कुसंगतबाट जोगाऔं

0
976

किशोरावस्थामा अभिभावकको निगरानी नहुँदा उनीहरु कुलतमा फस्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले लागूऔषधको कारोबार तथा दुव्र्यसन रोक्न सञ्चालन गरेको अभियानका क्रममा यस्तो खुलेको जनाएको हो । इप्रका अनारमनीले अनुसन्धानको क्रममा अठारदेखि चालीस वर्षसम्मका युवा सर्वाधिक संख्यामा कुबाटोमा हिँड्दै गएको पाइएको जनाएको हो । परिवारका अभिभावकहरु मध्ये बुबा अथवा आमा र कतै दुबैजना वैदेशिक रोजगारीमा गएका र संरक्षणविहीन उनीहरुका सन्तान गलत संगतका कारण दुव्र्यसनको दलदलमा भासिँदै गएको यस क्षेत्रमा काम गर्ने संस्थाहरुको पनि निष्कर्ष छ । इप्रका अनारमनीको अनुसन्धान र प्राप्ति प्रतिनिधिमूलक निष्कर्ष नहुन सक्छ तर शहर तथा शहरउन्मुख क्षेत्रका किशोर तथा युवाहरुमा यस्तै अवस्था देखिएको छ । यसैले आमा–बाबुलाई उज्ज्वल भविष्य र सुखद् सपना पूरा गर्न विदेश जानै पर्छ भन्ने मानसिकता हटाउन मद्दत गर्नुपर्छ ।

भौतिक विकासको उपयोग गर्ने चाहना स्वभाविक हो । मानव जाति वस्तु तथा सेवाको पूर्ण उपभोग गर्न सधैँ लालायित रहन्छ । त्यसैले सर्वश्रेष्ठ भनिएको हो प्राणी जाति मध्ये । मानव जातिमा रहेको यो चाहनाले नयाँ वस्तुको खोज गर्न प्रेरित पनि गरेको छ । त्यसकै परिणाम हो कि अनेक खोज, आविष्कार र अनुसन्धान भएका छन् । यही इच्छाको उत्कर्षले होला मानव जाति विलाशी जीवन बिताउन चाहन्छ र विलाशीतापूर्ण वस्तुको उपभोगमा प्रतिस्पर्धा गर्छ । आदिमकालका मानव जातिले समयान्तरमा खोजी गर्दै सभ्यतालाई उचाइमा पु¥याएका पनि हुन् । उत्कर्ष अर्थात् चुलीमा पुगेपछि जाने ठाउँ टुंगिन्छ र यात्रा कि रोकिन्छ कि त पछि फर्किनु पर्छ । एक ठाउँमा स्थिर बस्न नसक्ने मानव फिर्ता हुन्छ, शायद यो पश्चगमन हो । मानव जातिले शैशवदेखि किशोर, युवा, प्रौढ हुँदै वृद्धावस्था पार गर्नुपर्छ । पहिलो ईश्वरका रुपमा र त्यसपछि प्रवेश गर्ने उमेर अपरिपक्व, अस्थीर रहने कारणले संरक्षणविहीन किशोर–किशोरी साथीभाइको संगत र पारिवारिक वातावरण प्रतिकूल हुँदा दुव्र्यसनमा फस्न पुग्छन् ।

दुव्र्यसनी बन्नुका पछि सम्पन्न पारिवारिक अवस्था, उचित रेखदेख, निगरानीको अभाव र एकल पारिवारिक ढाँचा पनि केही हदसम्म जिम्मेवार हुन सक्छ । सन्तानले कति खर्च गर्दैछ, उसका गतिविधिहरु के–कस्ता छन्, संगत को–को सँग छ र जीवनशैली कस्तो छ त्यसको सूक्ष्म निगरानी अभिभावकको हुनैपर्छ । अझ किशोरावस्थाका सन्तानलाई अभिभावकले प्रत्यक्ष निगरानीमा राख्नु पर्छ । हाम्रो संयुक्त परिवारको ढाँचा एकल बन्दै गएको छ, एउटा वा दुईवटा मात्र सन्तान हुन थालेका छन् जसले न बालबालिकाले नैतिक शिक्षा प्राप्त गर्न पाउँछन् न त शारीरिक श्रम नै गर्नुपर्छ । यस्तो बेला आमा–बाबु नै आयआर्जनका लागि वैदेशिक रोगजारीमा जाने प्रवृत्ति बढ्दै गएपछि परिवार मात्र होइन देशकै भविष्य अनिश्चित हुनु स्वभाविक नै हो । यही भएको हुनसक्छ अहिले दुव्र्यसन रोक्न प्रहरीले सञ्चालन गरेको अभियानमा किशोर तथा युवाहरु बढी प्रक्राउ पर्न थालेका छन् । यो संख्या दिनहुँ बढ्दै गएको छ, लागूऔषधको अवैध आयात पनि अनियन्त्रित हुँदै जाँदैछ ।
नेपाल–भारतको खुल्ला सीमानाले यस्ता अवैध वस्तुको आयात–निर्यात चाहेर पनि नियन्त्रण गर्न सक्दैन । दिनहुँजसो लागूऔषध बरामद गरिन्छ, व्यक्ति प्रक्राउ पर्छन्, छुट्छन् र फेरि पक्राउ पर्छन् । यस्तो अवस्थाले हाम्रा जनशक्ति कमजोर हुने, स्वास्थ्य लगायत पारिवारिक प्रेम, सद्भाव, सहिष्णुता र सहयोगी भावना हराउने निश्चित छ । त्यसैले आमा बाबुले ‘धन, ऐश्वर्य र विलाशी जीवनको साटोमा स्वस्थ, संस्कारयुक्त, सभ्य, चरित्रवान सन्तानको चाहना राख्नु पर्दछ । यसका लागि आमाबाबुको भूमिका महत्वपूर्ण हुनुपर्दछ । सन्तानको असीमित आवश्यकता पूरा गर्नुको साटो उनीहरुलाई सृजनात्मक बनाउन प्रयत्न गर्नुपर्छ । आजका बालबालिकाहरु नै देशका भोलि हुन् भन्ने सत्यलाई आत्मसात गर्दै राज्य र उसका अङ्गहरुको प्राथमिकता पनि त्यसमै केन्द्रीत हुनुपर्दछ । त्यसो नभए हामी लागूऔषधको कारोबारीमा सीमित हुन पुग्नेछौं । परिणाममा हामी सबैको भविष्य निष्पट्ट अँध्यारो हुने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here