्’– भनेर सोध्यो । उहाँ ढाट्न नजान्ने मानिस यो भनिदिनु भयो कि– ‘यो फलाना–फलाना भनेको को हो मलाई थाहा छैन । तर, दुई जनालाई थाह छ । म ती दुई जनालाई मात्र जान्दछु, उहाँहरु हुनुहुन्छ–टुङ्गबहादुर बस्नेत र बाजवर्ण कटुवाल । तुरुन्त उहाँहरुलाई झिकाएर ल्याइयो । प्रहरी हिरासतमा शख्त कार्वाहीपछि अरुहरुको नाम खुलाउन बाध्य पारियो ।
त्यसपछि सारा साँखेजुङ्गका सोह्र वर्षदेखि माथिका मानिसहरुलाई इलाम बजारभित्र ठिङ्ग्रयाइयो र दर्जनौं मासिनहरुलाई पक्राउमा लिइयो । अराष्ट्रिय तत्वका नाइकेहरुलाई सहयोग पु¥याउने भन्ने आरोप लगाएर सबैभन्दा बढी मदनबहादुर बस्नेत र गंगाबहादुर बस्नेतलाई पिटियो, खुट्टा बाँधेर झुण्ड्याइयो, पानी खनाउँदै रोलले पैतालमा पिटियो । यति पिटियो कि बेहोस नहुञ्जेलसम्म पिटाई जारी रह्यो । कपाल उखेलियो । दिसा–पिसाब बसेको नै ठाउँमा गराइयो । बेहोसीबाट जब फर्किइन्छ फेरि पिटियो । यो क्रम महिनौं जारी राखियो । माईपोखरीमा पक्राउ परेका भद्रसिंह राईले सबैभन्दा बढी कुटाई खाए । त्यसमाथि पनि गलाबन्दी नेल ठोकियो । बसेका ठाउँबाट चटपटाउन पनि नसक्ने गरी हतकडी र नेल गलामा ल्याएर बाँधियो । एक महिना हिरासतमा नै राखेर कुटपिट गरेपछि उहाँलाई जेलमा मुर्छित अवस्थामा लगियो र फ्याँकियो । जहाँ रामबाब, बाजवर्ण कटुवाल र टुङ्गबहादुर बस्नेत हुनुहुन्थ्यो । उहाँहरुले अहिले पनि यी सबै कुरा याद गर्नुहुन्छ या सुनाउनुहुन्छ । भन्ने–सुन्ने दुबैका आँखामा आँशु डगमगाउँछ । राक्षस जस्तो तत्कालीन पुलिस जिल्ला इनिस्पेक्टर तुलाराम राई आँखामा झल्झली आउँछ ।
रामबाबुले डायरी हात पारी दिएपछि सबैको पोल खुल्यो, कोही बाँकी रहेनन् । कोही पकडा परे, कोही पारी तरेर आन्दोलनमा भाग लिए । तर, रामबाबुको एउटा नाम के भनेर पछिसम्म चर्चित भयो भने उहाँले आफूखुशी डायरी जिम्मा दिनुभयो । जब उहाँलाई अरु को–को मानिस तपाईसँग यो काममा छन् भनियो । उहाँले भन्नुभयो– ‘सबै त मलाई याद छैन, तर मसँग एउटा डायरी छ, त्यसमा सबै लेखेको छु’– भनेर आपूmले लुकाएर राखेको डायरी भएको ठाउँ देखाई दिनुभयो । प्रहरी गए, डायरी लिएर आए । एकातिर कस्तो मानिस रामबाबु ? भनियो– बस साथीहरु पकडएर उहाँले यो के गरेको हो ? अर्कोतिर भनियो– रामबाबु बडो सत्यबादी मानिस हुनुहुन्छ । उहाँ युधिष्ठिर हुनुहुन्छ, कस्तै परिस्थितिमा पनि उहाँ झुठ बोल्नु हुन्न । बढो सत्यवादी मानिस ढाँट्न सक्नुहुन्न मात्र होइन, जान्नु पनि हुन्न । त्यसैले सबै कुरा कागज–पत्र आफैं हात लगाइ दिनुभयो । आफूलाई थाह नभएको कुरा फलानालाई थाह छ भनेर जानकारी गराई दिनुभयो ।
