३७ परिवारलाई जग्गासहित घर

0
1020

सुरेन्द्र भण्डारी

बिर्तामोड ।

बिर्तामोड–७ हर्चनाका कुमार हस्दाको भत्किसकेको घरलाई टेका लगाएर अड्याइएको छ । पूर्बपट्टिको फुसको टाँटी अड्याउन मात्रै दुईवटा बाँसकै टेका लगाइएको छ । भित्रबाट कालो प्लाष्टिक लगाएर परालले छाएको घरको छानो उदाङ्गो भएको छ । डड्याउँदा प्रयोग भएका बाँस र भाटाको बन्धन मक्किएर खुस्किसकेको छ । छानो छाउँदा प्रयोग भएका सबै भाटाको ज्यूइँनो खुस्किएर भाटा एकै ठाउँमा जम्मा भएका छन् ।

झट्ट हेर्दा लाग्छ बर्षाैदेखि त्यो घरमा कसैको बसोवास छैन । तर, त्यही घरमा हस्दाको चार जनाको परिवार अहिले पनि बसोबास गरिरहेको छ । सामान्य हावापानी आउँदा पनि ओत लाग्न सक्ने अवस्था नरहे पनि त्यही घरमा हस्दाको दैनिकी चलेको छ । आफ्नो एक चप्परी पनि जमिन नभएपछि उनी अरुकै जमिनमा शरण लिएर त्यही छाप्रोमा बसेका हुन् । उनी मात्र होइन उनको यसअघिको पुस्ताले पनि यसैगरी त्यस्तै छाप्रोमा बसेर दिन बिताएको स्थानीय युवराज गौतम बताउँछन् ।
आर्थिक अवस्था कमजोर भएका कुमारको शरीर पनि स्वस्थ छैन । ६० बर्ष टेकेका उनी भत्कनै लागेको घर हेर्दै सोमवार आँगनमा विहानीको घाम तापिरहेका थिए । पूर्वाञ्चलकर्मी उनको घरमा पुग्दा उनी भगवान पुकारी रहेका थिए । उनी भन्दै थिए– जे हुन्छ भगवान हजुरबाटै हुन्छ, हामी गरीवको दुःख हेरिदिनु प¥यो ।

भगवान पुकार्नु उनका लागि बाध्यता थियो । दैनिक ज्याला मजदुरी गरेर खाने हस्दाको परिवारलाई पनि कोरोना भाइरसले पिरोलेको छ । एकातिर आर्थिक अवस्था अत्यन्त कमजोर छ भने अर्काेतिर गरेर खाने एक चप्परी पनि जमिन छैन, त्यसमाथि अरुको जमिनमा शरण लिएर बस्नुको पीडा कस्ले बुझिदिने उनले पूर्वाञ्चलकर्मीसँग दुःखेसो पोख्दै भने– यतिका वर्ष दुःख गरियो तर कहिल्यौ खान पुगेन, अहिले चारैतिरका काम बन्द छन्, कसरी खाने ?

हस्दा जस्तै वसन्ती किस्कूको व्यथा पनि उस्तै छ । उनी पनि लड्नै लागेको घरमा बस्छिन् । वर्षात्को समयमा घर भत्किएपछि गौतमले नै १५ हजार रुपैयाँ दिएर तत्काललाई बस्न योग्य घर बनाइएको थियो । १५ हजार रुपैयाँमा बनाइएको घर कस्तो नै होला र गौतमले भने– भत्किएको किस्कूको घर मर्मतका लागि मैले नै १५ हजार रुपैयाँ दिएको थिए, त्यही पैसाले यो घर मर्मत गरेर उहाँहरु बस्नुभएको छ । दुई जनाको परिवार अहिले फुसको सानो छाप्रोमा जसोतसो बसे पनि पानी त परैकै कुरा शित पर्दासम्म ओत लाग्ने अवस्था छैन ।

बिर्तामोड ७ र ८मा बसोबास गर्ने केही सन्थाल र चौधरी समुदायमा यो समस्या रहेको छ । हर्चनामा मात्रै ३७ परिवारमा यस्तो समस्या देखिएपछि बिर्तामोड नगरपालिकाले उनीहरुका लागि अहिले घर निर्माण गरिएको छ । एकीकृत नमूना बस्ती बसाउने लक्ष्यसहित बिर्तामोड नगरपालिकाले अहिले ३७ घर निर्माण गरिरहेको हो ।
प्रदेशकै गौरव भिलेजका रुपमा हर्चना टुनटुनवारी नमूना आवास निर्माण उपभोक्ता समिति गठन गर्दै घर निर्माण थालिएको थियो । जहाँ हर्चना क्षेत्रमा बसोबास गर्ने अतिविपन्न परिवारलाई बसोबास गराइने बिर्तामोड नगरपालिका अध्यक्ष ध्रुवकुमार शिवाकोटीले बताए । बिर्तामोड नगरपालिकाको ७० लाख रुपैयाँ र ह्याविट्याट फर ह्युम्यानिटी नेपालको ८३ लाख रुपैयाँ गरी एक करोड ५३ लाख रुपैयाँको लागतमा विपन्न परिवारका लागि घर निर्माण भइरहेको छ ।
जसमा सहारा नेपाल, समाज कल्याण परिषद् र हिल्टी फाउण्डेशनले साझेदारी संस्थाका रुपमा सहयोग पु¥याइरहेका छन् । २०७६ साल फागुन २१ गतेदेखि निर्माण शुरु गरिएको घर २०७७ पुस १६ गते निर्माण सम्पन्न गर्दै हस्तान्तरणको तयारी थालिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताए । १ नम्वर प्रदेशकै नमूना आयोजनाको रुपमा हेरिएको यो भिलेजभित्र छुट्टा छुट्टै शौचालय र खानेपानीको व्यवस्थासहित चिल्डे«न पार्क, मिटिङ हल समेत निर्माण गरिने छ ।

