भगवानको ‘हृदय’भित्र हेर्दा

0
98

नेपालको चिकित्सा क्षेत्रमा एक उज्ज्वल नक्षत्रको रुपमा स्थापित डा. भगवान कोइराला एक कुशल चिकित्सक, सफल व्यवस्थापक र आम युवाहरूका लागि प्रेरणाको स्रोत हुन् । निम्न मध्यम वर्गीय परिवार, पहाडी गाउँको सामान्य कृषि परिवेशमा हुर्केका तथा मध्यम पढाई भएको एक युवा थिए भगवान । बलियो आत्मविश्वास र कठोर परिश्रमले उनलाई अब्बल ख्याती प्राप्त हृदय चिकित्सक÷सर्जनमा परिणत गर्यो । उनको जीवनको आजसम्मको हिँडाइ, भोगाइ, आरोह अवरोह र सफलताको कथा दुरुस्त पढ्न सकिने गरिको पुस्तक हो– ‘हृदय’ ।

फाइनप्रिन्ट प्रा.लि.ले २०७८ मा प्रथम पटक विशेष प्रकाशनको रुपमा र २०७९ असोजमा नियमित प्रकाशनको रुपमा प्रकाशित गरी पुस्तक सार्वजनिक गर्यो । २७१ पृष्ठ भएको र केही आकर्षक फोटो प्लेटहरु रहेको उक्त पुस्तकमा ५७ वटा विभिन्न बिषयका शिर्षक भएका सत्य घटनामा आधारित लेखहरु पढ्न सकिन्छ । मूल्य रु. ५००÷– रहेको पुस्तक युवाहरूलाई प्रेरणा पुञ्ज र अमूल्य रत्नहरुको सुुन्दर माला बन्न सक्छ । पाठकहरुको हातमा परेको उक्त पुस्तकबाट प्राप्त हुने लेखकस्व मध्ये ५० प्रतिशत रकम अस्पताल निर्माण अभियानमा जाने व्यवस्था गरिएको छ ।

नेपालकै पहिलो डिएम कार्डियोलोजी उपाधि प्राप्त डा. एनके श्रेष्ठले बाँसबारी छालाजुत्ता कारखानाको चिहानमा बनेको गङ्गालाल अस्पताल भनेका थिए । वास्तवमा पुरानो छालाजुत्ता कारखाना भएको स्थानमा बनेको गङ्गालाल अस्पताललाई ख्याती प्राप्त बनाउने काम त्यसको प्रमुख भएर भगवान कोइरालाले नै गरेका थिए । आफ्नो नाम भगवान रहन पुगेको प्रसङ्गदेखि एचएको पढाई, युक्रेनको एमबीबीएस, बङ्गलादेश, क्यानडा र युएसएका तालिम र अध्ययन, त्यसको क्रममा जोडिन पुगेका रोचक र केही घोचक प्रसङ्गहरुले अध्ययनरत् व्यक्तिलाई पट्यार लाग्नै दिँदैन ।

थालेको काम कसैगरी फत्ते गरेरै छाड्ने, अनवरत लागीरहने, नियमभन्दा तल–माथि नगर्ने, दवाव र भनसुन पटक्कै नसुन्ने उनको बानीले उनलाई सफल व्यवस्थापक बनायो । कुनै पनि संस्थामा इमान्दार व्यवस्थापकले के–कस्तो राजनीतिक दवावको सामना गर्नु पर्दोरहेछ भन्ने गतिलो प्रमाण हो भगवान कोइरालाको पुस्तक– ‘हृदय’ ।

नेपालमा चिकित्सा शिक्षाका समस्या, चुनौति, उपलब्धी र हामीले अपनाउनुपर्ने सावधानीको दस्तावेज हो कोइरालाको पुस्तक ‘हृदय’ । आफ्नै श्रीमती सुत्केरी ब्यथाले छट्पटिँदा, बर्षौंपछिको भाइटिकामा चेलीलाई पर्खाएर आफू नजाँदा, पिताजीको चौरासी पूजाको कर्ताको भूमिकालाई बिर्सेर अस्पताल दौडिनु पर्दाका घटनाले उनको आफ्नो पेशाप्रतिको समर्पण र बिरामीप्रतिको कर्तव्यबोधको मात्रा पनि छर्लङ्ग पार्ने पुस्तक हो– ‘हृदय’ ।

वि.स. २०५८ साल जेठ महिनाको १९ गते नेपालमा घटेको एक अकल्पनीय, हृदय बिदारक दरवार हत्याकाण्डमा सैनिक अस्पतालका चित्कार, रगतको होली र प्राण जाँदै गरेका शाही परिवारका सदस्यहरुका बोलीका अर्थहरुको दुरुस्त प्रस्तुति भएको इतिहासहो उनको पुस्तक ‘हृदय’ ।

बाह्र हजारभन्दा बढी मानिसका मुटुको शल्यक्रिया गरेका डा. भगवान कोइराला बहुबिशिष्टीकृत अस्पतालको चाहनामा थिए । त्यही सपना साकार पार्ने हेतुले सातै वटा प्रदेशमा सातै वटा चाइल्ड अस्पताल बनाउने लक्ष राखेर उनको टीम काठमाडौं इन्स्टीच्यूट अफ चाइल्ड हेल्थ, केन्द्रीय अस्पताल भवन निर्माणमा जुटिरहेको छ । उनको अभियानमा धेरै सहयोग पनि प्राप्त भइरहेका छन् । उनको अभियानले पूर्णता पाउन सकोस् भन्ने कामना गर्नुमात्र होइन सक्दो सहयोग पनि गर्नुपर्दछ ।

पुस्तकमा उनको बाल्यकाल, स्कूले शिक्षा, भोग्नु परेका कठिनाई, बस दुर्घटनामा परेको कथा, नेपालको पहिलो ओपन हार्ट सर्जरी, गङ्गालालका दुई कार्यकाल, मन्त्रीका सल्लाहाकारसँग टकराव, मनमोहन कार्डियो थोरासिक सेन्टर स्थापना, नेपालमा स्वास्थ्य शिक्षाका नीतिगत सुधार, संस्था सफलता र असफलताका कथाहरू आदिले मज्जाले स्थान पाएका छन् ।

विदेशमा निकै ठूला अवसरहरु पाउँदा समेत पूर्णरुपमा आफ्नो देश नछाड्ने र केही गरेरै छाड्ने खाले मानिसको लाममा पहिलो दोस्रो व्यक्ति मै गनिने भगवानको हृदयले देश प्रेम सिकाउँछ, खुशी हुन र दिन सिकाउँछ, समाज र देश बदल्ने हिम्मत दिन्छ, काम गर्ने जाँगर बढाउँछ, पेशावाद सिकाउँछ, प्रेम बलिदानको अर्थ बुझाउँछ र कर्म योगी हुन अभिप्रेरित गर्दछ । त्यसकारण भगवान कोइरालाको ‘हृदय’ फरक शैलीको एक पढ्नै पर्ने समकालीन नेपाली समाजको अब्बल पुस्तक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here