कुरा निस्किहाल्यो, भनी हालौं– इन्सपेक्टर तुलाराम राई इलाममा जिउँदै दशौं मानिसलाई एउटै चिहान आपैmं खन्न लगाएर गाडेवापत र बेहिसाव कयौं मानिसको हत्या गरेवापत अथवा अमानवीय ढङ्गले मानिसलाई सजाय गरेवापत डीएसपी पदमा बढुवा भई रिटायर्ड भए । सात जना राई र दुई जना गुरुङलाई एउटै खाल्डोमा माईपोखरी जाने बाटोमा गाडियो । यो पनि भनि हालौं– त्यस ठाउँमा गणेशमान प्रतिष्ठानले स्मारक बनाउन पहल गर्दा हामीले काम थालेका छौं भनेर इलाम जिल्ला विकास समितिका कांग्रेसीहरुले दिएनन्, आफूले पनि केही गरेनन् ।
केही वर्षपश्चात धरान बजारमा आफ्नै घरमा मध्यरात्रीमा सबै निद्रामा मस्त रहेका बेला इन्सपेक्टर तुलाराम राईकी श्रीमतीले उनी लगायत आफू र दुई छोरीहरुको हत्या गरिन् धरान बजारमा । परिवारको कोही बचेन, धेरैले भने– ‘तुलारामको पाप धुरीबाट करायो’ तर, निदोर्ष केटाकेटीको हत्या कहाँबाट पाप करायो र भयो यो भने कसैले भनेनन् । मदनबहादुर मानसिक सन्तुलन त्यहीताकादेखि बिग्रेर घरैमा बस्नुभएको छ, धेरै दुःख पाउनु भएको छ । अलिकति बादल लाग्यो या पानी पर्न आँट्यो भने गङ्गाबहादुर जीउ चलाउन नभएर ओच्छ्यान पर्नुहुन्छ । उहाँहरुलाई कोही सोध्नेवाला छैन । देशमा उहाँहरु जस्ता कति छन् सोध्ने कुरा पनि भएन । बाजवर्ण कटुवाल अहिले यो संसारमा हुनुहुन्न । भद्रसिंह राईका सन्तान यहीँ काँकरभिट्टातिर कतै जनवन गरेर गुजरा गरिरहेका छन् भन्ने सुनेको छु । राजनीतिक पीडित सहायता कोषबाट सहयोग लिन धेरै धाए तर पाएनन् ।
हवाई अपहरणपश्चात एकपल्ट रामबाबुको शिलगढीको घर भानेबासा (भारतनेपालबास)मा भारतीय प्रहरीले छापा मा¥यो । रामबाबुको सेफबाट केही पेस्तोलका साथ गोलीहरु फेला पा¥यो । प्रहरीले अनुसन्धानका लागि रामबाबु पक्राउ पर्नुभयो । हुन त राजनीतिक निर्वासनमा बसेका मानिससँग यसरी हतियार भेटिनुले भारतीय सरकार र प्रहरीलाई अचम्मित पारेन, तर अवैध हतियार भेटिनु कानूनी प्रक्रियामा त मिलाउनु पर्ने नै थियो । रामबाबुले इन्कारी बयान नगरी नमिल्ने कुरा थियो । तर, रामबाबुले ‘हतियार, गोली राखेको नै हो’ आदि–आदि बयान स्वीकार्नुभयो । प्रहरीलाई पनि अप्ठ्यारो प¥यो । प्रहरी पनि सहयोगी भएपछि गणेशबाबु प्रसाईले प्रहरीलाई के–के गरेर मिलाउनु भएको थियो ।
एकपल्ट जब म सानै थिए रामबाबुहरु, को–को दुईचार जना घरमा आउनुभयो । सायद गणेशबहादुर प्रसाई, केशरबहादुर प्रसाई पनि हुनुहुन्थ्यो । जो नातामा हाम्रो भिनाजु पर्नुहुन्छ । उहाँहरुको आगमन के हुन्थ्यो, हामी सबै उहाँहरुको सेवा सत्कारमा जुट्थ्यौं । आमाहरु पकाउनमा व्यस्त हुने, गाउँबाट अरुहरुलाई पनि भान्साको काममा जुटाउन डाक्नु पर्ने । उहाँहरुको सम्मानमा खसी काटिन्थ्यो, सेलरोटी पकाइन्थ्यो, थरिथरिका परिकारहरु, अचारविचारहरु तयार पारिन्थ्यो । हामी भान्साबाट उहाँहरु भएको ठाउँमा खानेकुराहरु ओसाथ्र्यौं । साह्रै गफ चल्थ्यो । उहाँहरुको कुरा गराई, तर्कशैली कुनै कुरामा पनि उत्तेजित नभई आफ्नो कुरा राख्ने र जितेर छाड्ने कलाबाट हाम्रो बालमस्तिष्क अत्यन्त प्रभावित हुन्थ्यो । लाग्थ्यो उहाँहरुभन्दा जान्ने–सुन्ने मानिसहरु यस संसारमा नै छैनन् । जब बिहान या बेलुकीको खाना तयार हुन्थ्यो, म अह्राए अनुसार गएर भन्थें– ‘भान्सा तयार भयो ।’ उहाँहरु चुप लागेर सुनेर मात्र बस्नु हुन्थ्यो, कुनै हलचल हुँदैनथ्यो । अनि म फेरि भन्थें । ‘भान्सा तयार भयो’– उहाँहरु सुने–नसुने झैं गर्नुहुन्थ्यो । जब म फेरि पनि कानैमा गएर कराएर भन्थें कि– ‘भान्सा तयार भयो’ भनेर तब उहाँहरु मलाई प्रश्न गर्नुहुन्थ्यो कि ‘के गर्ने भनेर ?’ ‘म बोलाउन आएको कि भात खान जाऔं’– अनि उहाँहरु उठ्नु भयो र भान्सातिर लाग्नु भयो । ‘भान्सा तयार भयो मात्रभन्दा हामीले के गर्ने राम्रै भयो भन्ने मात्र न हो । कि भात खान जाऔं भन्नुपर्छ नभएर अलि सभ्य भएर भन्ने हो भने भूजा लिन सवारी होइबक्सियोस् भनेर भन्नुपर्छ ।’ उहाँहरुले मलाई सिकाउनुभयो अनि मैले अलि गाउँले परिबेशबाट माथि उठेर यो उहाँले सिकाएर बमोजिम सभ्य भएर भन्न जानेँ या जान्न शुरु गरेँ ।
रामबाबु कयौंपल्ट जेल पर्नु भयो । ०१७ सालपछि जब उहाँ देशभित्र रहनुभयो, कुनै पनि राजनीतिक घटनाक्रम बढ्ने भयो कि झापामा रामबाबु आदि–आदि पक्राउ परिहाल्नु हुन्थ्यो । जब उहाँ जेल पर्नुभयो, उहाँले घरको कुनै पनि सामान प्रयोग गर्नुभएन । उहाँसँग जेल पर्नेहरु घरबाट या साथीहरुकोबाट खाना मगाएर खान्थे, तर उहाँले कहिले यो काम गर्नुभएन र भन्नुभयो कि– ‘हामी पक्राउ पर्छांै, अर्काको अधिनस्त हुन्छौं, यो बेलामा पनि घरको नै साधन प्रयोग ग¥यौं भने हमी जेलमा परेको कसरी भयो ? बरु माफी मागेर घरमा ने बसे भइहाल्यो नि । प्रहरी हिरासतमा त कयौं दिन र कयौंपटक भोकै पनि रहनुभयो । घरको खाना उहाँ नखाने र प्रहरी हिरासतमा रहँदा सरकारले नै कुनै व्यवस्था नगर्ने । त्यसबेला उहाँ के तर्क दिनुहुन्थ्यो भने हिरासतमा राखेपछि खाना खान दिनु पर्छ हैन भने हिरासतबाट मुक्त गर्नुपर्छ । भोकै कुनै मानिसलाई नियन्त्रणमा लिने अधिकार कसैलाई पनि छैन ।
रामबाबुको पोशाक पनि बिचित्रको छ । भन्दा कमिज सुरवाल नै हो, तर उहाँको सुरुवाल केही पेन्ट जस्तो, अलिकति पाइजामा जस्तो, अनि कमिज पनि झण्डै कुर्ता जस्तो, कसो–कसो सर्ट जस्तो पनि । आफैंले हातले कमेजमा टाँसेका ठूला–ठूला पत्रे गोजी, सुरुवालमा गोजी राखेको । अनि अस्कोट र टोपी । जहाँ जान पनि पैदल यात्राको अत्यन्त सौखिन । उहाँको पहिरनले तपाईलाई आँखाले भ्याएसम्मको दूरीमा सजिलै