कांग्रेस पनि उही ड्याङ्गको मूला

0
580

लोकतन्त्रमा दलहरु कमजोर भए भने लोकतन्त्र कमजोर हुन्छ । प्रतिक्रियावादीहरु हाबी हुन्छन् । लोकतान्त्रिक दलहरु भित्रै पनि सुषुप्त अवस्थामा प्रतिक्रियावादी चरित्रका पात्रहरु रहेका हुन्छन् । जब दलका नेताहरुबीच सिद्धान्त र विचारभन्दा स्वार्थ बाझिन्छ त्यसबेला मौका पर्खेर बसेका दलभित्र कै प्रतिक्रिवादी चरित्रका नेताहरु अघि आउँछन् र उनीहरु लोकतन्त्र मास्न उद्यत हुन्छन् । सके उनीहरुले लोकतन्त्रलाई मासेर छोड्छन् नसके कमजोर अवश्य बनाउँछन् । अहिलेको अवस्था ठ्याक्कै त्यही अवस्था आइरहेको पंक्तिकारले महशुस गरेको छ ।

अहिले प्रतिक्रियावादीहरुलाई लोकतन्त्र मासेर निरंकुश शासन गर्ने अलि प्रभावशाली पात्रको खोजी भइरहेको छ । त्यो पात्र अहिलेको अवस्था हेर्दा उनीहरु ( प्रतिक्रियावादीहरु)ले देउवा र ओली दुबैलाई बनाउन खोजी रहेका छन् । दुबैलाई प्रयोग गर्न सकिए उनीहरुको मकसद राम्रैसँग पूरा हुन्छ । दुबै नभए एउटामात्र भए पनि उनीहरुले अहिलेलाई चित्त बुझाउने छन् । त्यो पात्र उनीहरुले ओलीलाई बनाइरहेका छन् ।

इतिहासमा कहिले दलका मुख्य पात्रलाई नै प्रयोग गरेको पाइएको छ नभए दोश्रो वा तेश्रो पात्रको साथ लिएर नयाँ प्रतिक्रियावादी पात्र खोजेको पनि पाइएको छ । जस्तो २०१७ सालको प्रतिक्रान्तिमा दुई तिहाइकै सरकार ढालेर राजा महेन्द्रले निरंकुशता लादे । प्रतिक्रियावादीको नेतृत्व स्वयम् राजा महेन्द्रले गरेका थिए । उनलाई सहयोग गर्नेमा कांग्रेसकै दोश्रो तहका नेताहरु सूर्यबहादुर थापा, तुलसी गिरी र विश्वबन्धु थापालाई प्रयोग गरिएको थियो भने लोकतन्त्र मास्ने काममा महेन्द्रलाई सहयोग गर्नेमा अन्य धेरै कांग्रेसकै नेता संलग्न थिए गाउँ, टोलमा ।
त्यसैगरी कम्युनिष्ट पार्टीभित्र रायमाझी मार्काका नेता जो त्यसबेला पार्टीका मुख्य पात्र महासचिव नै थिए । उनले राजा महेन्द्रको कदमलाई सहयोग गरेका थिए । यसले लोकतन्त्र फलाउन फुलाउन लागेका दुई ठूला पार्टी कमजोर भए । लोकतन्त्र ३० बर्षसम्म राजाको खोपीमा कैद भयो । जब २०४६ सालको आन्दोलन भयो तब तत्कालीन राजा वीरेन्द्रले खोपीको प्रजातन्त्र जनतालाई दिए । जनता रैतीबाट प्रजा भए । त्यसैलाई फेरि राजा ज्ञानेन्द्रले देउवालाई प्रयोग गरेर खोपीमा लगेर राखे । ज्ञानेन्द्रले खोपीमा राखेको प्रजातन्त्र उनको अवसानसँगै लोकतन्त्र भएर नेपाली धर्तीमा अवतरण भयो । त्यसले गणतन्त्र ल्यायो । धेरै काम ग¥यो । जनता प्रजाबाट जनता भए ।

अहिले फेरि प्रतिक्रियावादीहरुले जनतालाई प्रजा बनाउने कोशिस गरिरहेकै छन्– पुनः राजा आउ देश बचाउ भनेर । अर्कातिर त्यसको कास्टिङ ओलीजीलाई असंवैधानिक कदम चाल्न लाएर गर्न लगाएका छन् । ओलीलाई ठूलो विश्वास दिलाइएको छ कि उनीभन्दा अरुले देश विकास गर्नै सक्तैनन् भनेर । त्यही भ्रममा बाँचेका ओली कतै प्रतिक्रियावादीहरुको गोटी त बनिरहेका छैनन् । पंक्तिकारलाई आशंका छ– ओली उनीहरुले दिएको भ्रममा बाँचिरहेका छन् । यही भ्रमले लोकतन्त्रलाई कमजोर बनाउँदैछ । गणतन्त्र अफाप भयो भनेर प्रचार गर्न थालिएको छ । संघीयता कामै नलाग्ने बनाउने काम भइरहेको छ । लोकतन्त्रलाई कमजोर बनाउने मुख्य कडी जनताले संविधान सभाबाट बनाएको संविधान माथि नै धावा बोल्नु हो । त्यो काम प्रारम्भ भएको छ पुस ५ गते ।

