पैसाको मुख रातो कि कालो

0
13

मलाई एकिन सम्झना त छैन । सम्झना भएसम्म पक्कै मेरा मुखबाट पैसा भन्ने भन्दा पनि पहिले चाचा भन्ने शब्द नै निस्क्यिो । त्यसपछि मात्र मैले बढ्दै जाँदा चाचालाई पैसामा रूपान्तरण गरेँ । हो कि होइन जस्तो लाग्छ मलाई चाचा भनेर तामाका पैसा खेलाएको । टोकेर र ढुङ्गा माथि राखेर ढुङ्गाले कुच्याएको । नचल्ने पुराना पैसा थिए ती । पछि सिलबरका पाँचपैसे दशपैसे निस्किए । ती पनि उसरी नै टोक्दै ढुङ्गाले किच्याउँदै खेल्थ्यौँ हामी । आफूभन्दा ठूलाले चाचा भनेर साना पैसा खेलाउँन दिन्थे । किचिए, फ्याँके, हराए पनि फरक नपर्ने । पाँचपैसे । दशपैसे । चाराना, आठाना आकलझुकल । कम्पनी त छुन पनि पाइँदैनथ्यो । एक रूपैयाँको कम्पनी हुन्थ्यो । एक रूपैयाँ त ठूलै पैसा मानिन्थ्यो त्यो बेला । केटाकेटीलाई बजार जाँदा एक रूपैयाँ, दुई रूपैयाँदेखि पाँच रूपैयाँसम्म खर्च दिने चलन थियो । पाँच रूपैयाँ त एउटा केटाकेटीले खर्च खाएर सक्दैनथ्यो । पहाडको दूरदराज औँशी, पूर्णे, पञ्चमीमा लाग्थ्यो बजार । एक रूपैयाँ पैसा मास्न पाँच घण्टाको बाटो हिँडेर बजार जानुप¥थ्यो । अहिले जस्तो घरैपिच्¥छे दोकान कहाँ थिए र त्यो बेला । एक रूपैयाँको कम्पनी सधैँ हातमा परेको भनेको निक्कै ठूलो भएर खोपी खेल्न थालेपछि हो ।

केही ठूलो भएर स्कूल जान थालेपछि बुवाले मलाई आफूले लाएका आसामी उठाउन गाउँमा पठाउन थाल्नुभयो । बुवाआमा सारै मेहनती हुनुहुन्थ्यो । आफूलाई खान लाउन पु¥याएर पनि थुप्रै अन्न बेचेर पैसा आर्जन गर्नुहुन्थ्यो । दुईचार माउ गाईभैंसी पालेका हुन्थे । घरमा दुहुना टुट्दैनथ्यो । दूध, दही, मही नबिक्ने । घिउ चाहिँ धरान ल्याउँन सके बिक्रि हुन्थ्यो । हामी बच्चा टिनमा घिउ भरेर बेच्थ्यौँ । कहिले नुन, तेल साटेर लान्थ्यौं । हाम्रोबाट पैसा हुनेले पैसा दिएर लान्थे अन्न । नहुनेले काम सघाएर लान्थे । खडेरी लाग्दा चार महिना पनि खान पुग्दैनथ्यो । माघ, फागुनदेखि नै अनिकाल लाग्थ्यो । जग्गाजमिन थोरै हुनेहरू सधैँजसो बेसाएर खान्थे । हाम्रोबाट पल्लो गाउँसम्म थुप्रै अन्न उधारोमा जान्थ्यो । कसैले छ महिनामा तिर्थे । कसैले वर्ष दिनमा त कसैले दुई–तीन वर्ष लाउँथे । हामीले अन्न पच्चिसा कहिल्यै लाएनौं । बुवा आ पच्चिसा लाउँनु हुँदैन । नहुनेलाई पच्चिसाले मार पर्छ भन्नुहुन्थ्यो । पच्चीसा भनेको अनिकालमा मुरी दिएर पच्चीस पाथी उठाउने चलन थियो । फागुन–चैतमा यसरी दिएको पच्चीसा प्रायः मंसीरमा उठाउने चलन थियो । माग्न आउने कसैलाई पनि खाली हात पठाउनु भएन । सके तिर्छन् नसके तिर्दैनन् । नहुनेलाई दिनुपर्छ । नहुनु जति सारो अरू केही होइन भन्नुहुन्थ्यो ।

