सामाजिक सद्भाव कायम होस्

0
27

मन्दिरको सामुन्ने चर्च बनाएर विवादमा आएको धरानमा गोवंश हत्याको विषयले सामाजिक सद्भाव भड्किने जोखिम बढेको छ । यस्ता विषय र घटनाले नेपाली समाजमा शदिँयौंदेखि रहेको एकता भङ्ग हुने र समाज विखण्डनको शिकार हुने डर पनि बढाएको छ । अनेकतामा एकता नेपालीको विशेषता हो भनिन्थ्यो तर आज यही विशेषता विश्रृंखल हुन थालेको अनुभव गर्नुपर्ने भएको छ । जातीय, सांस्कृतिक, भाषिक एवम् धार्मिक विविधताका बीच पनि एकअर्काप्रति सद्भाव र सम्मान प्रकट गर्ने नेपालीको विशिष्टतालाई कुन तत्वले कमजोर पार्न थालेको हो त्यसको सूक्ष्म अनुसन्धानपछि दीर्घकालीन समाधान खोज्नु राजनीतिक दलहरुले नै समन्वयात्मक अग्रसरता लिनु पर्दछ ।

पछिल्लो समय धर्म निरपेक्ष राज्य घोषणा भएपछि नेपालमा वैदिक सनातनीहरुका आस्था र धरोहरमाथि प्रहार हुन थालेको टिप्पणी हुने गरेको थियो । लोभ, आशा र आकर्षण देखाएर, गरिबी र अभावको अनुचित फाइदा उठाएर धर्मान्तरण गर्न एउटा समूह सक्रिय रहेको आरोप लाग्दै आएको पनि हो । त्यस्तै टिप्पणी र आरोपका बीच जिम्मेवार र पदमा आसिन व्यक्तिले सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिएर परिस्थितिलाई अझ पेचिलो बनाउने गरेका छन् । संयम, धैर्य, सहिष्णुता, सम्मान र सद्भाव आजपर्यन्त नेपालीको पहिचान रहेको छ । यसलाई खण्डित होइन अझ सुदृढ बनाउनु आजको आवश्यकता हो । त्यसैले हाम्रा अगुवाहरुले जात, धर्म वा क्षेत्रका नाममा मिलेर बसेको नेपाली समाजलाई आफ्नो अभीष्ट पूरा गर्ने स्वार्थले लड्न प्रेरित गर्नुहुँदैन । बरु विश्वले गरेको प्रगतिबाट सिकेर नेपालीलाई उचित शिक्षा, स्वास्थ्य एवम् रोजगारीको अवसर दिएर विश्व समाजमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्छ ।

आफूहरुलाई जनजाति, संस्कृतिको संरक्षणमा लागेको अभियन्ता दाबी गर्ने केही व्यक्तिले सामाजिक सञ्जालमा गोरुको मासु खाँदै गरेको भिडियो राखेर विद्वेषको रोपण गरे । त्यही विषयलाई कुप्रचार गर्दै संविधान संशोधन गर्नुपर्ने पनि भन्न भ्याए । यद्यपि नेपालको संविधानको धारा ९ उपधारा ३ ले गाईलाई राष्ट्रिय जनावर उल्लेख गरेको छ । त्यस्तै मुलुकी अपराध (संहिता) ऐन २०७४, भाग २, परिच्छेद– २७ मा गाई–गोरु काट्न नहुने उल्लेख छ । यदि त्यसो गरिए दण्ड–सजायको भागिदार हुने भनिएको छ । संविधान र संवैधानिक व्यवस्थाका बर्खिलाप खुलेआम गाईगोरु काट्न पाउनुपर्छ, काटेर खायौं भन्नेहरुलाई प्रहरी–प्रशासनले सामाजिक विद्वेष र विखण्डन निम्त्याउने तत्वलाई राज्यले दण्डित गर्नुपर्छ । त्यसो गर्न प्रशासन चुक्यो भने, राजनीतिक दलहरुले तिनलाई संरक्षण गर्न लागे भने नेपाली समाजको एकता, जातीय तथा धार्मिक सद्भाव विखण्डित हुनेछ । त्यसले द्वन्द्व र हिंसालाई मलजल गर्छ भन्नेतर्फ स्थानीय तथा संघीय सरकार गम्भीर हुनुपर्छ । नेपाल र नेपालीको विकास र समृद्धि त्यही एकता, सद्भाव र एकअर्काप्रतिको सम्मानबाट मात्रै सम्भव हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here