वेरोजगारी

0
65


सूर्य नउदाउँदै जुन अस्ताएको भए
भोको बस्नु पर्दैनथ्यो
गरीब भएर न्याउरो मुख लगाउँदै
भरिया झैं अस्सी केजीको
बोरा बोक्नु पर्दैनथ्यो
पेट भर्न दुःख र वेदनामा खुशी साट्न
शरीरका अङ्ग बेच्नु पर्दैनथ्यो
हेरन, हिजोआज कालाबजारी बढेर
मेरो खल्ती खाली छ
त्यसैले सबैले मेरो शरीरको
दाम मात्र सोध्छन् ।

तर,
न म दलाली न व्यापारी न भ्रष्टाचारी
न करोडौंको मालिक न वेश्यावृद्धि गर्ने उमेर
म त दश नङ्ग्रा खियाएर
पेट पाल्ने मान्छे पत्याउँदैनन् कसैले
म बस्ने झुपडी चुहिन थालेको छ
न त पराल, न टिन किन्ने पैसा नै छ
जसले जे दिन्छ खाइ दिन्छु, लगाइदिन्छु ।
सधैँ घेरेको छ वेरोजगारी, व्यापारीलाई
मौन आँखाले प्रश्न गर्छन्
के छ तेरो अस्तित्वर हैसियत
हराएका सपनामा ढुलमुलीन्छु
अनि जीवनको अस्तित्वको अर्थ
खोज्न मन लाग्छ ।

तिम्रो परिचय दिनु पर्दैन होला ?
प्रश्न माथि प्रश्न मात्र हुन्छ
अनि मेरा आँखाहरु भौतारिरहन्छन्
तिमी धर्तीको हरियाली
म खडेरी ग्रस्त बस्तीमा
स्वभिमानको मृत्यु पर्खेर
भारी बोक्न बसेको वेरोजगारी
ठग लुटेराले इशारामा चलाउँछौं
म त गन्तव्यमा पुग्न असमर्थ भएको
अनिश्चित यात्री
तर पनि म भन्छु सबै वेरोजगारी ।

तिमीलाई थाह छ
जबसम्म इमान्दारिता रहन्छ
उसले बैमानी गर्ने मौका पाएको हुँदैन
त्यहीबीचमा हामी छौं
चिन्तन र चेतनाको फरक
समृद्धिको उपज
कानून र विधेयक त
पहिला नै बनेको थियो
हामीबीच चिनजान थिएन
मैले तिमीलाई रोजगारीको उपज
ठानेर अगाडि बढ्न खोजे
कस्तै खडेरीमा पनि
एउटा बोझ बोकेर हिँडेको छु
वेरोजगारी साच्चै बुझ्न गाह्रो
निःशब्द मुटुको
ढुकढुकीभित्र हराउन खोज्दैछु ।

कस्तो हो यो सधैँ अशान्ति
खान नपाएर असन्तुष्टि मन
पाएर पनि नअघाएको
अतृप्त कर्तव्यमा पक्षपात हुनेगरी
मान्छेको भीडमा पागल झैं
आधा पेट बोकेर हिँडेकालाई सोधे
भोकै अनिदै मर्नुपर्ने किन ?

शरीरमा सिँचाइ गर्नु
जन्मभूमिलाई पराई नसम्झनु
आफ्ना पुर्खाको आँशु सम्झनु
गट्टी खेल्ने सखीहरुको याद गर्नु
मुटुको घाउ कोट्याउँदै
पढेको छु भनेर अनेकौं
अफिसको ढोका ढकढक्याउनु
चटानमा एक बोरा दुःख बिसाउनु
लड्न लागेको मान्छेलाई
पहरा दिनु भनेर सम्झाउँछु पनि ।

आकाशमा जुन चम्केको देख्छु
अनि मेरो हृदयको कुनामा अलिकति
रोजगारको आशा पलाउन थाल्छ
परदेश जाने चिठी
अनि स्तब्ध रातसँगै मीठो सपनामा
हराएको बेला तिमीसँग मेरो भेट भयो
रात शान्त शरीरमा थकान त हुन्छ नै
विस्तारै बत्ती मधुरो हुँदै जान्छ,
अनि आँखा बन्द बिस्तारामा बर्बराउँदै
वेरोजगारीलाई सलाम कुरा बुझेर पनि
बुझ्न नचाहनेहरुलाई सलाम !

– बिर्तामोड, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here