नमूना वस्ती निर्माणका लागि धनजुजु श्रेष्ठ, राधादेवी श्रेष्ठ र कमला श्रेष्ठले एक विगाह तीन कठ्ठा जग्गा सहयोग गरेपछि आवास निर्माण शुरु गरिएको थियो निर्माण समितिका अध्यक्ष समेत रहेका गौतमले भने– आवास निर्माणसँगै ३७ परिवारलाई नै जग्गा धनीपूर्जासहित घर हस्तान्तरण गरिने भएको छ ।

एउटा घर निर्माणमा चार लाख खर्च हुने र हरेक घर निर्माणमा १० प्रतिशत श्रमदान हुनेछ । शुलभ मूल्यमा निर्माण भइरहेको आवासमा बाँसको धेरै प्रयोग गरिएको छ । बाँसबाटै निर्माण गरिने घरको भित्ता भने प्लस्टर गरिने छ । घर निर्माणमा प्रयोग गरिएका बाँसको उपचार गरिएको छ । उपचारका कारण घर सुरक्षित र टिकाउन हुने उनको भनाइ छ । भुइँ ढलान गर्दै घर उच्चा बनाएर आधा भागसम्म पिल्लर हालिएको छ भने बाँकी भागमा बाँसको प्रयोग गरिएको छ । उपचार गरिएको बाँस भएकाले ती वर्षसम्म केही नहुने अध्यक्ष गौतमले बताए । पहिला हामीलाई सामान्य लाग्थ्यो बाँस तर होइन रहेछ बाँसको काम धेरै हुँदोरहेछ । प्रयोग गर्न जानेको खण्डमा तीस वर्षसम्म बाँस केही नहुने भएपछि यो प्रविधि यहाँका विपन्न परिवारलाई पनि प्रविधि सिकाएर आफ्नो घर आफैं निर्माण गर्न प्रेरित गरिएको छ ।

समितिले दुईवटा घर यसअघि नै नमूनाका लागि निर्माणसम्पन्न गरेको छ भने बाँकी ३५ वटा घर निर्माणको काम धमाधम भइरहेको निर्माण समितिका अध्यक्ष गौतमले बताए । शुरुमा दुईवटा घर डेमोका लागि बनाइएको थियो, त्यसपछि निरन्तर वाँकी घर निर्माण भइरहेका छन् । यसअघि निर्माण गरिएको दुई वटा घर ह्रयाविट्याट फर ह्युमानिटीले निर्माण गरे पनि अरु घर निर्माणमा बिर्तामोड नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी र सहारा नेपालले संयुक्त लगानी गरेका छन् । बिर्तामोड नगरपालिका–७मा आवास निर्माण भए पनि बिर्तामोड–८ हर्चनाका विपन्न परिवारलाई निर्माणाधीन आवासमा राखिने गौतमको भनाइ छ ।

घर १२ ÷१०का दुई कोठाभित्र र वरन्डामा ६÷१० को एउटा कोठा रहन्छ त्यसलाई किचन मानिन्छ– अध्यक्ष गौतमले भने– सात धुरमा निर्माण गरिएको घर चिटिक्क र आकर्षक हुन्छ । सघै घरमा जस्ता हुन्छ, जस्ताको रंग रातो हुन्छ । फिलिपिन्सबाट नयाँ प्रविधि भित्र्याएर बनाइएको हिल्टी प्रोजेक्टका घर हुने भएकाले घर मजबुत हुने उनको दावी छ । फिलिपिन्सको प्रविधि अपनाएर बाँसै बाँसको यति सुन्दर घर निर्माण गर्ने यो हिल्टी प्रोजेक्ट प्रदेशको पहिलो त छ नै नेपालकै पहिलो र नमूना प्रोजेक्ट भएको गौतमले बताए ।

घर निर्माणका लागि सोही ठाउँका स्थानीयलाई प्राथमिकता दिइएको छ । आफ्नो घर आफैं निर्माणका लागि शुरुमा तालिम दिएर उनीहरुलाई एकै प्रकारका बनाउन सिकाइ मुख्य मिस्त्रीलाई दैनिक ८ सय रुपैयाँ ज्याला दिइएको छ भने अन्य सहायक कामदारका रुपमा घरका अरु सदस्यलाई दैनिक तीन सय रुपैयाँ ज्याला दिइएको अध्यक्ष गौतमले बताए । अब यहाँका घर पाउने सबै नागरिक आफ्नो घर बनाउन सिकेको सिप र दक्षताले अरुको घर बनाउन पनि योग्य भएका छन् उनले भने अन्त कतै यस्तै घर बनाउनु परेको खण्डमा मिस्त्री समेत तयार भएकाले उनीहरुलाई जीवन निर्वाहका लागि सहज हुने बिर्तामोड नगरले अपेक्षा समेत गरेको छ । आफ्नो घर आफैं बनाएकाले घर मजवुद हुने अध्यक्ष गौतमको दावी छ । आफ्नो घर निर्माण गर्दा गुणस्तरीय भएको र आफ्नो घर निर्माण गुणस्तरीय सामग्री प्रयोग गरिएकाले उनीहरुले घर मजवुद बनाएको गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here