विपद् व्यवस्थापनमा सरकारी तयारी शून्य

0
1163

दिपेन्द्र अधिकारी
झापा, यतिखेर अरब सागरमा विकसित ताउ–ते नामको चक्रवातले भारतमा वितण्डा मच्चाइरहेको छ । चक्रवातको केही प्रभाव नेपालमा पनि देखिएको छ ।

यसैपनि, नेपालमा बाढी पहिरोका कारण वर्षेनी २ सय भन्दा बढीले ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ । त्यसमाथि आगामी मनसुनमा गत वर्ष भन्दा बढी बर्षा हुने अनुमान सरकारी विभागले नै गरेको छ । त्यसैले सरकार पूर्व तयारीका लागि बेलैमा जागरुक हुनुपर्ने देखिन्छ ।

यस वर्ष प्रि मनसुनको प्रभाव कम छ, तर पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतमा विकसित ताउ–ते चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि मौसम बदली भएर विभिन्न स्थानमा वर्षा भइरहेको छ । प्रि–मनसुनको समयमा चक्रवातको प्रभाव स्वभाविक मानिन्छ । यो प्रभाव अझै केही दिन रहने हुँदा सतर्क रहनु पर्ने मौसमविदको सुझाव छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । विभागले यस वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ । विभागले मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांशजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ ।

प्रदेश १ का मध्य तथा हिमाली भागमा ३५ देखि ६५ प्रतिशत, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश २ को पश्चिम भूभागमा ३५ देखि ४५ प्रतिशत र प्रदेश १ को तराई र प्रदेश २ का पूर्वी जिल्लाहरूमा सरदरभन्दा ३५–४५ प्रतिशत अधिक वर्षा हुने अनुमान छ ।

नेपालमा सन् १९८१ देखि २०१० सम्मको ३० वर्षको अवधिमा भएको वर्षाको ३३।३ प्रतिशतभन्दा कम भएमा कम वर्षा र ६६।६ प्रतिशतभन्दा बढी वर्षा भएमा वढी वर्षा मान्ने गरिन्छ । गत वर्ष विभागले सरदर वर्षा हुने आँकलन गरे पनि अत्यधिक वर्षा भएको थियो । त्यसले पहिरोजन्य क्षति पनि अत्यधिक निम्त्याएको मौसमविद् बताउँछन् ।

वर्षातको समयमा मनसुनको पूर्वानुमान गर्दै विज्ञहरूले सरकारलाई सचेत गराएका हुन्छन् । तर, सरकारले पूर्व तयारीमा भने ध्यान दिनेगरको पाइँदैन । गत वर्ष मनसुनी अवधि जेठ देखि भदौ मध्यसम्ममा आएको बाढी–पहिरोबाट २ सय ६२ जनाले ज्यान गुमाएका थिए ।

पछिल्लो आधा दशकमा वर्षेनी बाढी पहिरोबाट औसतमा २ सय जनाले ज्यान गुमाउने गरेको देखिन्छ । विपत आएपछि केही थान राहत बाँड्ने र मनसुन सकिए पछि वास्तै नगर्ने राज्यको गैरजिम्मेदार प्रवृत्तिमा परिवर्तन आउन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here