पैसा माहात्म्य

0
68


साटासाट गरेर वस्तु क्रमशः निर्वाह गाह्रो भयो
के होला यसको विकल्प सजिलो ? पैसा अनौठो भयो
लोहा, पित्तल, काँस, ताम्र, सुनका सिक्का र ‘नोटले’ पछि
त्यै गाह्रो ‘डिजिटल्’ चलेछ अहिले ‘बैंकिङ’ घरैमा बसी ।

पैसाको पहिले सुकार्य बहुतै किनबेचको माध्यम
चौपाया, कपडा र तेल, मसला मीठा सबै व्यञ्जन
पूरा देश चलाउने कति थरी यी कर्मचारीहरु
रक्षा शान्ति गराउने मुलुकमा सेना ‘पुलिस्’का अरु ।

पैसाकै भरमा त चल्छ सब यो पैसा दिई काममा
जान्छन् देश–विदेश घुम्न बढिया पैसा हुने धाममा
ठूला यज्ञ गरेर शान्त मनले दानादि गर्थे अति
चौतारी पुल घाट किर्ति रहने निर्माण गर्थे कति ।

त्यै पैसा अहिले भयो जगतमा पापी घमण्डी कति
लाग्यो गर्न अभद्र कर्म घटिया छाडेर आफ्नो मति
देशै बेच्न खटाउने बखतमा काटेर टुक्रा गरी
चेली भोग्न खटाउने नरकमा मारेर फ्याँक्ने गरी ।

डिट्ठा हाकिम किन्छ, किन्छ प्रहरी अड्डा छ पैसामय
यसले सांसद किन्छ, किन्छ सजिलै मन्त्री र न्यायालय
सेतो शुद्ध कपास देख्छ, तर यो कालो छ यो भन्दछ
कालो शुद्ध अँगार हो, तर कतै सेतो छ यो भन्दछ ।

पैसा होस् घरमा कमाइ बढिया मान्छे सबै दाहिना
पैसा छैन कमाइ रत्ति घरमा अर्धाङ्गिनी डाइना
पैसा साधन मात्र हो, मनुजको यो साध्य कैले भयो ?
यसलाई यदि साध्यमा बुझ्नु भो बर्बाद मान्छे भयो ।

(शार्दूलबिक्रीडित)
बिर्तामोड–५, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here