पकड बलियो देखाउन नेकपाको गुटगत भेला तीब्र (श्रब्यदृष्य सहित )

0
1494

सुरेन्द्र भण्डारी

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको अन्तर संघर्षले झापाको राजनीति थप तरङ्गित बनेको छ ।

विभिन्न जिल्लामा ओली र नेपाल–दाहाल समूहले पार्टी कार्यालय नै कब्जा गर्न थालेपछि झापाको नेकपाभित्रको राजनीति थप तरङ्गित बनेको हो । नेकपाभित्र देखिएको अन्तरसंर्घषले पार्टी कार्यालयमा तोडफोड हुन सक्ने भन्दै सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । ओली, नेपाल–दाहाल समूहले भित्री रुपमा कार्यकर्ता भेला तथा आफ्नो समूहलाई बलियो देखाउने काममा तीव्रता दिएका छन् ।

हालसम्म नेपाल कम्युनिष्ट पार्टीको कार्यालय के गर्ने भन्ने विषयमा छलफल समेत नगरेका जिल्ला नेताले पार्टी कार्यालय अदालतको निर्णयपछि यकिन गर्ने बताउँदै आएका छन् ।

नेकपा झापाका सचिव बिजय साम्पाङ राई

नेकपा झापाका सचिव बिजय साम्पाङ राईले नेकपाका जिल्लास्तरीय नेताबीच असमझदारी र मनमुटाव नभएको बताएका छन् । उनले पार्टी कार्यालय कसको हो भन्ने विषयमा अहिले नै छलफल नगरिएकाले समझदारीमा केही समयका लागि पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिने बताए । झापामा एक समूहले अर्काे समूहलाई दोषारोपण गर्दै पार्टी कार्यालयलाई कब्जा नगरौ भन्ने पक्षमा पुगेको र कानूनले जे फैसला गर्छ त्यसैलाई मानौं भन्ने मनस्थितिमा रहेको सचिव राईले बताएका छन् । तथापि नेकपाको पार्टी कार्यालयलाई भने २४सै घण्टा सुरक्षा प्रदान गरेर राखिएको छ ।

पार्टी फुटेको भोलिपल्ट हामी एउटै स्टेजमा हुन्छौं– राईले भने– भोलि हामीसँगै हुँदा हाँसेर हात मिलाउने बतावरण सृजना होस् । पार्टीको सुरक्षाका लागि आवश्यक सुरक्षा सजगता अपनाएको बताउँदै राईले भने– हाम्रोतर्फबाट कार्यालयको सुरक्षाका लागि हामीले सजगता अपनाएका हौं, उहाँहरुको तर्फबाट पनि अपनाउनु हुनेछ ।

अदालतको फैसलापछि पनि आपसी समझदारीमा पार्टी कार्यालय वाँडफाँड गर्न सकिने बताउँदै नेता राईले भने– कब्जा गरागर गर्दा त जसको शक्ति उसको भक्ति भन्ने हुन्छ, त्यसले राम्रो गर्दैन । तसर्थ भोलि जनधनको क्षतिबाट जोगाउन हामीले सचेतता अपनाएका छौं । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध उनकै गृहजिल्ला झापाको बिर्तामोडमा बिरोध जुलुस प्रदर्शन गरेपछि पार्टी कार्यालयमा समेत कब्जामा लिने स्थिति बनेपछि थप सुरक्षा सतर्कता अपनाइएको हो । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच केन्द्रमा पार्टी एकता भए पनि झापामा एकता नटुङ्गिएका कारण एकीकृत ढंगले पार्टी सञ्चालन गर्न नसकिएको अवस्थामा प्रधानमन्त्री ओलीको पछिल्लो कदमले थप समस्या निम्त्याएको बताउँछन्– नेकपाका अर्का नेता शिब ढुंगेल ।

नेकपा झापाका कार्यालय सचिव  शिब ढुंगेल 

नेकपा झापाका कार्यालय सचिव समेत रहेका ढुङ्गेलले प्रधानमन्त्री ओलीले झापामा लामो समयसम्म गुटगत राजनीति गरेको र उनको प्रभाव बढी नै हुने गरेको बताएका छन् । झापाका १५ स्थानीय तहमध्ये प्रमुख र उपप्रमुख गरी १९ वटा पद नेकपाले नेतृत्व गरिरहेको छ । पार्टी एकीकृत हुँदा ३२ हजार पार्टी सदस्यता रहेको नेकपा भित्र २४ हजार पूर्व नेकपा एमाले र ८ हजार पूर्व एकीकृत नेकपा माओवादीका सदस्य रहेका छन् । ढुङ्गेलका अनुसार पार्टी जिल्ला कमिटीमा पनि १७७ सदस्य छन् । त्यसमा ७१ जना पूर्व माओवादीबाट सदस्य छन् भने वाँकी १०६ जनाले नेकपाको जिल्ला कमिटीमा प्रतिनिधित्व गरिरहेका छन् । तर, फुटको अवस्था आएपछि को कति भन्न सक्ने अवस्था छैन– ढुङ्गेलले भने ।

जिल्लादेखि वडा कमिटीसम्म ६०–४०को अवस्थामा पार्टी सञ्चालन भएपनि स्थानीय तहसम्म नै पार्टी एकीकृत हुन नसक्नुले समस्या थियो नै अब झन् बिकराल समस्या निम्तिएको छ– ढुङ्गेलले भने । स्थानीय तहहरु अन्यौलमा छन्– उनले भने– हिजो माओवादीबाट आए पनि वा नेकपाकै भए पनि स्थानीय तहमा नेकपाका कार्यकर्ताहरु अहिले चिन्तित छन् । पार्टी केन्द्रबाट भएको हठातको निर्णयले पार्टी पंक्तिमा चिन्ता थपिएको छ । यसले दुर्घटना निम्तिनसक्छ– ढुङ्गेलले भने । नेताहरुले नेकपालाई विचारविहीन पार्टी बनाउने हर्कत गरेको भन्दै ढुङ्गेलले खेद समेत व्यक्त गरेका छन् । कार्यकर्ताले विचारको महाधिवेशन गरेर अहिले भएका कमी कमजोरीहरुलाई सुधारेर लाने हो भने नेकपाभित्र देखिएको समस्या समाधान हुने उनको बुझाइ छ । केन्द्रपछि प्रदेश १मा समेत नेकपाभित्रै फुटको अवस्था सृजना हुँदै मुख्यमन्त्री शेरधन राईबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुले पनि प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापाको राजनीति थप तरंगित भएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here