किसानको रोजाइमा थ्रेसर मेशिन

0
1479

लमजुङ,

परम्परागत खेतालाको भरमा धान भित्र्याउँदै आएका जिल्लाका किसानले पछिल्लो समय आधुनिक थ्रेसर मेशिनतर्फ आकर्षित हुन थालेपछि यस मेशिन रोजाइमा पर्न थालेको छ ।

काम गर्ने खेताला पाउनै मुश्किल र पाए पनि महँगो साथै समय पनि धेरै लाग्ने भएकाले थ्रेसर मेशिनले कम समय र लागतमै धान झाट्ने भएकाले जिल्लाका किसान सो मेशिनतर्फ आकर्षित हुँदा यस मेशिन रोजाइमा पर्न थालेको हो ।

केही समयअघिसम्म शहरका ठूला फाँटमा मात्रै प्रयोग हुँदै आए तापनि पछिल्लो समयमा गाउँघरका किसानसमेत सो मेसिन प्रयोग गर्न थालेका छन् । जिल्लामा यतिबेला धान पाकेकाले धान काट्ने र झाट्नेमा किसान ब्यस्त भएका छन् । अधिकांश किसान धान काट्ने काम सकेर दाइँ हाल्दैछन् त कति हाल्ने तरखरमा रहेका छन् । केही केही ठाउँमा किसानले परम्परागतरुपमा मान्छे र गोरुको सहायताले दाइँ हालिरहेका छन् ।

काम गर्ने मानिस र गोरु पनि पाउन मुस्किल हुन थालेपछि आधुनिक थ्रेसर मेशिन प्रयोग बढ्न थालेको छ । बेँसीशहर नगरपालिका–११ रामचोकबेंसीका किसान ईश्वरराज सेढाईं भन्नुहुन्छ, “थ्रेसर मेशिनले किसानलाई निकै सहज बनाएको छ । पहिला जसरी गोरु पाइन छाडे । कामदारको अभाव छ”, उहाँले भन्नुभयो । रामचोक फाँटका ८० प्रतिशत किसानले काम गर्न सहज भएकाले थ्रेसर मेशिन नै प्रयोग गरेको उहाँको भनाइ छ । चौबिस मुरी बराबरको धान र पराल एक घण्टामै मेशिनले छुट्याएर सकायो, खर्च पनि जम्मा दुई हजार ७५० मात्र लाग्यो । यही कामका लागि १०÷१२ जना खेतला आवश्यक पर्ने र ज्यालावापत झण्डै १० हजार खर्च हुने सेढाईंले बताउनुभयो ।

थ्रेसरको प्रयोगले काम पनि छिटो, खर्च पनि कम समयको बचत, खेताला खोज्नुपर्ने बाध्यता हट्न थालेको किसानको भनाइ छ । थ्रेसर मेशिनले काम गर्दा पैसा र समयको बचत हुने भएकाले किसान थे्रसर मेशिनतर्फ किसानहरु आकर्षित भएका हुन् । त्यस्तै मध्यनेपाल नगरपालिकाका अधिकांश किसानले पनि थे्रसर मेशिन प्रयोग गर्न थालेका छन् । प्रतघिण्टा थ्रेसर मेशिनले धान पराल छुट्याएको करिब तीन हजार रुपैयाँ लिँदै आएका छन् । जिल्लाको भोटेओडार, रामचोकबेँसी, सुन्दरबजार, फेदीकुना, राइनास, पाउँदी, भकुण्डेलगायतका फाँटमा थ्रेसर मेशिनबाटै किसानले धान पराल छुट्याउने गरेका छन् ।

त्यस्तै गत वर्षको तुलनामा जिल्लामा यस वर्ष धान उत्पादनमा समेत वृद्धि हुने कृषि ज्ञान केन्द्र कार्यालय लमजुङको अनुमान छ । कृषि ज्ञान केन्द्र कार्यालय कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार १४ हजार २४० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । उहाँले भन्नुभयो, “समयमै पानी पर्याप्त भएको, लकडाउनका कारण शहर गएका सबै घरमा रहेकाले बाँझो जमीनमा समेत धान खेती गरिएकाले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा समेत वृद्धि हुनेछ । केन्द्रका अनुसार यस वर्ष करिब १० हेक्टर क्षेत्रफल जमिनमा थप धान विस्तारसमेत भएको छ । गत वर्ष जिल्लामा १४ हजार २३० हेक्टर क्षेक्रफल जमीनमा लगाइएको धान खेतीबाट ४४ हजार १४५ मेट्रिकटन धान उत्पादन भएको थियो ।

यहाँका किसानले सुनौलो सुगन्ध, रामधान, जेठोबुढो, एक्ले सुख्या २, सावित्री, लोकतन्त्रलगायतका उन्नत जातको धानका बीउ लगाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कतिपयले लोकनाथ, गोरखनाथ, युएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर खेतीयोग्य जमीन रहे पनि १५ हजार हेक्टर क्षेत्रफलमा मात्रै धानखेती हुँदै आएको छ । यस वर्ष धान उत्पादनमा वृद्धि हुने देखेपछि जिल्लाका किसानहरु उत्साहित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here