लापसे गरेर सवारी चलाउने बढे, कहिले मर्मत होला बिर्तामोडको सीसी टीभी र सडक बत्ती ?

0
37

नरेन्द्र ढकाल,
बिर्तामोड ।

पछिल्लो समय लागूपदार्थ सेवन गरेर सवारी चलाउनेको संख्या बढ्दै गएको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चेकजाँच तथा मादकपदार्थ तथा लागूपदार्थ सेवन सम्बन्धी चेकजाँच अभियान शुरु गरेसँगै लागूपदार्थ सेवन गरेर सवारी चलाउनेको संख्या बढेको पाइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले असार १२ गतेबाट शुरु गरेको लागूपदार्थ सेवन चेकजाँच कार्यक्रम अन्तर्गत हालसम्म ११ जना सवारी चालकलाई लागूपदार्थ सेवन गरेको आरोपमा कारवाही गरिएको जनाइएको छ ।

ट्राफिक प्रहरीले काँकरभिट्टा, बिर्तामोड, दमक, धुलाबारी लगायतका विभिन्न स्थानमा समय–समयमा लापसे चेकजाँच गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सहायक प्रहरी निरीक्षक याम खड्काले जानकारी दिए । उनका अनुसार २१ जना सवारी चालकमा गरिएको चेकजाँचका क्रममा ११ जनामा लागूऔषध प्रयोग पोजेटिभ देखिएको छ । तीमध्ये आठ जनालाई लागूऔषध सम्बन्धी मुद्दा चलाइएको सहायक प्रहरी निरीक्षक खड्काले बताए ।

मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्दा दुर्घटना बढेको पाइएसँगै ट्राफिक प्रहरीले लापसे चेकजाँचलाई पनि तीव्रता दिएको सहायक प्रहरी निरीक्षक खड्काले बताए । लागूऔषध प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढेसँगै अपराधका घटनामा समेत वृद्धि भइरहेका बेला लागूऔषध तथा मादकपदार्थ सेवन गरेका युवाले प्रहरीमाथि नै आक्रमण गरेका छन् । सवारी चेकजाँच तथा मापसे र लापसे चेकजाँच गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी इञ्चार्ज प्रहरी निरीक्षक युवराज कटुवालमाथि बिहीबारसाँझ बञ्चरो प्रहार भएको छ ।

सादा पोशाकमा रहेका कटुवालले शिवसताक्षी–९स्थित सडकमा तीन जना सवार मे४प २७५१ नम्बरको मोटरसाइकल रोकेका थिए । मोटरसाइकलमा पछाडि सवार ३६ वर्षीय अशोक पोखरेलले उनीमाथि बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए । टाउको र हातमा चोट लागेका प्रहरी निरीक्षाक कटुवालको बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

वञ्चरो प्रहार गर्ने पोखरेलसहित मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ र पछाडि सवार ३३ वर्षीय लक्ष्मण टुडूलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरुले मादकपदार्थसँगै लागूपदार्थ सेवन गरेको पाइएको छ । लागूऔषध सेवन गरेर सवारी सञ्चालन गर्दा अपराधका घटनामा वृद्धि हुनुका साथै दुर्घटनामा समेत वृद्धि हुने गरेको प्रहरीले जनाएको छ । प्रहरीले जनचेतनामूलक कार्यक्रम र कारवाही अभियान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी रिजालले जानकारी दिए ।

बिर्तामोडका १९ सीसी क्यामेरा बिग्रिए

इलाका प्रहरी कार्यालय अनारमनी अन्तर्गत एक सय ३० वटा सीसी क्यामेरा जडान गरिएको थियो । अपराध न्यूनीकरणका लागि भन्दै प्रहरी, स्थानीय तथा विभिन्न संघ–संस्थाको पहलमा बिर्तामोडमा सीसी क्यामेरा जडान गरिएको थियो ।

