भाग्यमानी बन्दै झापा

0
167

झापा अग्रणी जिल्लामा पर्छ । शिक्षा, स्वास्थ्य र राजनीतिक चेतनाका दृष्टिले अगुवा रहेको झापाले यसपटक झनै ठूलो उपलब्धी हात पारेको छ । दुई वटा राष्ट्रिय पार्टी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको जिल्लाका रुपमा परिचित झापा यसकारण पनि बढी चर्चामा रहेको छ कि यहीँबाट प्रतिनिधित्व गर्ने देवराज घिमिरे सभामुखमा निर्वाचित भए । त्यसबाहेक प्रदेश नम्बर १ को सरकारको नेतृत्व पनि झापाले नै गरेको छ । हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा निर्वाचित भएसँगै झापाको चर्चा चुलिएको हो । त्यसबाहेक शनिबार प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भएको छ । जसबाट झापाले नै प्रतिनिधित्व गर्ने सम्भावनाका बीच झापा अन्य जिल्लाका तुलनामा भाग्यमानी जिल्ला हो ।

एउटै जिल्लाबाट निर्वाचित प्रतिनिधिहरुले यति धेरै सम्मानित पद प्राप्त गर्नु एउटा संयोग नै हो । यस अर्थमा झापा राष्ट्रिय राजनीतिमा निर्णायक बन्न पुगेको छ । अझ सत्ता गठबन्धन र समीकरणका हिसाबले उपसभामुख पदमा उम्मेदवारी दिएकी इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक तर्फकी प्रतिनिधिसभा सदस्य हुन् । सभामुखले प्राप्त गरेको मतलाई आधार मान्दा उनको विजय निश्चित नै छ । उनको विजयले झापा र झापाको अर्जुनधारा नगरपालिका झनै भाग्यमानी पालिका हुने भएको छ । दुबैजना एउटै नगरपालिकाको बासिन्दा भएका कारण अर्जुनधाराले त्यस्तो सौभाग्य प्राप्त गरेको हो ।

सत्ता गठबन्धनको मूल साँचो बोकेका एमाले अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री बनेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै सम्मानित पद प्राप्त गरेका प्रतिनिधिहरु झापाका लागि विकास र समृद्धिका मूल बाहक हुन सक्छन् । त्यसो त उनीहरुको जिम्मेवारी समूहले जिल्ला र देशवासीप्रति रहन्छ, तर पनि यहाँको भौतिक तथा आर्थिक विकासमा उनीहरुको थोरै लगाव बढी हुनसक्छ । त्यसो भयो भने कृषिदेखि उद्योग, भौतिक विकास, ऊर्जा, सिँचाइ, रोजगारी लगायतका विषयले निर्दिष्ट गति प्राप्त गर्न सक्छ । यस्तोमा विशिष्ट पदमा निर्वाचित सबै पदाधिकारीहरुलाई देश, जनता र मुख्यगरी झापाको समृद्धि र विद्यमान समस्याको समाधानमा उच्च सफलता प्राप्त होस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here