अहिलेको संविधानमा कतै पनि बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन । तर, प्रधानमन्त्रीले जबर्जस्ती विघटन गरेर संविधानको मर्मप्रति प्रहार गरे । संसदीय शासन व्यवस्थामा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार हुन्छ । तर, हाम्रो शासन व्यवस्था पूर्णरुपमा संसदीय मूल्य–मान्यता र परम्परामा मात्र आधारित छैन । यो समावेशी पनि छ । त्यसैले हाम्रो २०७२ सालमा लागू भएको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नदिएको हो । त्यसैले संविधानले नदिएको अधिकारको प्रयोग बहुमत प्राप्त प्रधानमन्त्रीले गरेकोले यसबाट संविधानको जग हल्लियो । अब संविधानको जग बलियो बनाउने बेलामा कांग्रेसका देउवा एण्ड कम्पनीलाई उचालेर, भ्रममा राखेर असंवैधानिक कदमकै समर्थन गरेर चुनावमा जान दबाब सिर्जना गरिँदछ । उसलाई भनिँदैछ कि अहिले चुनावमा गयो भने कांग्रेसले ताल परे दुई तिहाई ल्याउँछ । नभए बहुमत ल्याउँछ । अनि उसले सत्ता हातमा लिन पाउँछ ।

तर, असंवैधानिक कदमको समर्थन गरेर चुनावमा गएको कांग्रेसले कति समय शासन गर्ला ? अहिले कांग्रेस (देउवा) लाई उचाल्नेहरु भोलि देउवाविरुद्ध अर्को मोर्चा बनाएर लोकतन्त्र मास्न उद्यत हुँदैनन् भन्ने छैन । खोइ त ओलीले दुई तिहाई नजिक पुगेर ५ बर्ष शासन गरेको ? उनले त सकेनन् भने भोलि बहुमत ल्याएका कांग्रेसीहरुले ५ बर्ष शासन गर्ने ग्यारेन्टी कहाँ छ । पहिला पनि कांग्रेसले बहुमत हुँदा पनि कहाँ ५ बर्ष शासन ग¥यो ?

अहिले जसरी नेकपालाई स्पष्ट दुई गुटमा विभाजित गराएर भण्डाफोर गर्ने काम तीव्रगतिमा भइरहेको छ, त्यही गतिमा भण्डाफोरमा लान कांग्रेसीहरुलाई पौडेल र देउवा गुटमा विभाजित गरिँदैछ निकै पहिलेदेखि कै अभ्यास हो । अहिले अलग्गै दल जस्तै बनाउन थालिएको छ । पौडेल समूह असंवैधानिक कदमविरुद्ध सडकमा जाने पक्षमा प्रष्ट देखिँदा देउवा ओलीको कदम असंवैधानिक भन्दाभन्दै पनि चुनावको पक्षमा देखिएका छन् । देउवा सर्वोच्चले चुनावको पक्षमा फैसला गरोस् भन्ने पक्षमा देखिएका छन् । प्रमुख प्रतिपक्षी दल असंवैधानिक कदम भन्दाभन्दै पनि त्यसलाई समर्थन गरेर चुनावमा जाने तर्खरमा रहनु भनेको लोकतन्त्रको अन्तिम हार हो । जसले जे गरे पनि जनताको मत लिनु प्रजातन्त्र हो भन्नु जस्तो अलोकतान्त्रिक कदम अर्को हुँदैन । हिजो पञ्चायतलाई पनि पञ्चायती प्रजातन्त्र भनिन्थ्यो । त्यसबेला पनि जनताले भोट हालेर आफ्ना प्रतिनिधि छान्थे, छानेकै हुन् । तर, त्यसलाई प्रजातन्त्र नमान्ने अहिलेकै ओली र देउवा पनि हुन् ।

त्यसैले जनताले मत हाल्न पाए भन्दैमा लोकतन्त्र हुँदैन । त्यो प्रक्रियामा लोकतान्त्रिक पद्धति पनि हुनुपर्छ । अहिले ओलीले गराउन खोजेको निर्वाचन अलोकतान्त्रिक कदमका माध्यमबाट भएकोले लोकतान्त्रिक होइन । त्यसको समर्थन गर्नु भनेको देउवा पक्षको गलत काम हो । ओलीको कदमका कारण कांग्रेस विभाजित हुनु भनेको नेकपा विभाजन भए जस्तै हो । त्यसैले अहिलेको अवस्थामा कांग्रेसलाई पनि पंक्तिकारले कांग्रेस पनि उही ड्याङ्गको मूला त होइन भन्ने आशंका गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here