सुन उवाच…

0
98

वरिपरि व्यस्त मानिसहरु छन् । त्यही छेउमा सामानहरु लोड भएको धेरै वटा ट्रलि छन् । मलाई त्यही मध्ये एउटा ट्रलिमा ल्याएर यो काउण्टर अगाडि राखिएको छ । आखिर कति बेर बस्नु म यहाँ । यी गुइँठेहरु मलाई चेकजाँच गर्न उभ्याएका होलान् । अहो अत्याधुनिक नयाँ भर्सनको स्क्यानर मेशिन जडान गरिएको रहेछ त अहिले यहाँ एयरपोर्टमा । गज्जब हेर्दा पनि । तर, म पनि हेरुला के चाहिँ कैफियत निकाल्दोरहेछ यहाँको मेशिनले ।

अर्बांैको डिल र नेगोसिएसन कस्ता–कस्ता व्यक्तिसँग सम्पर्क गरेर इज्जतका साथ यहाँ आइपुगेको छु । यी झारपातहरु मलाई रोक्ने दुस्साहस गरिरहेका छन् । यो नेपालको खाडीमा मलाई दोष लाउन सक्ने एकजना मात्र असली सपूत निस्कियोस् त मेरो नाम परिवर्तन गरेर लसुन राखिदिन्छु । हेर न हेर यहाँका कर्मचारीहरु कति अल्छी । मलाई उता हङकङमा सहजभित्र प्रवेश दिएको थियो । मेरा साहुहरुले सबै डिल गरेर बल्ल नेपाल पठाएका हुन् । तिमीहरुलाई सजिलै हात आउँछु लागेको होला, तर मेरो सञ्जाल कत्रो छ तिमीहरुलाई हेक्का पनि छैन ।

हङकङमा मेरो मालिक सान्टिङ्ग जिनपाईसँग नेपालबाट केही हप्ता अगाडि मात्र भेट्न पुगेका सल्होत्रा र इडुकिइले केही बर्षका लागि नेपालकै ठूलो सुन डिलिङ्गमा सहमती गरेर फर्केका थिए । मलाई थाहा हुँदैन थियो सायद । तर, जिनपाइसँग एउटा नमूना हेरौं भनेर उनीहरुले मगाएपछि मलाई एउटा सुनको प्लेटमा राखेर उनीहरुको मिटिङ्ग भएको गोप्य कक्षमा लगेर नमूना हो भनी देखाइएको थियो । ९९९ सुन मार्क गरेको मेरो शरीरमा उल्टाई–पल्टाई हेर्दै सल्होत्राले मलाई पुनः त्यही प्लेटमा राखेका थिए । म त्यस कक्षको छेउको टेबलमा उत्तानो परेर लडेको थिए अनि मेरो विभिन्नखालका गोप्य वार्ता उनीहरु बीच भएपछि डिल फाइनल गरेका थिए । उनीहरु बीच हङकङबाट नेपाल कसरी सुन पु¥याउनेदेखि लिएर पेमेन्ट सिस्टम र अन्ततः भारत निकाशी कसरी गर्न सकिन्छ भन्ने बिषयमा निकै लामो छलफल चलेको थियो ।

सान्टिङ्ग जिनपाई आफूले हङकङ एयरपोर्टमा दाखिला गरेर सुन निष्कासन गर्न गाह्रो नरहेको बताएका थिए । उनी भन्दै थिए– ‘नेपाल सुन पठाउन वा अन्य देश पठाउन मलाई गाह्रो छैन, तर तपाईहरुको देशको सिस्टम वा एयरपोर्टमा तपाईहरुको पकड हुन भने जरुरी छ ।’ सल्होत्रा प्रति प्रश्न गर्दै भन्दै थिए– ‘जिनपाई जी तपाईको जसरी पकडमा यहाँको एयरपोर्ट छ भन्नुभयो त्यसरी नै मेरो पकडमा सिसिटिभीदेखि अनेकन शाखाहरुमा काठमाडौंको विमानस्थलमा पकड छ । पहुँच र पकड नभएको भए हामी सायद यहाँ आउँदैन थियौं ।’ सबै गललल हाँस्छन् अनि टेबलमा रखेको ह्वीस्कीको ग्लास उठाउँदै ‘चियर्स टु आवर न्यु एगृमेन्ट’ भन्दै ग्लास ठोक्याउँदै ह्वीस्की मुखमा हाल्छन् ।

इडुकिइले ह्वीस्कीको मजा आदि लिसकेर सोध्दै थिए– ‘जिनपाई जी तपाईं कसरी डेलिभरी गराउनु हुनेछ नेपाल ?’ हामी त्यही बिषयमा चिन्तित छौं ।’ ‘अरे इडुकिइ जी तपाईं के चिन्ता लिनुहुन्छ सल्होत्रा जी सँग मैले यो बिषयमा मास्टर प्लान सुनाइ सकेको थिए । भन्नु भएन सल्होत्रा जी ?’ जिनपाई सल्होत्रातर्फ हेर्दै प्रश्न तेर्साउँछन् ।

