बालअधिकार सुनिश्चित गर

0
49

बालबालिकाको क्षेत्रमा कार्यरत आसमान नामक एक गैरसरकारी संस्थाको तथ्यांक अनुसार नेपालमा एघार लाख बालबालिका श्रममा संलग्न रहेका छन् । त्यसमा पनि जोखिमपूर्ण श्रममा संलग्न बालबालिकाको संख्या दुई लाख रहेको छ । नेपालको संविधान, कानून तथा राज्यको नीतिले बालश्रम लगायत सबै श्रम र शोषण अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । त्यसबाहेक संविधानतः निषेधित र दण्डनीय, विशेष कानून बालश्रम, निषेध र नियमित गर्ने ऐन लगायत बालबालिकाको हक अधिकार सुरक्षित गर्ने ऐन बनाइएको भए पनि तिनको प्रभावकारी कार्यान्वयन नहुँदा बालबालिकाको श्रम शोषण भइरहेको छ । हाम्रो कानूनी व्यवस्था अनुसार १४ वर्षमुनिका बालबालिकालाई रोजगारमा संलग्न गराउनु र १८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण काम तथा व्यवसायमा लगाउनु बालश्रम हो भन्ने परिभाषित गरेको छ ।

राज्यको कानून निर्माण गर्ने व्यक्ति तथा संस्थाले नै त्यसको परिपालनामा चासो नदिँदा बालश्रमको अवस्था जस्ताको तस्तै छ । कानून विपरीत, जबरजस्ती तथा इन्छा विपरीत कुनै पनि बालबालिकालाई रोजगारीमा लगाउनु अथवा आय–आर्जन गर्ने काममा संलग्न गराउनु बालश्रम हो । तर, आर्थिक अवस्था कमजोर भएका, अभिभावक तथा संरक्षकविहीन बालबालिका बाध्यतापूर्वक रोजगारीमा अझ जोखिमपूर्ण श्रममा संलग्न छन् । कति बालबालिका साथीभाइको लहैलहैमा लागेर, पारिवारिक कलहका कारण तथा अन्य प्राविधिक कारणले श्रममा लाग्ने गरेका छन् । त्यस्ता बालश्रमिकलाई पारिश्रमिक नदिने, थोरै दिने, समयमा नदिने गरेको अनुसन्धानले देखाएको छ । अझ कतिपय बालबालिकाले यौन दुव्र्यवहारको सामना गर्नुपरेको, यौन शोषणमा पर्नु परेको बालअधिकारको क्षेत्रमा कार्यरत संस्थाले उल्लेख गरेका छन् ।

बालबालिका देशका भविष्य हुन् । उनीहरुलाई उचित पालनपोषण, शिक्षादिक्षा, मनोरञ्जन, खानपिन र स्वास्थ्य सुरक्षा प्रदान गर्नु अभिभावकको मूल दायित्व हो । तर, आर्थिक, प्राविधिक एवम् प्राकृतिक अवस्थाका कारण संविधानप्रदत्त अधिकारबाट वञ्चित भएका बालबालिकाको हित रक्षाका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारले विशेष ध्यान दिनु पर्दछ । बालश्रमको अन्त्यका लागि भएका ऐन–कानूनको प्रभावकारी कार्यान्वयन जिम्मेवार निकाय तथा सरकारको प्रमुख दायित्व हुनुपर्छ। शारीरिक, मानसिक रुपले अस्वस्थ, अभिभावकविहीन, कुलतमा लागेका, परिवारको मायाबाट वञ्चित बालबालिकाको संरक्षणको जिम्मा राज्यले लिनु पर्दछ । अनि मात्र बाल अधिकारको प्रत्याभूति गर्न सकिन्छ । त्यस्तो अवस्थाले मात्र देशको भविष्यको आधार तय हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here