धनीहरु नै धनी हुने प्रणाली

0
229

विश्वमा कुनै पनि किसिमका संकट आउन् या आर्थिक मन्दी आउन् । युद्ध हुन् या उथलपुथल होउन् तर धनीहरुका लागि अझ धनी हुने ढोका खुल्दछन् । यसको सटिक अर्थ, धनीहरू संकटको बीचमा पनि धनी हुँदै जान्छन् । सहज वातावरणमा त भन्नै परेन ।

विश्वमा बेलाबखत प्रकोप या महामारी आइरहेका हुन्छन् । यस्तो समयमा धनीहरुका लागि नै धन कमाउने अवसर श्रृजना हुन्छन् । त्यहीँ हरेक ३० घण्टामा महामारीले एक करोड मानिसलाई गरिबीमा धकेल्छ तर नयाँ अर्बपतिहरु जन्माउँछ । अनि विश्वभर असमानतालाई व्यापक रूपमा फराकिलो बनाइदिन्छ । विश्वका देशहरूले महामारी जस्तो संकटको बीचमा अर्थतन्त्रलाई बढावा दिन उद्योग व्यवसायहरूलाई कर छुट र वित्तीय प्रोत्साहन जस्ता नीतिहरू अपनाउँदछन् । केन्द्रीय बैंकहरूले ऋण दिन र खर्च गर्न सजिलो बनाउन पैसाको साथै अर्थतन्त्रलाई बढावा दिन्छन् । यसले धनीहरूलाई वित्तीय बजारमा लगानी मार्फत आफ्नो पैसा बढाउन मद्दत गर्दछ ।

जब कोरोना भाइरसको महामारी शुरु भयो, विश्वभरका केन्द्रीय बैंकहरूले वित्तीय बजारलाई जोगाउन काममा लागे । अर्थतन्त्रलाई ध्वस्त हुनबाट जोगाउन केन्द्रीय बैंकहरूले ब्याजदर घटाए । जसले गर्दा पैसाको आपूर्ति बढ्यो । कम्पनीहरूलाई अर्थतन्त्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ तिनीहरूले वित्तीय बजारहरूमा ट्रिलियन डलर लगानी गरे । प्रमुख केन्द्रीय बैंकहरूले सन् २०२० देखि विश्व अर्थतन्त्रमा ११ ट्रिलियन डलरभन्दा बढी लगानी गरे । अचानक पैसाको ठूलो मात्राले स्टक लगायत सम्पत्तिको मूल्यमा नाटकीय वृद्धि ल्यायो, जसले धनीहरूलाई नै फाइदा पु¥याएको छ ।

महामारीको एक वर्षमा, पुँजी बजार १४ ट्रिलियन डलर बढेको थियो, जसमा २५ कम्पनीहरू – प्रायः टेक्नोलोजी, इलेक्ट्रिक मोटर र सेमीकन्डक्टर सेग्मेन्टमा कूल नाफाको ४० प्रतिशत योगदान देखियो । यस महामारीको अवधिमा अरबपतिहरूको सम्पत्तिमा सबैभन्दा ठूलो बृद्धि भएको छ । यस वर्षको मे महिनामा जारी भएको अक्सफामको प्रोफिटिङ फ्रम पेन (पीडाबाट नाफा) प्रतिवेदन अनुसार अरबपतिहरूले आफ्नो भाग्य २४ महिनामा नै २३ वर्षको जति बढाउन सफल भएका छन् । तर, प्रत्येक ३० घण्टामा, कोभिड–१९, महंगो उपचार, खाद्यान्न र उपभोग्य सामानको बढ्दो मूल्यले झण्डै १० लाख मानिसहरूलाई चरम गरिबीमा धकेलिरहेको छ र त्यहीँ विश्वव्यापी अर्थतन्त्रले नयाँ अर्बपति जन्माइरहेको छ । विश्वभरका सरकारहरूले निजी क्षेत्रको सहभागितालाई अनुमति दिन अर्थतन्त्रलाई नियमनमुक्त र उदारीकरण गर्दा धनीहरुलाई अझ धन थुपार्न सहयोग गरेको छ ।

जब आर्थिक संकट आउँछ, केन्द्रीय बैंकहरू वित्तीय बजारलाई पतन हुनबाट बचाउनतिर लाग्छन् । किनभने यो वास्तविक अर्थतन्त्रसँग धेरै अन्तरसम्बन्धित हुन्छ । विश्वव्यापी वित्तीय संकटको समयमा प्रमुख केन्द्रीय बैंकहरूले विभिन्न उपकरणहरू मार्फत बजारमा तरलता इन्जेक्ट गर्ने र कम्पनीहरूलाई ऋण लिन र लगानी गर्न प्रोत्साहित गर्न ब्याज दरहरू घटाउने गर्दछन् । महामारीको समयमा पनि धनीहरूका लागि सरकारहरुले करको दर घटाउने गर्दछन् । केन्द्रीय बैंकहरुले पनि पैसाको पहुँचलाई सजिलो बनाइदिन्छन् । मुद्रास्फिति बढेका बेला पनि फर्महरू, कम्पनीहरु जुन धनीहरुले सञ्चालन गरेका हुन्छन् तिनीहरुको नाफा मार्जिन घटेको हँुदैनन् तर आश्चर्यजनक रुपमा नाफा बढेको हुन्छ । जसले गर्दा धनीहरुलाई अझ धनी हुन सघाउँदछ ।

