बाँदर आतङ्क क्षेत्रमा ‘बेसार खेती

0
25

तनहुँ,

कृषि ज्ञान केन्द्रले बाँदरको आतङ्क भएका क्षेत्रमा वैकल्पिक बालीका रुपमा बेसार खेतीलाई प्राथमिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताएका क्षेत्रमा कृषकलाई वैकल्पिक खेतीका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्न प्रोत्साहन गरिएको हो ।

व्यास नगरपालिका–८ सोतिबेसीका २० कृषकहरुले दुई सय रोपनी क्षेत्रफलमा बेसार खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

कृषकलाई ८५ प्रतिशत अनुदानमा रु चार लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष परीक्षणका रुपमा खेती सुरु गरेकाले आउँदा वर्षमा क्षेत्र विस्तार गर्दै लैजाने योजना रहेको छ ।

कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक बेसारको बीउ खरिदका साथै कृषकहरुले बेसार राखेर उमाल्ने ड्रम, कुटनीपिसानी गर्ने मेसिन, प्याक गर्ने मेसिन लगायतका सामाग्रीसमेत खरिद गरिसकेका छन् । समूहमा आबद्व सदस्यहरुले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात् धोइपखाली गरी उमाल्ने, कुटनीपिसानी गरेर लेबल टाँस गरी जैविक रुपमा बिक्री गर्ने छन् ।

नगरपालिका कार्यालयले व्यास–३ अनसन चौतारी नजिक निर्माण गरेको कक्षमा ल्याएर कृषकले बिक्री गर्नका लागिसमेत व्यवस्था मिलाइएको छ । उत्पादित वस्तुलाई स्थानीय, प्रदेश र संघीय गरी तीन वटै सरकारको सहयोगमा प्याक गरेर बाह्य देशमा निर्यात गर्न सकेको अवस्थामा कृषकहरुको आयआर्जनमा सुधार हुने जनाइएको छ ।

कार्यालयले कृषकलाई जग्गा बाँझो नराख्न र आयआर्जन गरी आत्मनिर्भर बनाउन बेसार (हलेदो) खेती प्रवद्र्धन कार्यलाई प्राथमिकता दिएको हो । उत्पादन भएका वस्तु स्थानीय बजारमा बिकेन भने पनि तीनवटै तहका सरकारले सहजीकरण गरी बिक्री वितरण कार्यमा सहयोग गरेको अवस्थामा कार्यक्रम अझ प्रभावकारी हुन सक्ने उहाँले बताउनुभयो ।

त्यसैगरी व्यास–१३ मा ६० रोपनी क्षेत्रफलमा २० क्विन्टल बेसारको बीउ लगाइएको छ । कृषि ज्ञान केन्द्रको ८५ प्रतिशत अनुदानमा बेसार पिस्ने मेसिनसहित रु दुई लाख ५० हजार विनियोजन गरेको दोभान जैविक कृषि सहकारीका शेयर सदस्य यामबहादुर आलेले जानकारी दिनुभयो । बेसार लगाएको तीन महिनासम्म पानी नपरेर खडेरी पर्दा पनि राम्रोसँग उम्रिएर अहिले बोट हेर्न लायकका बनेकाले उत्पादन पनि राम्रै हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here