सिर्जनामा म

0
9

म आज नितान्त आफ्नै बारेमा लेख्न बस्दैछु । यद्यपि यसअघि लेखिएका लेख, रचनाहरू पनि कुनै न कुनै रूपमा मसँगै सम्बन्धित थिए । अलिकति अतिततिर फर्केर हेर्दा म सारै बुद्धु रहेछु । मेरो दिमाग सारै बोधो पनि थियो । हिसाबमा त म जिरो नै थिएँ भन्दा पनि हुन्छ । भन्न पनि मलाई कत्तिले यो सारै सोझो छ । यसले केही पनि गर्दैन भन्थे । जसो भनेको त्यसै भयो । मैले जीवनमा त्यस्तो केही पनि लछारपाटो लाइनँ । न मेरो जीवनमा पढाइ नै काम लाग्यो ।

इजरायलमा हुँदाको कुरा हो । मैले एउटा यस्तो कविता लेखेँ कविताको शीर्षक थियो– सोझो हुनु पनि गरीब हुनु जस्तै रहेछ । यो कवितालाई धेरैले आत्मसाथ गरे । कतिलाई यो कविताले व्यङ्ग्यको काम पनि ग¥यो । त्यो कसैका लागि लेखिएको थिएन । आफ्नै लागि लेखिएको थियो । आजका मितिसम्ममा लगभग एक सय जति विभिन्न खाले पत्र–पत्रिकामा चार सयभन्दा बढी लेख, रचनाहरू छापिएछन् । मैले लेख्न थालेको पनि ३०÷३२ वर्ष जति भएछ । मेरो पहिलो रचना यही थियो, भन्ने पनि मलाई अहिले एकिन छैन । ०४९÷५० सालतिर प्रकाशित गल्लीका शिकारहरू र प्रेम गर्ने भनाउँदाहरू शीर्षकका यी दुई कवितालाई मैले मेरा पहिलो रचना मान्ने गरेको छु ।

आजसम्म मैले जे–जति लेखेँ । त्यसले मलाई अझै पनि लेखक तथा कवि बनाएको अनुभूति गराएको छैन । मैले धेरै गर्नु थियो । एक छेउ पनि गरेको छैन । खासमा साहित्यको क्षेत्रमा । यसमै लागियो । यसमै रमाइयो । अझ भनौं– मैले त्यो कवितामा आफ्नो सोझो पनको वर्णन र त्यसबाट फाइदा उठाउनेहरूप्रति व्यङ्ग्य गरेको थिएँ । जसबाट अलिकति अरूभन्दा बाठो हुँ भन्नेहरूले आफ्नो सोझोपनबाट उठाएको फाइदाको चर्चा–परिचर्चा पनि । कवितामा भनिए जस्तो त्यति विघ्न म सोझो पनि थिइनँ । धनी पनि थिइनँ र गरीब पनि थिइनँ । यद्यपि त्यो धेरैको जीवनसँग मेल खान सक्ने कविता भने थियो । पछि मैले त्यो कवितालाई बन्साका बोटहरू कविता सङ्ग्रहमा सङ्ग्रहित गरेँ । त्यो कविता यस्तो थियो–

सोझो हुनु पनि गरीब हुनु जस्तै रहेछ
इमान्दार हुनु पनि गरीब हुनु जस्तै रहेछ ।
सबैले हेप्ने, थिच्ने, मिच्ने सानो हुनु जस्तै रहेछ ।
कोही ताछ्न खोज्छन्, कोही लाछ्न खोज्छन्
कोही भाँच्न खोज्छन्, कोही खुर्कन खोज्छन्
साँच्चै सोझो भएर
बाँच्नु पनि गरीब हुनु जस्तै रहेछ ।

कोही लुछ्न खोज्छन्, कोही नङ्ग्याउँन खोज्छन्
कोही चिमोट्न खोज्छन्, कोही दरफ¥याउँन खोज्छन्
कोही अफ्ठ्यारोमा पारेर, स्वार्थ पूरा गर्न खोज्छन्
कोही आफ्नो बसमा राखेर, ऐँच्याउँन खोज्छन्
साँच्चै सोझो हुनु पनि गरीब हुनु जस्तै रहेछ ।

सबैका आँखा सोझा माथि नै पुग्दारहेछन्
सबैले सोझालाई नै रोज्दारहेछन्
नपत्याए जङ्गलमा गएर हेर
त्यहाँ सोझा रूखहरू नै
बढी काटिएका हुन्छन्
बाङ्गाटिङ्गा त त्यत्तिकै हुन्छन् ।
म अत्यधिक लेख्ने मान्छे हुँ ।

केही न केही लेखिरहन मन लाग्छ । लेखिरहन्छु पनि । लेखेपछि कतै न कतै पठाउँछु । सम्पादकले छापिदिनुहुन्छ । खुशी लाग्छ । एउटा लेखकलाई आफ्नो रचना छापिँदा खुशी नलाग्ने कुरै भएन । लेख्नु मेरो कर्म भयो, विषय मर्म । नलेखी त एकैछिन् पनि बस्न सकिन्न । सायद लेखक, कविहरूको यस्तै लत हुन्छ । म जे लेख्छु सरसरर्ती लेख्छु । लेखिसकेपछि त्यसलाई आफूसँग राखिरहन्न । एकतिर पठाइदिन्छु । छापिएर आउँछ । छापिएर आएपछि कस्तो भएछ भनेर एकपटक सरररर पढ्छु । मेरा रचनाका पाण्डुलिपिहरू अहिले थन्किएर बस्न पाउँदैनन् । म त्यसरी थन्किएर बस्न दिन्न पनि । प्रायः अधिकांश लेख, रचनाहरू छापिइसकेका छन् । लेखिनसकेका रचनाहरूको छुट्टै कुरा हो । यति हुँदाहुँदै पनि मेरो साहित्यप्रतिको मोह किञ्चित घटेको छैन । बरू अझ उर्जाशील बनेर बढ्दै पो छ !