उपल्लो गाउँबाट पनि हामीलाई सम्झेर आउँथे । हामीलाई कोलामुनि भन्थे । बुवालाई कोलामुनि कान्छो । कोलामुनि कान्छाकामा गएपछि खालीहात फर्कनु पर्दैन भन्थे सबै । मंसीरदेखि भाका राख्ने । कसैले त भाकामा दिन्थे । कसैले भाका नाघेर दिन्थे । कसैकामा चाहिँ वर्षौंसम्म धाइरहनुपर्ने । बुवाले मात्र नभ्याउने । आमा कहीँ निस्कनै नपाउने । घरमै आमालाई भ्याइ–नभ्याइ काम हुने । बेलुकै बुवाले मलाई भनेको हुन्थ्यो । भोलि चाहिँ बिहानै उठेर तँ ती फल्ना–फल्नाकामा जा है । झिसमिसे उठेर जानु नभए घरमा मान्छे भेट्दैनस् । भोलि दिन्छु भनेको छ । उनीहरूले दिएको भाकामा पुग्नुपर्छ । यति पैसा दिन छ । लिएर आउनु भन्नुहुन्थ्यो । म जान्थेँ । कसैले पुरै दिन्थे । कसैले जति छ त्यति दिन्थे । कसैले अर्को भाका राख्थे । कोही उज्यालो हुँदा पुग्दा पनि मान्छे घरमा भटिँदैनथे । खानाखाने बेलासम्म पर्खेर बस्दा पनि आउँदैनथे । त्यसपछि म त्यतिकै फर्केर आयो गर्थेँ । घरमा मान्छे नभेटिने धाउँदा–धाउँदा कहिले त दिक्क लागेर आउँने । हामीसँग कतिले सापट चलाउँथे पैसा । कतिले व्याजमा पनि चलाउँथे । बुवा नहुनेलाई दिनुपर्छ । आफूलाई पनि अलि–अलि भए पनि व्याज आउँछ । नुन्, भुटुन् खान हुन्छ । उनीहरूको पनि अभर टर्छ । तिरिहाल्छन् ढिलोछिटो हुन्छ नि त्यस्तै हो । भनेको बेला कहाँ हुन्छ त पैसा जस्तो कुरा । बनाउँदा हुने कुरा पनि होइन । आफूसँग हुँदा दिनु पनि पर्छ । नहुँदा उनीहरूसँग मागेर चलाउनु पनि पर्छ । पैसा जस्तो कुरा सधैँ एउटासँग मात्र भइरहँदैन । यसै भन्नुहुन्थ्यो बुवा । कहिलेकाहीँ बुवा घर आउँदा लिने बेलामा थोर हुन्छ । तिर्ने बेलामा धेर हुन्छ । भन्दै आउँनुहुन्थ्यो । कसैले त तिर्ने बेलामा किचलो गर्दा रहेछन् । त्यो फल्नाले त मैले खाएकै हैन भन्यो । पैसाको मुख रातो हुन्छ भनेको यही त होला नि भन्नुहुन्थ्यो ।

सबैभन्दा पैसाको व्यवहार गर्न आफन्तमा गाह्रो रहेछ । नदिँदा पनि नहुने दिँदा पनि नहुने । नदिदा पनि दिएन भन्छन् । दिँदा पनि फर्किनै गाह्रो । मैले पैसा छेउमा राखेर ऐना हेरेको छैन । मेरो मुख रातो छ कि कालो । आजसम्म मेरो मुखमा कसैको एक रूपैयाँ पनि सित्तैमा परेको छैन । नपरोस् पनि भन्छु । यदि मैले चाहेको भए नपर्ने कुरै थिएन । साँच्चै पसिनाको रङ्ग कस्तो हुन्छ । मलाई पसिनाको रङ्ग धमिलो लाग्छ । हाम्रो पसिनाले मुख रातो बनाउँनेहरू धेरै छन् । खुट्टा पसारेर पसिना बगाइँदैन । पसिना बगाउँन पनि जाँगर चाहिन्छ । पसिना नबगाइ खान खोज्नेहरूको मुख रातो हुन्छ कि कालो । शारीरिक श्रम नगर्नेले पनि मानसिक श्रम गर्ला । शारीरिक र मानसिक दबै श्रम नगर्नेको मुख कस्तो होला । रातो मात्र, कालो मात्र कि रातो कालो दुबै ! जेहोस परजीवी हुनु निश्चय नै राम्रो कुरा होइन । पैसाको मुख रातो हुन्छ । यो भनाइ त अहिलेको हरेक मानिसको जीवनमा चरितार्थ जस्तै भएको छ । पैसा भन्ने कुरा यस्तो चिज रहेछ । सकेसम्म कमाउने, सकिँदैन भने पनि त्यसको जतन गर्ने । ठूलोसानो, धेरथोर, सजिलो–गाह्रो जस्तोसुकै काममा पनि कमिशन । कमिशन विना त कामै बन्दैन ।