ठह¥याउन कुनै अप्ठ्यारो पर्दैन । उहाँले कयौंपटक पैदल जिल्ला भ्रमण गर्नुभएको छ । देशको पैदल भ्रमण पनि गर्नुभएको छ । उहाँले पटक–पटक नेपाली कांग्रेसको पार्टी सभापति हुँदा झापाको पैदल भ्रमण गर्नुभयो र सबभन्दा महत्वपूर्ण पक्ष के हो भने एक महिनाको भ्रमण तालिकामा तोकिएको सबै ठाउँमा पुग्नुभयो र तोकिएको कार्यक्रममा भाग लिनु भयो । समयको अत्यन्त ख्याल गर्ने र तोकिएको समयमा जहाँबाट पनि पुग्ने उहाँको बानी अझै पनि छ ।
आफूलाई चाहिने सामान उहाँ आफैंले राख्ने गर्नुभएको छ । विद्यार्थीकालदेखि नै उहाँको अचम्मको स्वभाव थियो, जुन आज पर्यन्त छ । सानो उमेरदेखि नै आफ्नो लुगा सिउने सियो–धागो आफैं राख्नुहुन्थ्यो र आफ्नो साथीभाइलाई पनि यसरी स्वावलम्बन बन्न सिकाउनु हुन्थ्यो । यसका लागि साथीभाइलाई उहाँ सियो–धागो जस्तै चाहिएको खण्डमा पनि दिनुहुँदैनथ्यो । सियो मागेको खण्डमा सियो दिईहाल्नु भयो भने पनि धागो चाहिँ नदिने । साथीभाई जतिसुकै रिसाए पनि रिसाउन त्यसको उहाँलाई पर्वाह हुँदैनथ्यो । यहाँसम्म कि उहाँ आफ्नो जुत्ता पनि आफैं सिलाउनु हुन्थ्यो र त्यसका लागि चाहिने सामानहरु आफैं राख्नुहुन्थ्यो ।
एकपल्ट साथीहरुसँग सल्लाह गरेर उहाँहरु झापा जिल्लाको भ्रमण साइकलमा गर्न निस्किनु भयो । साइकलको टोली अगाडि बढ्यो । धेरै साथीहरुको साइकलको हावा सकियो, पम्चर भयो, रामबाबुको पनि । तर, रामबाबुको आफ्नो व्यवस्था थियो– पम्चर बनाउने र हावा हाल्ने पम्प समेत । उहाँले ती सामानहरु अन्य साथीहरुलाई दिनुभएन । यस कामले आफ्नो साथीहरुसँग लामो मनमुटाव भए पनि आफ्नो व्यवस्था आफैं गर्नुपर्छ भन्ने साथीहरुलाई राम्रो सन्देश दियो ।
आफ्नै नेताहरु समक्ष पनि रामबाबुले आफ्नो आनीबानी र आफ्नोपन बनाइ राख्नु भयो । एकपल्ट गिरिजाबाबुले ‘म त्यहाँ बस्न आउँदैछु रामबाबु’ भनेर खबर पठाउनुभयो । रामबाबुले खबर अनुसार एकजना नेताको र थप दुई जनाको मात्र खाने बस्ने व्यवस्था मिलाई दिनुभयो । उहाँसँग आउने मानिस सबै अभर जस्तै परे । वरपर लागेर गुजारा गरे । उहाँले भन्नुभयो कि ‘गिरिजाबाबुले उहाँ आफूमात्र आउने खबर पठाउनु भएको थियो, मैले उहाँका लागि मात्र व्यवस्था मिलाएँ । यसमा मेरो के गल्ती छ ?’ कति साथीहरु– ‘हामी तपाईकोमा आउँदैछौं, भात त्यहीँ खाने कार्यक्रम छ । हामी यति जना छौं’– भनेर खबर पठाउँथे । खबर अनुसार त्यति जनाका लागि रामबाबुकोमा खाना तयार हुन्थ्यो र खानामा खाली पूर्व आदेश अनुसार भातमात्र हुने साथमा दालमात्र, तरकारी, अचार केही नहुने । तर, भनिएको भन्दा जहिले पनि दुईचार जना मानिस बढी नै हुन्थे । व्यवस्था चाहिँ त्यतिका लागि मात्र हुन्थ्यो– जति पहिले भनिएको छ । कुनै अनुनयबिनय केही नलाग्ने रामबाबुसँग ।
