उपभोक्ताका घरघरमै दाउरा पुर्याउँदै सामुदायिक वन

0
805

कञ्चनपुर, 

वन पैदावारमा हानी नोक्सानी हुन नदिनका लागि कञ्चनपुरको झिलमिली सामुदायिक वनले उपभोक्ताको मागअनुरूप दाउरा घरघरमै पुर्याउने काम गर्दै आएको छ ।

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुर र कृष्णपुर नगरपालिका–२ बङ्कसम्म फैलिएको सामुदायिक वनले वन संरक्षणका लागि कार्यान्वयनमा ल्याएको नयाँ कार्ययोजनाअनुसार दुवै नगरपालिकाका उपभोक्ताको घरघरमै दाउरा पुर्याउँदै आएको हो ।

उपभोक्ता आफैँले वन क्षेत्रमा छिरेर दाउरा सङ्कलन गर्दा वन पैदावारसँग जीवजन्तुका बासस्थानमा असर पर्ने भएको हँुदा उपभोक्ताले माग गरेअनुरूपको दाउरा घरसम्मै ढुवानी गर्दै आएको सामुदायिक वनका अध्यक्ष अर्जुनबहादुर साउदले बताउनुभयो ।

“वन कार्ययोजनाअन्तर्गत वार्षिकरूपमा वन व्यवस्थापनका क्रममा झाडी सफाइ गर्ने, एक्ल्याउने, पत्ल्याउने र ढलापडा रुख सङ्कलन गरेवापत सङ्कलन हुने दाउरा उपभोक्तालाई उपलब्ध गराउँदै आएका छौँ”, उहाँले भन्नुभयो, “उपभोक्ताको आर्थिक हैसियतले भ्याउने गरी प्रतिडनलव दाउरा रु एक हजार ६१० मा उपभोक्ताको घरमै उपलब्ध हुँदै आएको छ ।”

अनावश्यकरूपमा वन प्रवेशमा रोक लगाइएपछि वन संरक्षण र वन्यजन्तुको बासस्थान जोगाउन मद्दत पुगेको उहाँले बताउनुभयो । दाउरा वनमै उपभोक्तालाई सङ्कलन गर्न दिँदा विगतमा चोरी सिकारी र काठ दाउरा तस्करी बढ्दो क्रममा रहेको थियो ।

त्यो कामसमेत पूर्णरूपमा रोकिएको छ । “पहिलाजस्तो काठ दाउरा ल्याउन परे वनमा जानै पर्दैन”, अध्यक्ष साउदले भन्नुभयो, “लोड–अनलोड, कटान र ढुवानी सबै वनले नै गरिदिन्छ ।”

उपभोक्ताको घरमै पुगेर दाउरा भए÷नभएको जानकारी लिनसमेत भ्याउने भएकाले सोहीअनुरूप वनमा दाउराको व्यवस्थासमेत मिलाउने गरिएको छ । वनले दाहसंस्कारका लागि उपभोक्तालाई निःशुल्क दाउरा उपलब्त्त गराउँदै आएको छ । दुई नगरपालिकामा फैलिएको वनमा चारवटा टोल छन् ।

साढे तीन सयभन्दा बढी उपभोक्ता रहेको वनले उपभोक्ताको मागअनुसार बेलाबेलामा भुइँघाँस रुखघाँससमेत उपलब्ध गराइरहेको छ । यसका लागि प्रतिभारी रु १० तोकेको छ । दुई सय हेक्टर क्षेत्रफलमा फैलिएको वनले गणेशपुर, ओखरफाँटा, नन्दीपुर र सन्धिफाँटाका उपभोक्तालाई संरक्षण र उपयोगमा सँगसँगै जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here