सीसी क्यामेराको उचित मर्मत सम्भार नहुँदा १९ वटा सीसी क्यामेरा बिग्रिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए । जनघनत्व बढ्दै गएको बिर्तामोडमा अपराधका घटना समेत बढेसँगै अपराध अनुसन्धानमा सहज हुने उद्देश्यले विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिए पनि त्यसको संरक्षणमा ध्यान नदिँदा क्यामेरा बिग्रिएका हुन् ।

यसैबीच सीसी क्यामेरा मर्मसम्भारका लागि नगरपालिकाले बजेट विनियोजन गरेको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए । उनले गत आर्थिक वर्ष ०७९/०८०मा बजेट नभएको तथा चालू आर्थिक वर्ष ०८०/०८१ का लागि सीसी क्यामेरा तथा सडक बत्ती मर्मरसम्भारका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । उनले बजेट कार्यान्वयनमा आउने बित्तिकै पहिलो प्राथमिकतामा राखेर सीसी क्यामेरा मर्मत तथा सडक बत्ती मर्मतको कामलाई अगाडि बढाउने बताए ।

उनले कनकाई नगरपालिकामा जस्तै मासलाइट जडानका लागि आवश्यक छलफल तथा परामर्श भइरहेको बताए । पूर्वाञ्चलसँग कुरा गर्दै उपप्रमुख संग्रौलाले भने– ‘मासलाइट आवश्यक भए पनि अहिले तत्कालै बजेट नभएको तथा सडक बिस्तार प्रक्रियामा रहेकाले मुख्य राजमार्गका क्षेत्रमा मासलाइट जडान अहिले सम्भव छैन ।’ उनले आवश्यक बजेट भएमा यो कामलाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गरे ।

चोरीका घटनामा वृद्धि

पछिल्लो समय बिर्तामोड क्षेत्रमा चोरीका घटनामा वृद्धि भएको पाइएको छ । इलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापामा दैनिकजसो चोरीका घटनाको उजुरी पर्ने गरेको छ ।

चोरी गर्ने समूहले ग्यास सिलिण्डरदेखि पानी तान्ने मोटर लगायतका सामग्रीहरु समेत चोर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । लागूऔषध सेवन गर्नेहरुले चोरीका घटना गराइरहेको प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्ताले आफूलाई लागूपदार्थ सेवन गर्न रकम आवश्यक भएपछि झर्के थालदेखि ग्यासका सिलिण्डरसम्म चोर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रिजालले जानकारी दिए ।

दैनिकजसो लागूऔषध प्रयोगकर्ता तथा कारोबारी पक्राउ गरे पनि यो संख्यामा कमी आउन नसकेको उनले बताए । उनले भने– ‘प्रहरीले दैनिकजसो लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ गरिरहेको छ । तर, खुल्ला सीमानाका कारण यो संख्यामा कमी आउन सकेको छैन ।’

बिर्तामोड क्षेत्रमा चोरीका घटना बढेको भन्दै आफूहरुले प्रहरी प्रशासन र नगरपालिकालाई जानकारी गराइसकेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । उनले वाणिज्य संघले केही समयअघि मात्रै विभिन्न १३ बुँदे मागहरु राखेर बिर्तामोड नगरपालिकालाई ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

चोरी नियन्त्रण, सीसी क्यामेरा मर्मत, सडक मर्मत, फोहोर व्यवस्थापन लगायत व्यवसायीको सुरक्षाको विषयहरु समेटिएको ज्ञापन–पत्र नगरपालिकालाई बुझाइसकेको बताउँदै अध्यक्ष शिवाकोटीले सात दिनभित्र आफूहरुको माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । उनले बिर्तामोडका विभिन्न क्षेत्रका मानिसहरुको आवात–जावत हुने भएकाले यहाँको सुरक्षाको विषयमा सबै निकाय संवेदनशील बन्नुपर्ने धारणा व्यक्त गरे । उनले सीसी क्यामेरा र सडक बत्ती नहुँदा चोरीका घटनामा वृद्धि भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here