सामुहिकताको खाँचो: महामारी रोकथाम र नियन्त्रणमा लाग्न ढिला भइसक्यो

१९ बैशाख २०७८, आईतवार मा प्रकाशित

आज राति १२ बजेदेखि झापामा पनि निषेधाज्ञा जारी भएको छ । कोरोनाको बढ्दो संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय झापाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा नै कोरोना सङ्कटको सम्पूर्ण समाधान होइन तर, उत्तम विकल्प चाहिँ हो ।
व्यक्तिबाट व्यक्तिमा भाइरस सर्ने भएकाले व्यक्तिको आवागमनलाई नियन्त्रण गर्दा सङ्क्रमण बिस्तारको चेनलाई विच्छेद गर्न सहयोग पुग्छ। तर यस्तो निषेधाज्ञामा ‘किन्तु–परन्तु’ को गुञ्जाइस हुनु हुँदैन । मानिस आफूलाई नपरूञ्जेल नचेत्ने जातिमा पर्छ । त्यही भएर कुनै बहाना बनाएर हाट बजार जान, भीडभाडमा रमाउन छोड्दैन। आफू भित्रको चेतनाको ढोका नखुलुञ्जेल कुनै आदेश, सुझाव वा मापदण्ड खासगरी हाम्रालागि अनुकरणीय बन्दैनन् । बिगत एक वर्षदेखिको कोरोना सङ्क्रमणले थिलथिलो भएको सामाजिक तथा आर्थिक जीवनलाई निष्प्राण हुन दिनु पनि भएन ।

अत्यावश्यकीय सेवा यसकारण पनि सञ्चालन भइरहनु पर्छ। त्यही कारण व्यक्तिले प्राप्त गर्नु पर्ने सेवा प्रवाह गर्न निषेधाज्ञाकाबीच पनि छुट दिइन्छ। तर यस्तो छुटका नाममा ‘डुँडुलो निल्ने’ प्रवृत्तिलाई भने नियन्त्रण गर्नै पर्छ । झापा प्रशासनले जारी गरेको निषेधको आज्ञामा घरबाट बाहिर ननिस्कन भनिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, भीडभाड हुने कुनै कार्य नगर्न, नजान र ६० वर्षमाथिका व्यक्तिलाई कुनै पनि कामका लागि घरबाट बाहिर नजान उल्लेख छ। त्यस्तै देशको जीवन सञ्चार गर्ने वित्तीय संस्थाहरूलाई मापदण्ड पालना गर्न र भीड हुने भेला, गोष्ठी, तालिम, मनोरञ्जन, सौन्दर्य प्रशाधन र खेलकुदका गतिवधि सञ्चालन गर्न पनि निषेध गरिएको छ। सरकारको प्रतिनिधिको रूपमा रहने प्रशासन कार्यालयकातर्फबाट जारी आदेशमा अत्यावश्यकीय खाद्यवस्तु बिक्री गर्ने पसलहरूलाई पनि निर्दिष्ट समयसम्म मात्र सेवा प्रवाह गर्न भनिएको छ। यस अनुसार औषधिबाहेकका सेवा ६ बजेदेखि बिहान ११ बजेसम्म मात्र खोल्न पाउने छन् ।

हाम्रा सामाजिक एवम् संस्कारगत कार्यहरू पनि मापदण्ड अनुसार नै गर्न निषेधाज्ञामा भनिएको छ। महामारीले आक्रान्त बनाएको यो संकटलाई सामूहिक प्रयासले मात्र अन्त्य गर्न सकिन्छ । यसका लागि अभिभावक रहेको सरकारको भूमिका मुख्य हुन्छ। गत वर्षदेखि नै प्रतिपक्ष दलहरूले सामुहिक र सङ्गठित प्रयास गर्न गरेको आग्रहलाई वेवास्ता गरेर सरकारले ठूलो गल्ती गरिसकेको छ।

विज्ञ सम्मिलित उच्चस्तरीय समिति गठन गरेर उसकै सुझाव अनुसार महामारी रोकथाम र नियन्त्रणमा लाग्न ढिला भइसकेको छ । संकटको प्रारम्भमै आर्थिक विवादमा मुछिएको सरकार आजसम्म विवादित नै छ। स्वास्थ्यकर्मीले जोखिम वापतको भत्ता नपाएको गुनासो त्यत्तिकै छ। यस्तो बेला अग्रपंक्तिमा रहेर काम गर्नु पर्ने सुरक्षाकर्मी, सवारी चालक र स्वास्थ्यकर्मी र चिकित्सकहरूलाई झन् बढी सुरक्षाको अनुभूति दिलाउन पर्नेछ ।
योसँगै सरकारले आवागमन नियन्त्रण गर्दै होल्डिङ सेन्टर, क्वारेन्टिन, शय्या, अक्सिजन, औषधि र उपकरणको भरपर्दो व्यवस्था मिलाउनुपर्छ । अनि मात्र निषेधाज्ञाको प्रभावकारिता सिद्ध गर्न सकिनेछ। याद रहोस् यो लडाइँ एक्लै लडेर जितिन्न ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here