पैसा यस्तो चिज रहेछ । जुन भएर पनि नहुने । नभएर पनि नहुने । कहिल्यै बढी नहुने । कमै मात्र हुने । प्रायःजसोको बानी गाडीमा चढेपछि पनि भाडा नमागेसम्म पैसा नदिने हुन्छ । यदि भाडा उठाउने मान्छे झुक्कियो र भाडा माग्न बिर्सियो भने ओर्लेर चुपचाप हिँड्दिने । तिनको मुख रातो हुन्छ कि कालो । अझ भनौँ भने भ्रष्टाचारी र घुसखोरीको जो आफूले खाइपाइ आएको तलबभत्ता र सुविधाले नपुगेर भष्टचार र घुसखोरी गर्छन् । तिनको मुख कस्तो हुन्छ । रातो हुन्छ कि कालो । हप्ता दश दिनका लागि सापट भनेर लगेको पैसा नफर्काउनेको मुख कस्तो हुन्छ । रातो कि कालो । यिनकै लागि मात्र यत्रो संघर्ष गर्ने हो भने लाग्यो जीवन व्यर्थ नै छ । मनमा उब्जने इष्र्या, डाहा, रिस, राग, लोभ, क्रोध, स्वार्थ, घमण्ड यी सब मनका विकार हुन् । धर्म कर्मकाण्डी मात्र हो । इच्छा, आकांक्षा, महत्वकांक्षा कहिल्यै नआउने सम्पत्तीको डकार जस्तै हुन् । पैसा भनेको आज छ भोलि छैन । सम्पत्ति यो भए पनि हुन्छ नभए पनि हुन्छ । सामान्यतः नमरुञ्जेल जीवन चलाउनलाई पुग्यो भने हुन्छ । सधैँ पूर्वबाट उदाउँछन् घाम कसले भन्न सक्छ, यो होइन भनेर । तर मेरो जीवनमा कहिल्यै उदाएनन् पूर्वबाट घाम । यो के भएको हो । जीवनको घाम भनेको हृदयमा लाग्नुपर्छ । त्यसो भएन । व्यवहारमा सबै भन्छन् पैसाको मुख रातो हुन्छ । यसो किन भनिएको हो । यसका पछाडि पक्कै पनि केही न केही गडबडी छ । तेरोमेरो भन्नु मात्र हो । जस्तो आको त्यस्तै जानुछ । सन्सारमा आफ्नो भन्नु केही रहेनछ । आफन्त पनि भन्नुमात्र हो । हामी नै आज छौं ।

भोलि छैनौं ।यसको मतलब यो होइन कि हामीलाई केही चाहिँदैन । हामीलाई सबथोक चाहिन्छ, तर हामी आफूलाई चाहिनेभन्दा पनि बढी सञ्चिता गर्न खोज्छौँ । पैसाको मुख रातो हुनुको कारण एउटा यो पनि हो । पैसाको मुख रातो हुन्छ भनेको सुन्दा प्याट्ट सोधिहालेछु । पैसाको पनि मुख हुन्छ र ? मैले पैसा पल्टाइपल्टाइ हेरेको पनि छु । एक दिनभरि लाएर पैसाको मुख खोजेको छु । यो म सानो छँदाको कुरा । पछि बुझ्दा त यो त आशय बुझ्ने कुरा रहेछ । यो पैसाको लेनदेनमा गडबडि हुँदा भनिने एउटा भनाइ रहेछ । पैसाको पनि कहीँ मुख हुन्छ के त नाथे । यो त एउटा भनाइ पो हो त भनेपछि मैले बुझेको कुरा । मैले कतिको मुखबाट सुनेको छु । संसारमा पैसाभन्दा ठूलो अरू कुरा केही रहेनछ । पैसा भएपछि संसारमा नपाउने कुरा केही छैन । छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी । यो केही हदसम्म सही लागे पनि पैसामा अल्झेको कुनै पनि कुरा लामो समयसम्म टिकिरहँदो रहेनछ । यसरी नटिकेपछि एकदिन न एक दिन त पैसाको मुख रातो हुने नै भयो । भनिन्छ, पैसाले पैसा कमाउँछ । यो पनि सही हो । त्यो पैसा कमाउने पैसाको मुख पनि कस्तो हुँदो हो रातो कि कालो ? प्रश्न जति गरे पनि प्रश्न प्रश्न नै हो । त्यो उत्तर बन्न सक्दैन ।