विश्वव्यापी वित्तीय प्रणालीले काम गर्ने तरिकाले गर्दा, विकासोन्मुख देशहरूमा मितव्ययिताका उपायहरू लागू गर्न धेरै दबाब हुन्छन् । यसले थप असमानताहरू सिर्जना गर्दछ । यसले गरीबहरूलाई सामाजिक सुरक्षा प्रदान गर्ने उनीहरूको क्षमतालाई समेत सीमित गर्दछ तर धनीहरुलाई धनको पोको खोलिदिन्छ । पुरानो कुरा ध्यान दिने हो भने, दोस्रो विश्वयुद्ध पछि, देशहरूले प्रगतिशील कर नीतिहरू पछ्याउन थाले र एकाधिकार शक्तिलाई सम्बोधन गर्न कदम चाले । धनीहरुका लागि अर्को सजिलो के छ भने, धनीहरूको बार्गेनिङ पावर बढी भइदिन्छ र लबिङ गरिदिने मध्यस्तकर्ताहरु धेरै हुन्छन् या सत्ताका नजिक हुन्छन् या धनीहरु नै सत्तामा हुन्छन् । त्यसैले धनीहरुले नीति–नियम मात्र होइन देशको आर्थिक प्रणालीको दुरुपयोग गरेर भए पनि धन बढाउँदछन् । उनीहरुलाई देशको विभिन्न आर्थिक उपकरण उपयोग मात्र होइन दुरुपयोग नै गर्ने छुट दिइएका हुन्छन् । र, अर्कोतर्फ धनीहरूलाई उनीहरूको पक्षमा नीतिहरू मैत्रीपूर्ण बाउन सजिलो पारिन्छन् ।

कोराना भाइरस संकट कतिपय धनीलाई धन कमाउने सुनौलो अवसर प्रमाणित भयो । ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार, १ सय ३१ अर्बपतिहरूले महामारीको समयमा आफ्नो कूल सम्पत्ति दोब्बरभन्दा बढी बढाए । संसारको सबैभन्दा धनी व्यक्ति, लुइस भिटनका प्रमुख बर्नार्ड अर्नाल्ट, डिसेम्बर २७, २०२२ मा १ सय ५९ बिलियन डलरको मूल्यवान व्यक्ति थिए, तर उनको धन २०२०को शुरुवातको तुलनामा लगभग ६० बिलियन डलरले बढ्यो । संसारकै दोस्रा धनी व्यक्ति अर्थात स्पेश एक्स र टेस्लाका मालिक एलन मस्कले पनि आफ्नो भाग्य चम्काए । यता भारतका धनी व्यापारी गौतम अडानी महामारी अघि ५० बिलियन डलर र सूचांकमा तेस्रो स्थानमा रहेकामा यस अवधिमा आफ्नो सम्पत्ति दश गुणा बढाउन सफल भए । अडानीको आम्दानी २०२० को शुरुमा करिब १० अर्ब डलर थियो तर २०२२को अन्त्यमा १ सय १० अर्ब डलरमा पुगेको । तर, एकै समयमा या २०२० मा लगभग ९७ मिलियन मानिसहरू चाहिँ चरम गरिबीमा धकेलिएका छन् । गरीबहरुले प्रति दिन २ डलरसम्म कमाई गर्न पनि धौं–धांै परेको छ (विश्व बैंकद्वारा परिभाषित गरिबी रेखा) ।

संकटको समयमा धनीहरुलाई धन कमाउन झन् सजिलो हुन्छ किनकि देशको संकटग्रस्त अवस्थामा सरकारले जनताको जीवन जोगाउन औद्योगिक क्षेत्रबाट उत्पादन र सेवा व्यावसायी या व्यापारीहरुबाट जीवनदायिनी तथा उपभोग्य बस्तुहरु किन्दछ । संकटमा सप्लाई बाधित हुने बहानामा कतिपय प्रक्रियाहरुलाई खुकुलो बनाइन्छ, कमिशनको खेल चल्छ, कतिपय कडा नियम खुकुलो पारिन्छ । यस्तो मौकालाई धनीहरुले सुनको अण्डा पार्ने अवसरमा परिणत गर्दछन् । गरीबहरु भने काम गर्न पाउँदैनन् अर्को तर्फ महंगो सामान किन्न बाध्य हुन्छ् । आफूसँग बचेखुचेका पैसा पनि मास्न बाध्य हुन्छन् । धनी मानिसहरु, मन्त्रीहरु, सांसदहरु, कर्मचारीहरु र सत्ताधारीहरु सबै झन् धनी हुन्छन् तर मध्यमवर्ग र निम्नवर्ग जनताहरु कंगाल हुन्छन् ।

युद्धको समयमा युद्ध सामग्री बनाउने धनीहरु, प्रकोपको समय राहत सामग्री उत्पादन र सप्लाई गर्ने व्यापारीहरु । ती सामान किन्ने सरकार र तिनका अंगका मान्छेहरु रातारात धनी हुन्छन् । किनकि जनताको धनजन जोगाउने निहुँमा अनियन्त्रित रुपमा राष्ट्रिय ढुकुटी र अन्तर्राष्ट्रिय आर्थिक सहयोग मनमौजी मास्दछन् । यसको सोझो फाइदा धनीहरुले नै लिन पाउँछन् । सहज अवस्थामा धनी हुनु त छँदैछ तर महा संकटको अवस्थामा पनि धनीहरु नै झन् धनी हुन्छन् । जसले आर्थिक असमानता चुलिन्छ । त्यसैले धनीहरुलाई अझ धनी हुन नदिन र गरीबहरुले पनि धनी हुनका लागि देशमा कुनै पनि किसिमका संकट र प्रकोप आउन दिनु हँुदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here