सीमा क्षेत्रमा भारतीय ज्यादती: नेपाली नम्बरका मोटरसाइकलमा रोक

0
51

पार्थ मण्डल
भद्रपुर । 

नेपाल–भारत व्यापार र पारवहन सन्धि विपरीत भारतीय पक्षले भद्रपुर–गलगलिया सीमा नाकाबाट ओहोरदोहोर गर्ने दुई पाङ्ग्रे नेपाली नम्बर प्लेटका मोटरसाइकल माथि रोक लगाएको छ ।

भारतका महावाणिज्य दूतावास वीरगञ्जले पठाएको पत्रलाई आधार मानेर गलगलिया भन्सार कार्यालयले भद्रपुर नाकाबाट विगतमा गलगलिया बजारसम्म जाने नेपाली नम्बर प्लेटका मोटरसाइकल माथि रोक लगाएको हो । भन्सार कर्मचारीको आदेशमा भारतीय एसएसबीले सीमा नाकामै मोटरसाइकल लैजान रोक लगाएपछि नेपालीले सास्ती झेल्नु परेको छ ।

अनुमति नभएको मोटरसाइकल भारत प्रवेशमा रोक लगाउँदा सवारीधनीहरूले आफ्नो मोटरसाइकल सीमामै राखेर गन्तव्यतर्फ जान बाध्य भएका छन् । माथिको आदेश भन्दै भन्सार कर्मचारीले बिहीबार दिउँसो १२ बजेदेखि एक्कासी मोटरसाइकल माथि रोक लगाएको बताइएको छ । नेपाली नम्बर प्लेट भएको मोटरसाइकल प्रवेश माथि रोक लगाउन अग्रिम कुनै सूचना वा जानकारी समेत भारतीय पक्षले नेपाली पक्षलाई गराएन ।

दुई देशका सरकारबीच सन् १९६० भएको सम्झौता अनुसार नेपाली गाडीहरूको लागि (भारतीय सीमा बजार वा रेल्वे स्टेसनसम्म) जान पाउने भनिएको छ, त्यसमा कुनै ‘परमिट’ चाहिँदैन । भारतीय सीमा बजार वा रेल्वे स्टेसन बाहेकको दूरीसम्म जाने, भारतमा एकदिन वा त्यसभन्दा बढी बस्ने नेपाली सवारीसाधनले भारतीय दूतावास, काठमाडौं वा महावाणिज्य दूतावासबाट वाहन अनुमति लिनुपर्छ भनी लेखिएको छ । तर, गलगलिया भन्सार कर्मचारीले सन्धि विपरीत नै मोटरसाइकल माथि रोक लगाइ दिएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ ।

सन्धि विपरीत भारतीय सीमा बजारसम्म जाने मोटरसाइकललाई समेत रोक लगाएपछि सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भद्रपुरका डीएसपी श्यामसंगति महर्जन र वडा प्रहरी कार्यालय भद्रपुरका सन्तोष बुढाथोकी, पत्रकारसहितको टोलीले गलगलिया भन्सारका सुपरिटेन्डेन्ट उमेश कुमारलाई गएर कार्यालयमै भेटेका थिए ।

भन्सारका सुपरिटेन्डेन्ट कुमारले भन्सार हेडक्वार्टर पटनाले सबै मोटरसाइकल माथि रोक्न लगाउनु भनेको तर आधिकारिक पत्र भने नपठाएको बताएका थिए । हेडक्वाटरले भारतका महावाणिज्य दूतावास वीरगञ्जले पठाएको पत्र नै इमेल गरी दुई दिनअघि पठाएपछि त्यसलाई कार्यान्वयन गर्दै मोटरसाइकल माथि रोक लगाएको उनले बताए ।

यसबारेमा हेडक्वार्टरमा कुरा गरी छिट्टै मोटरसाइकल आगमनलाई सहज बनाउने उनको भनाइ छ । तर, महावाणिज्यको पत्रको बुँदाहरूमा प्रस्ट लेखिएको छ कि भारतमा एक रात बस्ने परमिट नभएका सवारीसाधनमाथि कडाइ गर्नु, नजिकैको बजार वा स्टेसनसम्म जाने नेपाली सवारीसाधनमाथि दुई देशबीच भएको सन्धि बमोजिम यो कार्यान्वयन नगर्नु भनिएको छ । महावाणिज्यले सात वटा बुँदा उल्लेख गरी सो पत्र भन्सार प्रमुख आयुक्त हेडक्वार्टर पटनालाई जुलाई ३ तारिखमा पठाएको थियो ।

यता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने भद्रपुर नाकामा भारतीय पक्षले मोटरसाइकल प्रवेशमाथि रोक लगाएको बारेमा जानकारी नआएको बताएका छन् । ‘अब जानकारी पाइयो’ –प्रजिअ पोखरेलले भने– ‘यसबारेमा सम्बन्धित निकायसँग तत्काल कुराकानी गरी उत्पन्न समस्यालाई सहजीकरण गर्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here