त्यस्तो नेताहरु जनआन्दोलन अगाडि गाडी माग्थे रामबाबुसँग । नेताहरु चाहन्थे– गाडी भनेपछि पेट्रोल, मोबिल आदि सम्पूर्ण व्यवस्था होस्, तर रामबाबु गाडी भनेपछि पेट्रोल नभएको गाडीमात्र दिने । नेताहरुका गोजी जहिले पनि टाट रहने । नेताको वरिपरि पनि सबै नेता मुख ताकेर मात्र हिँड्ने, अनि गाडी हिँडाउन नसकेर अलपत्र पर्ने । कोही चिनजानका स्थानीय मानिसहरुको सहयोगमा केही जुट्यो नत्र मुस्किल नै थियो हिजोका नेताहरुलाई । आजका नेताहरुलाई त अब रामबाबु चाहिँदै–चाहिँदैन र हिजोआज कसैको सम्पर्क पनि छैन रामबाबुसँग ।
सार्वजनिक जीवनमा यथासक्य सहयोग गर्नुभएको छ । एक करोडभन्दा बढी त राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारका लागि रकम नै छुट्याएर गुठी बनाउनुभएको छ उहाँले उहाँको पुरस्कार वितरण प्रणाली अरुको जस्तो होहल्ला मच्चाउने खालको छैन । को–कोलाई कहाँ–कहाँ दिनुहुन्छ, चुपचाप बाँड्नुहुन्छ । रेडियो, टीभी, पत्रपत्रिका आदिमा हल्ला गरेर हिँड्नुहुन्न । मैले सुनेसम्म अमेरिका र चाइनामात्र होइन थुप्रै विकसित मुलुकहरुलाई पनि सहयोग छुट्याउनु भएको छ र वर्षैपिच्छे वितरण गर्नुहुन्छ ।
रामबाबु कसैको सोर्स–फोर्सको सिफारिस गर्नुहुन्न भनिन्छ । उहाँको भनाई के छ भने सबैले आफैंले आफ्नो ल्याकतले उभिनुपर्छ, कसैको भरमा र सिफारिसमा अगाडि बढ्नुहुन्न । नेताहरुले नि आफ्ना सहयोगीको कार्य क्षमताको राम्रो पहिचान गरी उचित मानिसलाई उचित कार्यभार जिम्मा दिनुपर्छ । सामाजिक कार्यमा इमान्दारी, नैतिकता, र जागरुकताले ठूलो महत्व राख्छ । त्यसमा पनि राजनीतिमा त झन् महत्वपूर्ण छ । उहाँको भनाइमा राजनीतिमा एकपल्ट इमान्दारीको, नैतिकताको नाङ्गलोबाट फ्याँकिएपछि सजिलै र सदाका लागि राजनीतिक जीवन सकिन्छ । यिनै नैतिकता र इमान्दारिताको पातलो जालोभित्र सन्तुष्ट भएर बाँचिरहेको हुनुहन्छ रामबाबु ।
यिनै कुबराहरुमा नेताहरुसँग नमिलेर उहाँले नेपापी कांग्रेस केन्द्रीय कोषाध्यक्षबाट गिरिजाप्रसादसँग कुरा नमिलेर राजीनामा दिनुभयो । जब उहाँले गिरिजाप्रसाद कोइरालाले पार्टीका सर्वसम्मत नेता कृष्णप्रसाद भट्टराईलाई उपनिर्वाचनमा हराउन रेडियो वक्तव्य दिनुभयो । उहाँले कुनै सम्झौता, सम्पर्क गराउन रुचाउनुभएन । नेताहरुको कार्यशैलीमा उहाँको फरक मत हुँदै गयो । नेताहरु नीतिगतभन्दा मनोगतरुपमा काम गर्दै गए, उहाँले पछ्याउन छाड्नु भयो । धेरै मानिसहरु भन्ने गर्छन्– रामबाबु संसारमा नै सबैभन्दा भाग्यमानी मानिस हुनुहुन्छ । केमा, कसरी भाग्यमानी हुनुहुन्छ मलाई थाह छैन । तर, भन्नेहरु देखाएर भन्छन्– ‘उहाँको स्वास्थ्य अत्यन्त राम्रो छ । अहिले पनि हट्टाकट्टा हुनुहुन्छ । कुनै नवजवानभन्दा पनि बलियो हुनुहुन्छ । अहिलेसम्म कुनै अस्पताल या दवाई दोकान धाउनु परेको छैन । सम्पत्ति यति धेरै परिवन्द परेर चुलियो कि नेपालकै कुनै उद्योगपतिभन्दा उहाँ कम हुनुहुन्न । सन्तानको पनि उहाँलाई सन्तुष्टी छ । सम्मान र यश पनि उहाँहरुलाई पूर्णरुपमा मिलेको छ । वर्तमान राजनीतिले थोपरेको अपजश उहाँले भोग्नु परेको छ ।
