समूह 'डी' मा आज अन्तिम दुई खेल: अन्तिम १६ का लागि यस्तो छ समीकरण

0
626

यूईएफए युरो कपमा आज अन्तिम दुई खेल हुँदैछन्। दुबै खेल राति पौने १ बजे सुरु हुने छन्।

स्कटल्याण्ड स्थित ह्याम्सडेन पार्कमा हुने खेलमा स्कटल्याण्ड र क्रोएसिया भिड्नेछन्। क्रोएसियाले यसअघिको खेलमा इङ्ग्ल्याण्डसँग पराजय ब्यहोरेको थियो भने चेक रिपब्लिकसँग बराबरी खेलेको थियो। त्यस्तै इङ्ग्ल्याण्डसँग बराबरी खेलेको स्कटल्याण्ड चेक रिपब्लिकसँग पराजित भएको थियो।

त्यस्तै वेम्बली स्टेडियममा शीर्षस्थानको होडमा रहेका चेक रिपब्लिक र इङ्ग्ल्याण्ड आमनेसामने हुनेछन्। इङ्ग्ल्याण्डले समूहको आफ्नो पहिलो खेलमा क्रोएसियालाई हराएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग बराबरी खेलेको थियो। त्यस्तै पहिलो खेलमा स्कटल्याण्डलाई हराएको चेक रिपब्लिकले दोस्रो खेलमा क्रोएसियासँग बराबरी खेलेको थियो। चारै टिम अन्तिम १६ मा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रने छन्।

अन्तिम १६ मा पुग्न कसलाई के आवश्यक ?

चेक रिपब्लिकलाई अन्तिम १६ मा प्रवेश गर्न आज इङ्ग्ल्याण्डसँगको खेलमा बराबरी या जित आवश्यक हुनेछ। आजको खेलमा पराजय ब्यहोरे पनि शीर्ष दुईमा रहँदै अन्तिम १६ मा प्रवेश गर्ने समीकरण भने कायम रहन्छ। त्यस्तै इङ्ग्ल्याण्डसँग पराजित भए पनि स्कटल्याण्ड र क्रोएसियाले बराबरी खेलेको खण्डमा पनि दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्नेछ।

इङ्ग्ल्याण्ड आजको खेलमा चेक रिपब्लिकलाई हराएको खण्डमा मात्र शीर्ष स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्नेछ। दोस्रो भएर अन्तिम १६ मा प्रवेश गर्नका लागि भने चेक रिपब्लिकसँगको बराबरी पनि पर्याप्त हुनेछ। त्यसबाहेक क्रोएसिया र स्कटल्याण्डले बराबरी खेले पनि इङ्ग्ल्याण्ड अर्को चरणमा प्रवेश गर्नेछ। पराजित भएको खण्डमा गोलअन्तरको समीकरणबाट अन्तिम १६ मा पुग्ने सम्भावना रहन्छ।

क्रोएसिया र स्कटल्याण्डले आजको खेलमा जित निकालेको खण्डमा गोलअन्तरका आधारमा दोस्रो हुँदै अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना हुन्छ। तर यसका लागि इङ्ग्ल्याण्ड र चेक रिपब्लिकले बराबरी खेले तेस्रो स्थानमा रहँदै अन्य टिमसँगको समीकरण कुर्नुपर्नेछ।-पहिलोपोस्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here