निजीको कमाउ धन्दा

0
1153


विश्वलाई आतङ्कित पारेको कोभिड १९ लाई स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले कमाउने अवसर बनाएका छन् । राजधानीका केही भुक्तभोगीहरूले कोभिड त्रासकाबीच निजी अस्पतालले उपचारको नाममा लुट्न थालेको गुनासो सार्वजनिक गरेपछि यस्तो अबस्था बाहिर आएको हो ।

सङ्क्रमण बढेसँगै त्यस्ता केही अस्पतालहरूले बिरामीका आफन्तबाट उपचारका नाममा मोटो रकम असुल्न थालेपछि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति नै जारी गरेर चर्को शुल्क असुल्ने अस्पतालहरूलाई कडाभन्दा कडा कार्वाही गर्ने चेतावनी दिएको छ। सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले एकअर्कालाई सहयोग गर्नु पर्ने बेलामा दुःख दिने र समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएका हुन्। कोभिड १९ ले अहिले नेपाली जीवनलाई अनिश्चततातर्फ धकेलेको छ। दिनहुँ सङ्क्रमित दर अनियन्त्रित ढङ्गले उकालो लाग्दैछ। यहीसमय यसको तेस्रो लहर पनि आउनेतर्फ जनस्वास्थ्यविद्हरूले सचेत गराउन थालेका छन् ।

उपचार र ओखती नै नभएको कोभिडको त्रासदीबाट जनतालाई सुरक्षित गराउने नैतिक तथा संवैधानिक दायित्व भएको सरकार भने यसतर्फ जिम्मेवार र गम्भीर नदेखिनु नेपालीको दुर्भाग्य हो । सक्रियता, अग्रसरता र जिम्मेवार स्वास्थ्यमन्त्रीको भूमिका अनुभूत गर्न नपाएका नेपाली यति नै बेला सरकार टिकाउन बढेको सक्रियताले अलमलमा परेका छन् । ‘सबै काम छाडी पुच्छरमा हात’ भन्ने उखानको सम्झना दिलाउने प्रधानमन्त्रीको विशेष अधिवेशनको चटारोले कोभिड पक्कै निस्तेज हुनेछैन ।

अहिले देशको राजधानी सङ्क्रमणको उच्च जोखिममा छ। केन्द्रीय सरकारकै वरिपरि कूल सङ्क्रमितको आधाजसो देखिँदैछन् । बुधबार मात्रै देशभर आठ हजार छ सय ५९ जनामा कोभिड पुष्टि भयो। त्यही दिन अहिलेसम्म कै उच्च अर्थात् ५८ जनाले त्यसकै कारण जीवन गुमाए। ती जो अस्पताल पुग्नै पर्ने अबस्थामा छन् ‘को मर्छ र शय्या पाइन्छ’ को प्रतिक्षामा छन्। त्यहीं बसेका स्वास्थ्यमन्त्री शय्या अपुग नभएको दाबी गर्छन् । सम्भावित जोखिमको आकलन गरेर प्रवेश तयारीमा जुट्नु पर्ने बेला राज्य सञ्चालकको अर्जुनदृष्टि सत्ता सुरक्षामा केन्द्रीत हुककदाको परिणाम आज जनताले भोग्दैछन् । सम्बद्ध मन्त्रालयका तर्फबाट प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारसम्म ६६ हजार तीन सय ५२ जना सक्रिय सङ्क्रमित रहेको जनाएका थिए ।

पछिल्लो समय युवावर्ग सङ्क्रमणको चपेटामा पर्दै गएको तथ्याङ्कले देखाएको छ । कूल सङ्क्रमितको ६६ प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिएका छन् । यस्तो सङ्कटपूर्ण अबस्थामा सरकारले निजी अस्पतालहरूलाई पनि सहयात्राका लागि अनुरोध गर्नु पथ्र्याे । विपक्षी राजनीतिक दलहरूलाई समेत सङ्कट मोचनका लागि उपयोग गर्ने उदारता देखाउनु पथ्र्याे । तर, यही बेला औषधि र उपचार नै छैन भनिएको कोभिडका गम्भीर बिरामीले सेवा नपाई मृत्युवरण गर्नु पर्ने अबस्था आएको छ । यही सङ्कटको समयलाई राजधानीलगायत झापाको ठूलो भनिएको अस्पतालले सेवासुविधाविनै मोटो रकम असुलेको समाचार सार्वजनिक भएको छ ।

यसले मानवता, मानवीय संवेदना, सामाजिकता, हार्दिकता, मानवीय मूल्य र मान्यता पनि मरिसकेको सङ्केत गरेको छ। सुख दुःखमा हातेमालो गर्दै अघि बढ्ने सद्भावलाई पुनर्जागरण गराउनु आजको आवश्यकता हो। यसका लागि राज्यका सञ्चालकहरूले नै तत्परता देखाउनु पर्छ। जनताको जीवनको अघि सत्ता गौण ठानेर विद्यमान विपत्तिको सामना गर्नुपर्छ। सरकारको ध्यान यतातर्फ केन्द्रीत होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here