एकल महिलाको नेतृत्वमा बालगृह

0
17

टीका खतिवडा
इलाम ।

एक्लैले जीवन सञ्चालन गर्न समस्या हुने भएपछि बिवाह गरिन्छ । बिवाह पश्चात पुरुष एवम् महिलालाई एकापसमा साथ र सहयोग भएकै कारण जीवन सञ्चालनमा सहजता आउँछ ।

एकल जीवन सञ्चालन गर्न पुरुषलाई भन्दा महिलालाई केही समस्या नै हुने गरेको छ । आर्थिक उपार्जनको पाटो, समाजको डर लगायतले एकल भएपछि महिलाहरुले अनेकौं समस्या झेल्नु परेका घटना समाजमा प्रशस्तै छन् । तर एकल भएर पनि सक्षम महिलाको सूचीमा कमै महिला पर्ने गरेका छन् ।

बिवाह पश्चात एकल भएका महिलाहरु समेत उत्तिकै सक्षम छन् भन्ने उदाहारण इलाममा सञ्चालित राहसल बालगृह सञ्चालक समितिका महिलाहरुबाट नै लिन सकिन्छ । आफ्नो ब्यवसाय, परिवार र समाजमा उत्तिकै भिजेका छन् बालगृह सञ्चालक समितिका महिलाहरु । इलाम नगरपालिका –९ मा रहेको राहसल बालगृह सञ्चालन गर्ने प्राय महिलाहरु एकल नै छन् ।

यो संस्था सञ्चालक समितिको अध्यक्ष रहेकी माया भट्टराई एकल नै हुन् । उनी आफू सक्षम रहेकै कारण सामाजिक कार्यमा समेत उत्तिकै समय निकाल्छिन् । यो बालगृह प्रायः एकल महिलाको नेतृत्वमा नै सञ्चालित छ । सचिव गीता कोइराला समेत एकल हुन् । उनले समेत छोराछोरीलाई समयसहित बालगृहमा उत्तिकै समय दिने गरेकी छन् । बालगृहको अध्यक्ष, सचिव र किचनमा काम गर्ने एक महिला कमला भट्टराई तीन जना महिला नै एकल भएर पनि संस्था सम्हाल्न उत्तिकै लागेका छन् ।

यहाँ सञ्चालित राहसल बालगृहमा रहेका बालबालिकालाई पालनपोषणमा दाताकै भर पर्नु पर्ने बाध्यता छ । २०६६ सालमा स्थापित यस बालगृह शुरु देखि नै दाताको सहयोगमा नै सञ्चालन हुँदै आएको हो । इलाम नगरपालिका –९ मा सञ्चालित बालगृहमा हाल १३ जना बालबालिका रहेका छन् । यहाँ पछिल्लो समय सञ्चालक समिति समेत परिवर्तन भएर बालबालिकाको हेरचाह गरिरहेको छ ।

पछिल्लो समय जन्म उत्सव, स्मृति दिवस मनाउन समेत मानिसहरु बालगृहमा जाने गरेका छन् । यसरी गएकाहरुले एक छाक खानासहित नगद समेत दिने गरेका छन् । यसरी संकलित रकमबाट बालबच्चाहरुको हेरचाह गरिरहेको सञ्चालक समितिकी अध्यक्ष माया भट्टराईले बताइन् । संस्थालाई समय दिनकै लागि भनेर यहाँ आएकाले आफूहरुले दिनरात काम गर्ने गरेको उनको भनाइ छ ।
बालबच्चालाई खाना पकाउन एक जना महिलालाई नै राखिएको छ । तर राखिएकी महिलालाई समेत पर्याप्त रकम दिन नसकी रहेको उनको भनाइ छ । बालबालिकाका इच्छा असीमित हुन्छन् । उनीहरुको सबै चाहान पूरा गर्न रकम अभावकै कारण समस्या भएपनि खानलाउन र शिक्षाका लागि राम्रो प्रवन्ध मिलाइएको बताइएको छ ।

बालगृहमा रहेका १३ जना बालबालिकाहरु नजिकैको निजी तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन् । बालबालिकालाई लालनपालनका लागि शुरुशुरुमा धेरै दाताहरु आउने गरेको भएपनि पछिल्लो समय दाताहरु कम रुपमा आउने गरेको अध्यक्ष भट्टराईले बताइन् । दाताको खोजीसहित मेला महोत्सव गरेर भएपनि उनीहरुको लालनपालनमा लाग्नु परेको अध्यक्ष भट्टराईको भनाइ छ । मेला महोत्सव समेत पूर्ण रुपमा सफल बन्न नसक्दा संस्थालाई समस्या आएको उनले बताइन् ।

इलामको ठूलो टुँडिखेलमा नयाँ वर्षको अवसरमा बालगृहकै नेतृत्वमा मेला लगाइएको थियो । तर शुरुमा यहाँका राजनीतिक दलले सहयोग नगरेको र पछि मेलामा भीडम्भाड भएर मान्छे घाइते बनेका कारण पनि मेला सफल हुन नसकेको बताइएको छ । उनीहरुको उपचारमा समेत आफूहरुले खर्च गर्नु परेका कारण समस्या भएको संस्थाले जनाएको छ ।

बालबालिका राखिएको क्षेत्रमा असुरक्षित महसुस भएपछि इलाम नगरपालिकासँग सुरक्षाको लागि घेराबारा तथा गेट निर्माणका लागि आग्रह गरिएको बताइएको छ । पछिल्लो समय घेराबाराका लागि इलाम नगरपालिकाले केही सहयोग गरेको र प्राप्त रकमले घेराबारा सहित गेट निर्मण गरिएको सञ्चालक समितिकी सचिव गीता कोइरालाले बताइन् । उनले प्राप्त रकम भन्दा बढीको नै काम गरिएको जानकारी दिइन् ।

पुरानो समितिभन्दा फरक ढंगले आफूहरुले यस संस्थालाई सञ्चालन गर्न लागि परेको उनको भनाइ छ । पुरानो समितिले बालगृहमा बालमैत्री ब्यवहार समेत लागू गर्न नसक्दा बीच–बीचमा समस्या आउने गरेको बताउँदै उनले यस्तो समस्या नआओस् भनेर सजकता अपनाउने गरेको बताइन् । बालगृह दुईवटा भवनमा सञ्चालित छ । तर एउटा भवन आवश्यक मर्मत गर्न नसक्दा जिर्ण बन्दै गएको छ ।

स्थानीय राजेन्द्र चौहानको पहलमा स्थापना भएको बालगृहको नाममा करिव आठ रोपनी जमिन छ । बालबालिकाको भविष्य निर्माणमा आफूहरुको प्रयासमा दाताको भर पर्नुपर्ने बाध्यता रहेको सञ्चालक समितिको भनाइ छ । केही समय अघिसम्म देश बिदेशमा रहेका दाताहरुले सहयोग गरेर नै यहाँसम्म आइपुगेको र अब पनि सहयोग गर्न दातासमक्ष उनीहरुको आग्रह छ । अनाथ बालबालिकालाई ल्याएर राखेर मात्र नहुने भएपछि बाबाआमाको झै माया, खानलाउन र उचित शिक्षा दीक्षामा सहयोगी मनको खोजीमा छ राहसल बालगृह । तपाईहरुपनि पो सहयोग गर्न चाहानु हुन्छ कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here