मङ्गलबारे,
पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गर्नुभएको छ ।
इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनाले सपथ लिनु अगाबै आर्थिक अभावमा अस्पतालमा अलपत्र परेको एक महिलाको शव निकालेर घरसम्म ल्याउन सहयोग गर्नुभएको हो । उहाँले शपथ लिनु आगाबै अस्पतालमा अलपत्र युवतिको शव घरसम्म ल्याउन पहल गर्नुभएपछि परिवारले अन्तेष्ठी गरेको बताइएको छ ।
माई नगरपालिका–७ की २४ वर्षकी देउकला लुङ्गेली मगरको जेठ ४ गते काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँको मृत्युपछि अस्पतालले उपचार खर्च तिर्न र शव बुझ्नका लागि परिवारलाई बोलाएको थियो ।
आर्थिक अभावका कारण उहाँको परिवार काठमाडौँ गएर उपचार खर्च तिर्ने र शव ल्याउन सक्ने अवस्थामा थिएन । नवनिर्वाचित वडाध्यक्ष खनालले अस्पतालमा लागेको रकम भुक्तानी गरेर शव घरसम्म ल्याउने व्यवस्था मिलाइदिनुभएको थियो ।
मृतक मगरका श्रीमान् सात वर्षदेखि सम्पर्कमा नभएको र तीन महिनाअघि उहाँहरूको घर आगलागीबाट सखाप भएको थियो । वैदेशिक रोजगारीका लागि दुबईबाट फर्किनुभएकी मगर मिर्गौलाको रोगी हुनुहुन्थ्यो । मृतक मगरको सात वर्षको एक बच्चा छ । सामाजिक सेवा गर्न जनताले मत दिएको बताउनुभएका वडाध्यक्ष खनालले सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।