७२ वर्षको उमेरमा उहाँले अर्को दाम्पत्य जीवन जोड्नुभयो । एकान्त जीवनबाट मुक्तिका लागि जोड्नु आवश्यक जस्तै भयो, त्यसैले पनि दाम्पत्य जीवनमा पुनः प्रवेश गर्नुभयो । विवाहपश्चात पुनः विवाह भएको भनेर आफ्नी श्रीमतीको नाम पुनवति राख्नुभयो अरे । तर, दाम्पत्य जीवनका लागि गरेको कबोल र राखेको शर्तहरु यति दूरगामी र आफ्नो निजी सफल पारिवारिक जीवनका लागि उपयोगी राख्नु भयो कि कुनै दिन यस विषयमा छुट्टै चर्चा मौका परे गरौंला । रामबाबुले निकै कविताहरु लेख्नु भएको छ । उहाँका कविताहरु भावावेश र कल्पनामा कुदेका हुँदैनन्, बरु यथार्थको धरातलमा उभिएका छन् । हात हेर्ने ज्योतिषी भएर रामबाबुले सुनाएको एउटा कविता मलाई फिका यादभन्दा पनि अन्दाज छ । हात हेर्ने ज्योतिष भएर उहाँ भन्नुहुन्छ–
तिम्रा हातमा ठेलाहरु भरपुर रहेछ
तिमी स्वावलम्वी रहेछौ, मेहनती रहेछौ
त्यसैले तिम्रो भविष्य अत्यन्त उज्ज्वल छ ।’
अर्को कोमल हात हेरेर उहाँ भविष्यवाणि गर्नुहुन्छ ।
तिमी परजीवी रहेछौ
आज सुख पाए पनि भोलि तिम्रो राम्रो छैन ।
कता–कता यस्तै जस्तो झ–झल्को लाग्छ रामबाबुको कविता । मैले एउटा साहित्यिक गोष्ठीमा सुनेको मात्र हुँ, पढेको होइन । त्यसैले फरक परेमा माफ पाऊँ ।
एउटा काममा लागेपछि अर्को काममा रामबाबु हेर्नुहुन्न । जुनसुकै काम पनि रामबाबु चरणबद्ध र नियमित कार्यक्रम बनाएर गर्नुहुन्छ । कतै काममा उहाँ हैसिनु पनि हुन्न र कुनै अप्ठ्यारोमा आत्तिनु पनि हुन्न । यहाँसम्म कि चुनावमा हिँड्दा पनि एउटा गाउँको मानिस हिजो कार्यक्रम बनाएर भेट्नु भएको छ भने र आज फेरि भेट्न आयो भने उहाँ भेट्नै दिनुहुँदैन । यहाँसम्म कि त्यही गाउँ भएर अर्को गाउँ जाँदा पनि लाम लागेका मानिसहरुलाई अभिवादन पनि फर्काउनुहुन्न । भन्नुहुन्छ– उहाँहरुको भेट्ने पालो हिजो, अस्ति नै सकियो । आफूसँगै गएको मानिस केही ढिलो भयो– रामबाबु घरसम्म जान गाडी दिनुप¥यो, बिहान फेरि समयमा नै साथ दिन आइपुग्छु भनेर अनुरोध ग¥यो भने– ‘गाडी हुँदैन, किनभने तपाई लापरवाही गर्नु हुँदोरहेछ । किन अघि समय हुँदै आफ्नो व्यवस्था गर्नु भएन ? मैले तपाईलाई केही काम लगाएको थिइन् ।’