सल्होत्रा आफूले खाइसकेको ह्वीस्कीको ग्लास टेवलमा राख्दै फेरि अर्को प्याक बनाउन ह्वीस्कीको बिर्को खोल्दै भन्छन्– ‘हाम्रो देशमा धेरै कुरा आयात गर्न मिल्छ ईडुकिई तपाईलाइ थाहा नै छ । रबर, बेल्ट, मेटल आदि धेरै कुरा नेपाल जान्छ हामी पनि त्यस्तै बिषयमा केही रोचक गर्न खोजौला । हुँदैन र ?’ ग्लासमा ह्वीस्की भरिन लाग्दा आफ्नो कुरा सकाउँदै सलहोत्रा चियर्स गर्ने शैलीमा इडुकिई तर्फ देखाउछन अनि उनको उत्तरको प्रतीक्षा गर्छन् ।

इडुकिई नेपालका ठूला व्यापारी जसले विभिन्न समयमा इम्पोर्ट एक्सपोर्टको काम गर्दै आएका छन् । इडुकिईले नेपालमा जति सामान इम्पोर्ट गरे पनि सुनको डिल गर्न निस्केको चाहिँ पहिलो पटक थियो जस्तो लाग्छ । किनकि उनीहरु बीचको गफगाफमा म सुनिरहँदा इडुकिई मात्र पूर्ण विश्वस्त देखिँदैन थिए । इडुकिई मौन बसेको देखेर मल्होत्रा विश्वास जगाउँदै भन्छन्– ‘अरे मित्र तपाई के चिन्ता लिनु हुन्छ यो सब यहाँबाट हामी सहजै आयात गर्न एउटा नयाँ कम्पनी खोलिसकेको छु मैले ।

‘नयाँ कम्पनी ? अनि के नाम मित्र । मलाई थाहा दिनुभएन त ?’ इडुकिई अचम्म सम्झँदै प्रश्न गर्छन् । ‘के नाम र कम्पनिको धनी को भन्ने म चिन्दिनँ मित्र, तर हाम्रो सुन यदि समातियो भने पनि कोही अर्कै फस्छ । सबैको सेटिङ्ग गरिसकेको छु । तपाईं ढुक्क हुनुहोस् अनि नेपाल बसेर सुन आयात गर्नुहोस् ।’ सल्होत्रा निर्धक्क बन्न सम्झाउँदै भन्छन् ।

म चुपचाप लागेर त्यही टेबलमा सुतेर सुनिरहँदा उनीहरु अनेकौं कुरा गर्दै नेपालको भ्रष्टाचार र अनियमितताले गर्दा जे पनि गर्न सकिने बताउँदै जिनपाइसँग गफ गर्छन् । सल्होत्रा भन्दै थिए– कुनै बेलाको प्रख्यात अपराधी चाल्र्स सोभराजले नेपालको विमानस्थल र अध्यागमन अनि भन्सार हेरेपछि भनेका थिए रे– ‘नेपालको एयरपोर्टमा मैले चाहे भने सुनको हात्ती पनि छिराइदिन सक्छु ।’ इडुकिई ‘अविस्वासनीय’ भन्दै आफ्नो अन्तिम प्याकको चुस्की लिन्छन् । जिनपाईले यत्तिकैमा पेमेन्ट गर्ने प्रक्रिया, सिपमेन्ट आदिको बिषयमा कुरा गर्दैगर्दा आफ्ना पिए एवम् सहयोगीलाई बोलाएर काम अह्राउँछन्– ‘ए लिन्चाङ त्यो सुन लगेर हाम्रो स्टोरमा राख अनि एक सय केजीको अर्डर पास गर है । यसपटक सुन ब्रेक पेडमा प्याक गर्न लगाउनु अनि माथि बाट ल्यापिङ्ग चाहिँ रबरको गर्नु भन्नु ।’

‘हस सर । कहिलेको डेलिभरी गरौं ?’ –पिए सोध्छन् । सल्होत्रा ‘तीन दिनपछि’ भन्दै अनुरोध गर्छन् अनि उनीहरु त्यहाँबाट बाहिरिन्छन् । मलाई भने स्टोर रुममा लगेर राखिन्छ अनि विभिन्न चरणका साथमा मेरा अन्य साथीहरुसँग प्याकिङ गरी यहाँ पठाइएको छ । अनि म भने सानदार एसी रुममा बस्ने बानी भएको भए पनि अहिले यस भन्सार चेकजाँचमा नेपालको गर्मी खादै बस्न परेको छ । बल्ल पालो आए जस्तो लाग्यो ।

