उमानाथ भण्डारी,कमल।

लायन्स क्लव अफ केर्खाले एक कार्यक्रमकाबीच अनाथका साथै अपाङ्ग व्यक्तिलाई ‘लायन मनको घर’ हस्तान्तरण गरेको छ ।
कमल गाउँपालिका–४स्थित सिद्धार्थ टोल निवासी अनाथका साथै अपाङ्ग भएका १८ बर्षीय मौसम राई र उनकी दिदी एलिना राई भाडाको घरमा बस्दै आएका थिए । दिदीभाइको यस्तो अवस्था देखेर लायन्स क्लव अफ केर्खाले लायन्स मनको घर नामक घर निर्माण गरी एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।
आमाबुवाविहीन शारीरिक तथा आर्थिक अवस्था अत्यन्तै कमजोर यी दिदीभाइको अवस्था देखेर गाउँपालिकाले घर बनाउने सोच बनाउँदै गरेका बेला लायन्स क्लवले घर बनाइ दिएर राम्रो काम गरेकोछ । सरकारले मात्र सबै काम गर्न सम्भव छैन, यसैले निजी क्षेत्रबाट पनि धेरै काम गर्न सकिने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् । लायन्सको ५१ वर्षीय अनुभवमा यो एकदमै राम्रो काम भएको छ । बस्नका लागि घर भयो अब जीवनयापनका लागि सिपमूलक कामको व्यवस्था गर्न आवश्यक छ, छोटो समयमा नै क्लवले राम्रा काम गरेर आफ्नो उचाइ बढाएको प्रमुख अतिथि डिष्ट्रिक ३२५ए१ का गभर्नर लायन रेवतबहादुर कार्कीले बताए ।
सानो त्रिपाल टाँगेर भए पनि घर बनाउँला भन्ने सोचिरहेको बेला यति ठूलो घर पाएँ, यसले अत्यन्तै धेरै खुशी लागेको छ– एलिना राईले खुशी व्यक्त गर्दै भनिन् । क्वलमा आवद्ध सदस्य तथा विभिन्न मनकारी व्यक्तिबाट जम्मा भएको ५ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर घर निर्माण गर्नका लागि लायन्स मनको घर निर्माण गरिएको क्लवका अध्यक्ष अग्निप्रसाद कोईरालाले बताए ।
यसैगरी क्लवले केर्खा बजारमा फ्रि वाइफाइ जडान गर्नुका साथै २०२१ ÷०२२ का लागि नवगठित समितिलाई पद हस्तान्तरण गरेको नवगठित समितिका अध्यक्ष देवेन्द्र दाहालले बताए ।






