कही साथीहरु दिनभरी चुनावमा हिँडेर थाकेपछि रामबाबुसँग चिया खान प्रस्ताव राखे । रामबाबुले स्वीकार गरेर साथीहरुलाई चिया खान थाले । चियासँगै साथीहरुले नास्ता पनि लिन थाले । पछि रामबाबुले नास्ताको पैसा तिर्न मञ्जुर गर्नुभएन । चुपचाप चियाको पैसा मात्र तिर्नुभयो र हिँडिदिनुभयो । उहाँको तर्क थियो– चिया भनेपछि चिया मात्र खानु पर्छ ।’ चिया खाने भन्ने अनि मस्तसँग नास्ता लिने ? यो कस्तो चलन ? मलाई मञ्जुर छैन । उहाँले साँच्चै पैसा तिर्नु भएन । जब कि उहाँ आफैं संसदको उम्मेद्वारमा हुनुहुन्थ्यो ।
एकपल्ट रामबाबुलाई सनातन धर्म सेवा समिति गठन गर्नका लागि झापा जिल्लाको तदर्थ समितिको अध्यक्षका लागि प्रस्ताव राखियो । रामबाबुले रहन मञ्जुर गर्दै प्रश्न गर्नुभयो–‘होइन मेरो आचरण र आहार–विहार तपाईलाई अनुकूल हुन्छ कि हुँदैन । म जातपातको भेदभाव राख्दिन र खाना केही पनि बार्दिन । यो संसारमा भएको जुनुसुकै जीवको मासु म खान्छु र कसैले मासु पकाएर दियो भने यो के को मासु भनेर सोध्ने मेरो चलन छैन । फेरि धर्म भनेको मेरो निमित्त आचरण हो, कसैले मेरो कारणले दुःख नपाओस् । त्यो मेरो धर्म हो, मेरो कर्म पनि त्यही हो ।’ प्रस्तावकहरु भागाभाग भए । भाग्नेमा खेमराज केशवशरणका साथ म पनि थिएँ । सायद धर्म गर्न या भगवानको दर्शन गर्न भनेर रामबाबु कहिल्यै मन्दिर जानु भएको छैन । तीर्थ नै गर्ने नाममा धामहरु जानु भएको छैन । ब्रत बस्न भएको पनि छैन । बरु एकपल्ट बिर्तामोडमा एउटा सार्वजनिक स्थल भनेर चार कठ्ठा जग्गा प्रदान गरिएको घोषणा गरिदिनुभयो र २०३६ सालमा त्यही ठाउँमा जननायक वीपी कोइरालाको हातबाट एउटा स्तम्भको शिलान्यास गराई दिनुभयो । बगलमा एउटा घर निर्माण र विश्वमा भएका सबै धर्मका मानिसहरु कृष्ण, बुद्ध, इशु, अल्लाह आदिको तस्वीर राखिदिनु भयो । अहिले सो स्थल बिना प्रयोजन त्यत्तिकै रहेको छ र उहाँको आफ्नै जिम्मा छ ।
कसैको कहिल्यै उग्र समर्थन पनि गर्नुहुन्न रामबाबु र कसैको उग्रविरोध पनि । सँधै अत्यन्त सन्तुलित रुपमा र सँधै एकनाशको स्वभावमा प्रस्तुत हुनुहुन्छ । कहिले आवेशमा उहाँ आउनुहुन्न र अपशब्दहरु मुखबाट कहिल्यै निस्केका पनि छैनन् । उहाँको मुखबाट कसैको प्रशंसा पनि छैन र चर्को गाली पनि । त्यस्तै अरुको आलोचना र प्रशंसाले उहाँलाई प्रभाव पार्दैन ।
आमाको काजकिरीयामा रामबाबु बस्नु भएको थियो, दश–बाह्र वर्ष पहिले १३ दिन बस्नु पर्ने र सम्पूर्ण सुविधा र खानपिन बार्नुपर्ने जो चलन छ त्यसैलाई छैटौं दिनमा नै छोडेर उहाँ निस्किुन भयो । कोराबाट बाहिर घरमा अत्यासमय वातावरण आयो । भरतबाबु जो शारीरिक अस्वस्थ हुनुहुन्थ्यो सकी–नसकी बारेर बसिरहनु भयो । सारा पण्डितहरु, प्रसाई बन्धुहरु, आगन्तुकहरु, अन्य मानिसहरुले रामबाबुप्रति आपत्ति प्रकट गरे । सम्झाए, आमाको काजकिरीया