गगन शिवसताक्षी र विश्वप्रकाश अर्जुनधारामा

0
48

दूधे ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका पार्टीका प्रभावशाली नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा झापा आउने भएका छन् ।

नेपाली कांग्रेस शिवसताक्षी र अर्जुनधारा नगरको ऐतिहासिक प्रथम नगर सम्मेलनको उद्घाटन गर्न सांसद समेत रहेका थापा र शर्मा झापा आउने भएका हुन् ।

नेपाली कांग्रेस शिवसताक्षी नगरका सभापति अशोक बस्नेतका अनुसार भदौ ३ गते आइतबार दूधेस्थित आदिवासी जनजाति सामुदायिक भवनमा नेपाली कांग्रेसको ऐतिहासिक प्रथम नगर सम्मेलन उद्घाटनका लागि पार्टीका महामन्त्री थापा आउने निधो भएको हो ।

उता अर्जुनधारा नगरपालिकाको कार्यक्रममा भने पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मा आउने नेपाली कांग्रेस झापाले जनाएको छ । अर्जुनधारा नगरको कार्यक्रम भने भदौ ४ गतेका लागि तय भएको छ ।

पार्टीको सुदृढीकरण अभियानमा लागेका महामन्त्री थापाले शिवसताक्षी नगरको पार्टीका सबै तहका नेता–कार्यकर्ता, क्रियाशील सदस्य, पार्टीप्रति आस्था राख्ने सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको सभापति बस्नेतले बताएका छन् । महामन्त्री आउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले जनाएको छ ।

नेपाली कांग्रेस झापाले पनि पार्टीका महामन्त्री द्वय गगनकुमार थापा शिवसताक्षी र विश्वप्रकाश शर्मा अर्जुनधारा नगरपालिकामा स्थानीय पार्टी समितिले आयोजना गरेको प्रथम नगर सम्मेलन भब्य रुपमा सफल बनाउन पार्टीका नेतृत्वलाई निर्देशन दिएको छ ।

कोशी प्रदेशभित्र उपलब्ध केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, कोशी प्रदेशका पदाधिकारी तथा सदस्य, सांसद्, पूर्व सांसद्, पार्टीको झापा जिल्ला पदाधिकारी तथा सदस्य, क्षेत्रीय समिति पदाधिकारी तथा सदस्य, पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, नगर समितिका पदाधिकारी तथा सदस्य, वडा समिति, क्षेत्रीय प्रतिनिधि साथै शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिसहित पार्टीको भातृ संगठनका सबै तहका नेतृत्व तथा सदस्यलाई उपस्थित हुन निर्देशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here