अशिष्टताले लक्ष्यमा पु¥याउँदैन

0
750

राजनीति सेवा नभएर व्यापार हुन थालेको छ अहिले । त्यहीकारण हुन सक्छ राजनीतिकर्मीहरु समाज वा राष्ट्रसेवालाई गौण ठान्दै व्यक्तिलाभका पछि दौडेका हुन् । राजनीतिले समाज रुपान्तरण गरी व्यक्तिसँगै राष्ट्रको समृद्धिमा टेवा पु¥याउनु पर्ने हो । तर, आज पद्धतिको नाम फेरिए पनि, पात्र परिवर्तन भए पनि व्यक्ति केन्द्रित मानसिकताले राजनीति फोहोरी खेलका रुपमा पुष्टि भइरहेको छ । अझ गणतन्त्रात्मक पद्धतिमा रुपान्तरण हुँदा पनि त्यही प्रवृत्ति, त्यही मानसिकता मात्र होइन निरंकुशता, स्वेच्छाचारिता र जालझेलपूर्ण नेतृत्व प्रभावशाली भइरहनु नेपालकै लागि दुर्भाग्यपूर्ण अवस्था हो । विधिको शासन, जनमतको सम्मान र कानूनी राज्य जस्ता लोकप्रिय बोलीमा अल्मल्याएर राजनीति गर्नेेले सत्तामा बस्ने, सत्ता नजिक रहने, पद प्राप्त गर्ने र पैसा कमाउने अभीष्ट बनाउँदा नेपालीको समृद्धिको आशा र अपेक्षा धुमिल बनिएको छ ।

हामीले नयाँ राजनीतिक गन्तव्यको यात्रा रोज्यौं । यद्यपि त्यो जनताद्वारा इच्छित, अपेक्षित र लक्षित गन्तव्य थिएन । जनतालाई मालिक बनाउँछौ भन्दै नवीनताको पछि दौडाउने राजनीतिकर्मीहरुको संकीर्णताको भेउ पाउन नसक्दा राजनीतिकै नाममा जनता फेरि ठगिएका छन् । दुई–तिहाईको निर्भेद्य शक्ति प्राप्त नेकपा नेतृत्वको सरकार संस्कारविहीन र संकुचित स्वार्थका कारण दुर्घटनामा परेको छ । आफ्नै दलभित्रको असन्तुष्टि र फरक विचारलाई व्यवस्थापन र समन्वय गर्न नसक्दा उत्पन्न परिवेश असहज मात्र होइन, कुनै अनिश्चित भविष्यको गर्तमा खस्दैछ । एउटै भाँडा, एउटै भान्सा र एउटै सिरानी लगाएका पात्रहरु यसबेला आफ्नो सम्पूर्ण श्रम र शक्ति होच्याउन, गालीगलोज गर्न र आफूलाई मात्र ठीक प्रमाणित गर्न लागेका छन् । नेकपाभित्रै ओली र दाहाल नेपाल समूहका रुपमा परिचय बनाउन थालेका नेतृत्वहरुको यस्तो शिष्टताहीन व्यवहार र बोली क्रमशः तल सर्न थालेको छ ।

नेकपाका दुई समूहका नेताहरुले हिजोको सहयात्रा, सहकार्य र सहअस्तित्वलाई बिर्सिएर तुच्छ शब्द बोलेर आफ्नो उचाइ आफैं घटाएका छन् । उनीहरुका बोली, व्यवहार र क्रियाकलापलाई जनताले मुकदर्शक र स्रोता बनेर हेरेका छन्, सुनिरहेका छन् । हिंसाबाटै अवतरण भएको राजनीतिक दलले त्यसलाई नै सत्तारोहणको औजार बनाएको सत्य हो । समय सन्दर्भले त्यसको जिम्मेवारी उनै नेतृत्वले लिनु पर्छ । तर, यतिबेला सत्ता स्वार्थको दुष्चक्रमा संसद विघटन गरिएपछिको परिस्थितिले एउटै छातामुनिका नेताहरु छातामाथि दाबी गर्न, आफूलाई मात्र सत्य प्रमाणित गर्न जुन मर्यादाहीन कर्म गरिरहेका छन् त्यसले देश र जनताको भलो गर्दैन । ओली, दाहाल र नेपाल समूहमा रुपान्तरित नेकपाभित्रको चलखेल कार्यकर्तालाई ललीपप देखाउनुलाई बहादुरी ठान्दैछन् । अझ ‘डाडुपुन्यू’ हातमा हुने समूहमा जाने लहर पनि देखिन थालेको छ । सांसद भएकाहरु नै पद र पैसाको प्रलोभनमा समूह बदल्दै हिँड्ने अवस्थामा आम जनताबाट के अपेक्षा गर्न पाइन्छ र ? नेतृत्व वर्गले शिष्टता, मर्यादा, अनुशासन र इमान्दारिता देखाएनन् भने देश अनिश्चयको सुरुङ्गमा निरुद्देश्यको यात्रा हिँड्न बाध्य हुनेछ । त्यसको नैतिक तथा व्यावहारिक दोष राजनीतिकर्मीहरुकै हुनेछ, हेक्का राखियोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here