कहिलेकाहीँ घरमा वस्तुभाउ बेच्दा किन्ने मान्छेले लाने बेलामा गोठालोले गएर म लान दिन्न भनेर दाम्लो समाए । उसको चित्त बुझाउने भनेर पाँच, दश, बीस, पचास रूपैयाँसम्म दिने चलन थियो । हामी कहिलेकाहीँ यसरी पनि खल्तीमा पैसा पार्यौ । यसरी दाम्लो समाइसकेपछि उसको हातमा यसो दश, बीस रूपैयाँ नराखी किन्नेले लान पाउँदैनथ्यो । बाध्य भएर दश, बीस रूपैयाँ उसको हातमा राखिदिनै पथ्र्यो । स्कूल जाँदा घरबाट खर्च भनेर पैसा दिने चलन प्रायः थिएन । कसैले दिँदैनथ्यो । घरमा भात खाएर गएपछि किन चाहियो पैसा भन्नुहुन्थ्यो । तर म माग्थेँ । मलाई बुवा यसो अस्कोटको भित्री गोजीबाट झिकेर पाँच रूपैयाँको नोट दिनुहुन्थ्यो । त्यतिबेलोको पाँच रूपैयाँ पनि ठूलै पैसा थियो । एक रूपैयाँमा चिया आउँथ्यो । तीन रूपैयाँमा ग्लोकुज बिस्कुट । म स्कूल जाँदा दिनै पिच्छे जस्तो पैसा माग्थेँ । कहिले मसी छैन भनेर माग्थेँ । कहिले डटपेनको सुइरो किन्न भन्थेँ । कहिले डटपेन किन्नु प¥यो भन्थेँ । कहिले कापी छैन भनेर माग्थेँ । जसरी भए पनि पैसा खुस्काएर लिएर जान्थेँ । अनि के खान मन छ आफूलाई किन्यो खायो ।

कहिलेकाहीँ कसैका मुखबाट कसैलाई भनेको सुन्थेँ । त्यो फल्नाले त चिनेको छ त पैसा त । बजारसजार कहीँ कतै जाँदा एक रूपैयाँ पनि मास्दैन । कसैलाई एक कप चिया पनि खुवाउँदैन । आफू पनि खाँदैन । भूँडीमा पटुका कसेर हिँड्छ । आचीमा झरेको पैसा पनि टिप्छ त्यसले त । तर, फेरि अर्काले खुवायो भने खान्छ । आफ्नो एक रूपैयाँ झिक्दैन । लोभीको घर छ । भन्नु उसो होइन । पैसाले गर्दा समाजमा सानातिनादेखि लिएर ठूला–ठूला घटना समेत घटेको पाइन्छ । पैसाकै लागि मान्छेले ज्यान फालेका छन् । पैसाले गर्दा मान्छेको ज्यान गुमेको छ । तिनको मुख रातो भन्नु कि कालो ? पैसाकै लागि जताततै कलह नै कलह छ । शान्ति छैन । अशान्ति फैलिएको छ । पैसा हुँदै नभएर पनि होइन । देश र जनता सम्पन्न हुँदै गएपछि विदेशी प्रभाव पनि बढ्दै जाँदो रहेछ । विदेशी प्रभाव बढ्दै गएपछि त्यहाँका जनताको जीवन शैली पनि परिवर्तन हुँदै जाँदो रहेछ । पश्चिमबाट कमाएर ल्याएको पैसा बगेर पश्चिमतिरै जान्छ भने जस्तो ।

नयाँ–नयाँ प्रविधिको प्रयोगले आज देखाइरहेको छ । आउने बाटो पनि छ । जाने बाटो पनि छ । भनिन्छ, कमाएको पैसा बचाउनु पनि कमाउनु जस्तै हो । पैसा कमाएर मात्र पुग्ने कुरा होइन रहेछ । त्यसलाई बचाउनु पनि पर्ने रहेछ । अनि मात्र कमाउनुको अर्थ हुने रहेछ । अंग्रेजीमा एउटा उखान छ । मनी अट्राक मनी । नेपालीमा पैसाले पैसा तान्छ वा कमाउँछ । जेहोस् यो पंक्तिकारको चाहना यो हो कि पैसाको मुख रातो पनि नहोस् । कालो पनि नहोस् । पैसाले गर्दा आफ्ना–आफन्तहरू पराइ नहुन् । छर–छिमेकी पनि टाढा नहुन् । कसैसँग पनि शत्रुता नबढोस् । मानिसले पैसाको लागि भनेर गति पनि नछाडोस् । वल्लाघर–पल्लाघर तल्लाघर–माथ्लाघर–छर–छिमेकमा सर–सापट र सर–सहयोगको भावना फैलियोस् । पैसाले पोल्छ भन्छन् । कसैलाई नपोलोस् । पैसा नै सबै कुरा पनि होइन । यो आज छ, भोलि छैन । एउटै मानिस सधैँ धनी भइरहँदैन । यो कुराको ज्ञान सबैलाई होस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here