१० औं राष्ट्रिय उसु च्याम्पियनशीप धरानमा

0
686

लक्ष्मी दर्नाल

web-tauko धरान,माघ ५ । नेपाल राष्ट्रिय उसु संघ नेपालको आयोजनामा माघ ११ गतेदेखि पाच दिनसम्म १० औ लुम्विनी राष्ट्रिय उसु च्याम्पियनशीप प्रतियोगिता–२०७० धरानमा हुने भएको छ । गत आईतवार पत्रकार सम्मेलन गर्दै १८ बर्ष पछि धरानमा उक्त प्रतियोगिता संचालन हुन लागेको आयोजक समितिले जनाएको हो । प्रतियोगितामा ४५ जिल्लाका ३ सय ५० खेलाडी सहभागी हुने आयोजक समितिका स्थानीय आयोजक सुनसरी जिल्ला उसु संघका अध्यक्ष रमेश राईले बताए । पव्लिक उच्चमाविको खेल मैदानमा निर्मित कोर्टमा सम्पन्न हुने प्रतियोगितामा ३३ खेलहरु हुने राईले बताए । प्रतियोगितामा थाउलु तर्फ छाङ छ्वान, ताव सु, ना छ्वाङ, थायची छ्वाङ, चियन सु, तुइलिवान, सान्सौ खेल राखिएका छन् । पुरुष तर्फ ४८, ५२, ५६, ६०, ६५, ७०, ८० र ८५ किलोग्राम सम्मका र महिला तर्फ ४८, ५२, ५६, ६०,६५ र ७० किलोग्राम सम्मले सहभागीता जनाउने मुख्य उसु प्रशिक्षक गोपाल श्रेष्ठले बताए । संघका अध्यक्ष राईका अनुसार प्रथम लुम्विनी राष्ट्रिय च्याम्पियनशिप अन्तर्गत दशौं राष्ट्रिय उसु च्याम्पियनशीप प्रतियोगिता–२०७० गरेका हों । उनले भने,–‘बुद्ध नेपालमा जन्मेको ठाउ लुम्विनी हो भनेर प्रचारप्रसारका लागि पनि प्रथम लुम्विनी राष्ट्रिय च्याम्पियनशिप लेखेका हौं ।’ उनले फेरि थपे,–‘जति खेलहरु हुन्छ, ती सबै केन्द्रिय तहमा मात्र संचालन गरिदै आईएको हुदा हामीले स्थानियस्तरमै यस खेललाई धरानमा गर्न लागेका हौं ।’ लगभग १८ लाखको बजेटमा सम्पन्न हुने प्रतियोगितामा राष्ट्रिय र अन्तराष्ट्रिय गरि ४५ जना निर्णायकहरु हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।