राम्रोसँग परेजमा बसेर गर्नुपर्छ भनेर भनियो तर रामबाबुले टेर्नु भएन । भन्नुभयो–पहिलो कुरा त यो चलनले के हुन्छ ? मलाई देखाई दिनुप¥यो । मेरो आमाले पाप गर्नु नै भएको छैन भने किन आमाको नाममा मैले धर्म गर्ने ? के मैले यहाँ पिण्ड लडाउँदा आमाले पाउनुहुन्छ ? कसले देखेको छ ? यस्ता अनेकौं प्रश्नहरु रामबाबु राखिदिनु हुन्थ्यो कि जबको जबाफ नै हुँदैनथ्यो ।
धेरै मानिसहरुको चाहना छ रामबाबुको इमान्दारीलाई ध्यानमा राखेर उहाँलाई राष्ट्रको एउटा जिम्मेवारी सुम्पनु पर्ने हो । विकासभन्दा पनि चरित्र निर्माणको काममा उहाँलाई लिनु पर्ने हो । कसैको दवावमा नपर्ने र आफ्नो ढिट पनि नछोड्ने र कुनै कुरामा नलोभिने रामबाबुको प्रयोग यहाँ किन पनि छैन भने यहाँ त तँलाई यो जिम्मेवारी दिन्छु मलाई कति दिन्छस् भनेर खुल्ला मोलतोल हुने देशमा रामबाबुको आवश्यकता कहिले पर्ने कुरा पनि भएन ।
यहाँ नेताहरुलाई पैसा दिएर सांसाद र मन्त्री हुन पाइन्छ । पुलिस र सेनाको हाकिम हुन पाइन्छ । भन्सार र करमा सरुवा हुन पाइन्छ । सीडीओ र डिएफओ हुन पाइन्छ । विहारी प्रमाणपत्रले स्कूल, कलेजमा माष्टर हुन पाइन्छ । सानो–सानो ठाउँमा खरदार, बैदार, मुखिया हुन पनि राम्रो ठाउँमा रहन पनि भेटी चढाउनु पर्छ । अर्थात् राजनीति सेवा होइन, व्यापार भइरहेको मुलुकमा रामबाबुको उपयोग नै के हुने हो र ?
अत्यन्त सक्रिय जीवन कोठामा नै बसेर भए पनि बिताइरहनु भएको छ रामबाबुले । कोठामा नै बसेर कसरी सक्रिय जीवन भयो भन्दा उहाँ भन्नुहुन्छ– ‘के सडकमा कुद्दा मात्रै सक्रिय हुन्छ ?, के अफिस कार्यालय, घर–घर धाउँदा मात्र सक्रिय हुइन्छ ?’ यस्ता प्रश्न गर्नुहुन्छ रामबाबु कि म उहाँसँग तर्क गर्नै सक्दिन । यस्ता सक्रिय मानिसको विषयमा मैले उहाँलाई थाहै नदिई लेख्ने प्रयन्त गरेँ कि मनमा कता–कता के को हो त्रास पनि लागिरहेको छ । धेरै कुरा अरुहरुबाट सुनेको भरमा लेखेको हुँ । थोरै जानेको भरमा । किनकि म रामबाबुको कहिले नजिक पनि भइन र टाढा पनि कहिले रहिन । तैपनि मरेपछि त सबै लेख्छन्, मैले जिउँदै हुँदा दुई–चार कुरा लेख्ने हिम्मत गरेको छु । धेरै नै महत्वपूर्ण कुराहरु निश्चय नै छुटेका छन् । नचाहिने समावेश भए होलान् । केही हल्ला र सुनेका भरमा लेखेको छु, किनकि रामबाबु प्रसाई एउटा सार्वजनिक व्यक्तित्व नै हो । सार्वजनिक भएपछि सबैको हक हुन्छ । यसैले जे पर्ला–पर्ला लेखिदिएको छु ।
सायद बेइमानहरु सर्वैसर्वा भएको मुलुकमा इमान्दार हुनु पनि अपराधी हुनु जस्तै नै हो । यस्तै एउटा अपराधी र एकाङ्की जीवन गुजारिरहेको हुनुहुन्छ रामबाबु, पगुबासामा यानिकी पशुपति, गुहेश्वरी क्षेत्रमा बनाएको नयाँ बासमा ।
(आफ्नै सेरोफेरो २०६१ बाट)