चामल बाँडेपछि विवादमा तानियो गौरादह नगर

0
357

युवराज रेग्मी
झापा, गत बर्ष कोरोनाको कहरमा दैनिकी गुजारा गर्न कठिन भएका नगरका गरीब तथा विपन्न ज्यालादारी गर्ने मजदुर बर्गलाई राहत स्वरुप बितरण गर्न संकलन गरिएको खाद्यान्न पारदर्शी रुपमा बितरण नगरिएको भनी तात्कालीन समयमा विवादास्पद बनेको गौरादह नगरपलिका यस बर्षको कोरोनाको दोस्रो लहरमा पनि सोही प्रकृतिको बिबादमा तानिएको छ ।

त्यसो त केही–नकेही काण्डका कारण निरन्तर बिबादास्पद बन्ने जनप्रतिनिधिहरुको गैर–जिम्मेवारी र लाचारपूर्ण व्यवहारले नगरबासीहरु आजित बनिसकेका छन् । यस्तै बिबादास्पद कार्य अन्तर्गत हाल गौरादह नगरपालिकाले १ सय १५ विपन्न परिवारलाई गत साल दाताबाट प्राप्त भएको र नगरको विपद् व्यवस्थापन कोषको मोटो रकम खर्चिएर खरिद गरिएको मौज्दात चामल तथा दाल प्रयोगका लागि गुणस्तरहिन हुँदाहुँदै गरीब तथा बिपन्नबर्गलाई कोरोनाको दोस्रो लहरमा राहतका नाममा बितरण गरेर थप विवादास्पद बन्दै गएको छ । कुहिएर अखाद्य भएको चामल र दाल बाँड्ने तयारीमा रहेको खाद्यान्न वितरण गर्ने निर्णय गरेर फेरि अर्को ठूलो गल्तीतर्फ नगरपालिका अघि बढेको देखिन्छ ।

स्थानीय नागरिकहरुले गुनासो व्यक्त गरे पश्चात् मौज्दात रहेको दाल तथा भुजा लगायतका खाद्यान्नको अवस्था बारे जिज्ञासा राख्दा गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहले आनाकानी गरी नगरपालिकाको स्टोर शाखामा बुझ्न र उक्त खाद्यान्नको अवस्था बारे आफू जानकार नरहेको जबाफ दिएका थिए । यसै बिषयमा गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाल पनि सो मौज्दात खाद्यान्नको अवस्था बारे आफू जानकार नरहेको बताउदै आएकी थिइन् । हाल सोही बिषयलाई ढाकछोप गर्न कोरोनाको बहानामा पालिकाको सीसीएमसी बैठकको नाममा घुमाउरो र नाट्कीय ढंगबाट बैठक बसी मौज्दात रहेको अखाद्य चामल तथा खाद्यान्नहरु इलाका प्रहरीको सहयोगमा नष्ट गर्ने निर्णयमा नगरपालिका पुगेको बुझिएको छ ।

सोही अखाद्य बनेको केही परिमाण चामल र दाल केही दिन अघि नगरपालिकाले विपन्न नागरिकलाई बाँडेको थियो । राहत स्वरुप चामल तथा दाल प्राप्त गर्ने निमुखा बर्गबाट सो चामल तथा दाल प्रयोग गर्न अयोग्य रहेको र आफूहरुको स्वास्थ्य माथि नगरपालिकाले खेलबाड गरेको उनीहरुले गुनासो गरेका थिए । कोरोना भाइरसको दोस्रो लहरका कारण जिल्लाद्वारा जारी निषेधाज्ञाका कारण रोजगारीको अभावमा दैनिक गुजारा चलाउन मुस्किल परेका १ सय १५ विपन्न परिवारलाई जनप्रतिनिधिले अव्यस्थित गोदाममा एक वर्षदेखि राखेर कुहिएको चामल वितरण गरेको थियो । त्यस्तै, अवस्थाको थप ५ हजार केजी चामल हालसम्म पनि नगरपालिकाले गोदाममै राखेको छ । सो चामल पनि गरीब तथा विपन्नबर्गलाई वितरण गर्न नगरपालिका तयारीमा रहेको थियो ।

यसै बिषयमा नगरका आम नागरिकले मौज्दात रहेको अखाद्य बनिसकेको खाद्यान बारे गम्भीर रुपमा चासो र चिन्ता व्यक्त गरेपश्चात् खाद्यान्न बितरण गर्नबाट नगरपालिका पछि हटेको थियो । यसै बिषयलाई निरुपण गर्न सोमबार बसेको नगरको विपत् व्यवस्थापन समितिको बैठकले कुहिएको चामल नष्ट गर्ने निर्णय गरेको छ । बैठकले गौरादहस्थित साझाको भवनमा राखिएको चामल अखाद्य बनेको निष्कर्ष निकाल्दै नष्ट गर्ने निर्णय गरेको नगर उपप्रमुख गीता भेटवालले जानकारी गराउँदै भनिन्– त्यो चामल कामै नलाग्ने गरी बिग्रिएको छ, अब चाँडै नष्ट हुन्छ ।

नगरपालिकाले गतसाल कोरोना महामारीको समयमा नगरबासी बिपन्नबर्गलाई राहत स्वरुप बितरण गर्न प्रतिकेजी रु. ३८का दरले खरिद गरिएको खाद्यान्नमध्ये मौज्दात खाद्यान्न मासिक २ हजार रुपैयाँ गोदाम भाडा तिरी भण्डारण गरी राखेको थियो । अव्यवस्थित भण्डारणका कारण मौज्दात रहेको चामल कुहिएकै अवस्थामा तीन हजार केजी नगरपालिकाले विपन्न परिवारलाई बाँडेको हो । नगरपालिकाले १ सय १५ परिवारलाई प्रतिपरिवार २० केजीका दरले कुहिएको चामल र त्यस्तै अवस्थाको दुई केजी दालप्रति परिवारलाई वितरण गरेको थियो । हाल यसै बिषयलाई गौरादहका नागरिकले नगरपालिकालाई संस्थागत तथा ब्यक्तिगत तबरबाट निरन्तर रुपमा खबरदारी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here