ढिलासुस्ती र लापरवाहीमा उत्कृष्ट विकासे आयोजनाहरु

0
25

काठमाण्डौं ।

कञ्चनपुर–कमला सडक खण्डको ठेक्का चाइना रेल्वे इन्जिनियरिङ २ ग्रुप कम्पनी लिमिटेडले पाएको छ। चिनियाँ ठेकेदार कम्पनीले अनेक बहाना गरेर आयोजनाको काम रोक्दासमेत सरकार मूकदर्शक बन्दै आइरहेको छ।

बुटवल–नारायणगढ खण्डको १३१ किलो मिटरका सडकको अवस्था पनि त्यस्तै छ। ४२ महिनामा स्तरोन्नती गर्नुपर्ने सडक ५२ महिना पुरा हुँदा पनि भएको छैन। ४२ महिनामा एक तिहाई मात्र काम भएको छ।

यसैगरी जापानी सहयोग नियोग (जाइका) को ऋण लगानी रहेको नागढुंगा–नौबिसे सुरुङ आयोजना निर्माणमा पनि ढिलासुस्ती उस्तै छ। सुरुको ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो तर भएन।

समयमा काम नभएपछि यो आयोजनाको म्याद २५ अप्रिल २०२४ सम्म थपिएको छ। थपिएको समयभित्र पनि आयोजना सम्पन्न हुनेमा शंका छ। आयोजनाका अनुसार २०२३ जुलाई २४ सम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ५६.८९ प्रतिशत र वित्तीय प्रगति ५९.३९ प्रतिशत छ।

आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर छ। अहिलेसम्म २ हजार १७२ मिटर सुरुङ मात्रै छिचोलिएको छ। अझै ५१५ मिटर मुख्य सुरुङ खन्नै बाँकी छ।

यो परियोजना जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले गरिरहेको छ। ठेकेदार कम्पनी र स्थानीयबासीको अवरोधका कारण तोकिएको समयमा यो परियोजना निर्माण हुन सकेको हो। सुरुङमार्ग निर्माण गर्न जापान सरकारसँग ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण सम्झौता भएको छ। जाइकाको साढे १६ अर्ब रूपैयाँ ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी साढे २२ अर्ब रूपैयाँमा आयोजना निर्माण गर्ने लक्ष्य छ।

मुग्लिन–पोखरा सडक खण्ड विस्तारमा पनि ढिलासुस्ती छ। विश्व बैंकको ऋणमा यो सडक खण्ड विस्तार गर्न लागिएको हो। पूर्वीखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटरमा बाँडेर यो सडक खण्ड विस्तार गरिँदैछ। दुवै खण्ड निर्माण प्रगति पनि उत्साहजनक छैन। पूर्वी खण्डका लागि २०२१ अप्रिलमा र पश्चिम खण्डका लागि २०२१ अगस्टमा निर्माण सम्झौता भएको थियो। सम्झौताअनुसार २०२४ अप्रिलसम्म पूर्वीखण्ड र २०२४ अगस्टसम्म पश्चिमखण्ड सम्पन्न गर्नुपर्छ। काम सक्न एक वर्ष बाँकी भए पनि भौतिक प्रगति अत्यन्त न्यून छ।

पश्चिमखण्डको भौतिक प्रगति ८.१५ प्रतिशत र पूर्वीखण्डको प्रगति २९ प्रतिशत हाराहारीमा छ। पूर्वीखण्ड विस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ। पश्चिमखण्ड विस्तारको ठेकका पनि चिनियाँ कम्पनी अनहुई काइयुयान रोड एन्ड ब्रिज कम्पनीले पाएको छ। मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका प्रमुख अमितकुमार श्रेष्ठले साइट ििक्लयर नहुँदा र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारणले कामले गति लिन नसकेको बताए। ‘आयोजना एउटाभन्दा पनि धेरै कारणले समयमै नबन्ने अवस्था देखिएको छ,’ उनले भने।

पूर्वीखण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मका लागि ७ अर्ब ४० करोड रूपैयाँ खर्च हुनेछ। यो रकम सडक विस्तारका लागि मात्र हो। त्यसबाहेक तनहुँको दमौलीस्थित मादी नदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेती नदीमाथि पुल बनाउन थप १ अर्ब रूपैयाँ लाग्नेछ। सबैगरी १५ अर्ब रूपैयाँभन्दा बढी रकम राजमार्ग विस्तारमा खर्च हुनेछ।

आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर छ। अहिलेसम्म २ हजार १७२ मिटर सुरुङ मात्रै छिचोलिएको छ। अझै ५१५ मिटर मुख्य सुरुङ खन्नै बाँकी छ। यो परियोजना जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले गरिरहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले दातृ निकायहरूको ऋण लगानीमा निर्माणाधीन आयोजनाको प्रगति उत्साहजनक नभएको बताए। ‘स्वदेशी लगानीका आयोजनाभन्दा दातृ निकायको अनुदान तथा ऋणमा निर्माणाधीन आयोजनाहरूको पुँजीगत खर्च कमजोर देखिएको छ,’ उनले भने, ‘दातृ निकायको ऋणमा निर्माणाधीन आयोजनामा सरकारले भ्याट र मुआब्जा तथा क्षतिपूर्तिवापतको रकम खर्च गर्नुपर्ने हुन्छ। सो खर्चका लागि बजेट अभावले पनि आयोजनाले अपेक्षित गति लिन सकिरहेका छैनन्।’

पूर्वमहानिर्देशक सापकोटा ऋण लिएर निर्माण थालिएका आयोजना जतिसक्दो छिटो सम्पन्न गरेर प्रतिफल प्राप्त गर्नुपर्ने बताउँछन्। ‘ऋण लिएर निर्माण थालिएका आयोजना जतिसक्दो छिटो सम्पन्न गरेमात्रै मुलुकले प्रतिफल प्राप्त गर्न सक्छ। ढिलासुस्तीका कारण आयोजनाबाट राम्रो प्रतिफल प्राप्त गर्न हामी चुकिरहेका छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here