म नियालिरहेछु यस भन्सारमा मलाई अत्याधिक एक्सरे मेशिन माथि राखे पनि मेरो माथि लगाइएको रबर ल्यापिङले उनीहरु सुन हो भन्ने पत्ता लाउन सक्दैनन् विचरा । ऊ त्या हेर न त्यो कर्मचारीको घाँटीमा मरिसकेको एउटा सुनको सिक्री रहेछ । हुन त त्यो कम तौलको सिक्री लगाएकाले एक सय केजी ब्रेक शु हेर्दा पनि कसरी पो सक्कली सुन हो भन्ने होलान् । हात थर्थर काप्दो होला यति अनुपातमा सक्कली सुन भएको चाल पाए भने पनि । कठै माया लागेर आयो ।

मलाई स्क्यानर मेशिनमा हालिरहँदा बिप साउण्ड गर्दै एक–दुई पटक मेशिन बजेपछि वरिपरिका गार्ड अनि अन्य कर्मचारी मेरो कार्टुनमा हेर्दो भए । त्यही बखत फोन बज्यो अनि त्यहाँको स्क्यान मेशिन अगाडि उभिएका कर्मचारी फोन उठाउन साथ निहुरेर स्क्यानर मेशिनको एउटा तार अनप्लग (निकाले) गरे । अनि मेशिन बज्न छाड्यो । उनीहरुको मेशिनमा कैफियत नदेखिएपछि म लगायत मेरा साथीहरुलाई त्यहाँबाट स्टोरमा पठाइयो ।

सबै रिपोर्ट क्लियर भएपछि मलाई राखिएको ठाउँमा एक दिनपछि आएका थिए सल्होत्रा र इडुकिई हेर्नलाई । उनीहरुको मुहारको खुशी हेर्न लायक थियो । उनीहरुको हाँसोमा उनीहरुको जित थियो । भन्सार छली र राजश्व छली गर्न सकिएकोमा उनीहरुको वीरता थियो । जे होस् उनीहरुले यस सिस्टमको धज्जी उडाएका थिए । नेपालको अध्यागमनमा अनियमितताको प्रश्न चिन्ह जगाएका थिए । सुधार गर्न एकजना हटाए पो सम्भव हुनु यहाँ त पूरा बटालियन नै सलहोत्राको पक्षमा देखिएको छ । त्यसैले पनि म उनीहरुको हाँसोमा मौन समर्थन जनाएर त्यही कार्टुनभित्र बस्न बाध्य भएको छु ।

मलाई थाहा छैन अब यहाँ स्टोरबाट हामीलाई कहाँ–कहाँ पु¥याउँछन्, तर छ्यास्स सुनेको थिए मेरा धेरै साथीहरु भारत निकासी भएका छन्, अधिकांश नेपालका सुन पसलमा कैद छन् । कालो धनलाई सेतो बनाउनलाई सुन राख्नेको संख्या भारतमा बढदो भएको छ । मैले सुनेको त्यसैले पनि भारतीय मुद्रामा ह्रास आएको छ । नेपाली मुद्रा बलियो बनेको छ । दैनिक आउने एक क्विन्टल सुन साट्न भारतबाट अर्बांै बराबरको भारतीय मुद्रा नेपाल भित्रिएका छन् ।

सायद जिनपाई जस्ता व्यापारीहरुको व्यापार फस्टाएर होला । अथवा सल्होत्रा र इडुकिई जस्ता व्यापारीले राष्ट्रिय सुरक्षालाई चुनौति दिँदै अर्बौंको भन्सार एवम् राजश्व छली गरेर देशमा ब्रह्मलुट मच्चाएर आनन्द मनाइरहेका छन् । म निर्जिव भएर त यति महशुस गर्छु भने नेपालमा सत्तामा भएका र सिस्टममा बसेकाहरु मजाकका पात्र बनेर देशमा चुहावट गरिरहेका छन् । जे होस् बुद्धको जन्मभूमिमा अशान्ति र लुटको व्यापार नफस्टाओस् । यसलाई तराई जाने गाडीमा हाल त । ‘कोही म राखिएको कार्टुन उठाउँदै अर्डर दिँदै थियो । म भने आफूमा कम्पन भएको महशुस गरिरहेको थिए ।
‘ए लौ न यिनिहरुले मलाई अब कहाँ पु¥याउने हुन म लागे ।’ गाडी स्टार्ट भएको आवाज आयो अनि म अन्जान गन्तव्यतर्फ अघि बढ्दै थिए । यत्तिकैमा एफएममा गीत बजिरहेको थियो ।

‘सुन हराएको देशमा लसुन खोजिरहेछन् ।
तस्करहरुले यहाँ सुनको मनसुन खोजिरहेछन्…’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here