अक्षरको खेतीपातीमा लागेको मान्छे मर्दैन भनिन्छ । त्यति मात्र होइन, बुढो पनि हुँदो रहेनछ । ८४ वर्षको उमेरमा पनि अस्तिसम्म मैले लीलबहादुर क्षेत्रीलाई उस्तै उत्साहित देखेँ । झट्ट हेर्दा यो कविता सरल, सहज र सामान्य झैं लागे पनि यो कविता मेरो विगतदेखि वर्तमानसम्म मानिसहरूले म प्रति गरेको व्यवहारलाई निचोरेर लेखिएको कविता हो । मेरो जीवनको सम्पूर्णता जो लेख्न मिल्ने जति सबै मैले साहित्यमा लेखिसकेँ । अब त भोग्न बाँकी जिन्दगीको मात्र लेख्न बाँकी छ । मलाई नजिकबाट बुझ्न चाहनेले मेरो साहित्य पढेपछि थाहा लाग्छ । सकेसम्म मैले आफूलाई एउटा इमान्दार यथार्थवादी लेखक ठानेको छु । साहित्यलाई कर्म । पूर्णकालिक लेखन र व्यवसायीक लेखक बन्न समय पु¥याउन सकिएन । मैले चाहँदाचाहँदै पनि भने जस्तो समय निकाल्न सकिन । भन्न त साहित्यमा हतार गर्नु हुँदैन, भनिन्छ । मैले अति हतारो पनि गरेँ कि मलाई लाग्छ कुनै पनि साहित्य वर्तमानमा लेख्यो भने वर्तमान नै हुन्छ । भविष्यमा लेख्यो भने त्यो भूत हुन्छ । त्यही विषय वर्तमानमा लेखे अनुभूति हुन्छ भनेपछि लेखे संस्मरण, कथा, निबन्ध वा अन्य । त्यसभित्रका सानातिना कुराहरू भुल्न सकिन्छ र त्यसको सौन्दर्य र कलात्मकतामा आउँने उज्यालो कम हुन सक्छ ।

यद्यपि कालजयी रचना कालजयी नै हुन्छ भए पनि त्यसलाई समयले अझ सिङ्गारपटार गर्न मद्दत गर्छ । यो मैले अनुभवसँगै महशुस गरेको कुरा पनि हो । आजसम्म मलाई लेख्न प्रेरणा प्रदान गर्ने, हौस्याउने, सरसहयोग र मद्दत गर्ने मेरा प्ररणाका स्रोत, शुभचिन्तक र आफ्ना–आफन्तप्रति सदैव ऋणी छु । नहुने कुरै भएन । जसले गर्दा म यहाँसम्म आइपुगेँ । मेरा लेख÷रचनाहरूलाई स्थान दिने सबै पत्र–पत्रिकाहरूप्रति मेरो सदैव सद्भाव छ । ती प्रति पनि रिणी छु । यसकारण पनि ऋणी छु कि मैले पाण्डुलिपीको भारी बोकेर कहिल्यै हिँड्नु परेन । गल्लीका शिकारहरू र प्रेम गर्ने भनाउँदाहरू शीर्षकका दुई कविताहरू झुल्केघाम र कनकाई स्मारिकामा प्रकाशित भएपछि शुरू भएको मेरो सार्वजानिक साहित्यक यात्रा पछिल्लो समयमा लगभग एक सय जति विभिन्नखाले पत्र–पत्रिकाहरूमा झाँगिन पुग्यो । सबैभन्दा बढी गोरखापत्रमा छापिएको रचनाले खुशी प्रदान गरेको सम्झना ताजै छ । त्यो गोरखापत्रमा छापिएको पहिलो रचना थियो । त्यो गीत थियो जस्तो लाग्छ । त्यो बेला गोरखापत्रमा रचना छापिनु पनि सामान्य कुरा थिएन ।

मधुपर्क, गरिमा, कविता र समकालीन साहित्य त्रैमासिक त अहिले पनि पारिश्रमिक दिने स्तरीय पत्रिका मानिन्छन् । यिनमा रचना छापिनु भनेको त आफूलाई हिउँचुली मै पु¥याउनु जस्तो थियो । निरन्तर हिँडिरहँदा त पुगिँदोरहेछ ठाउँमा । गन्तव्यमा नै त नभनौं । आधाउधो बाटो छिचोलेर अब ओरालो लागेको भान हुन थाल्यो । अब त बाटो पनि देखियो । बाटो देखिसकेपछि त यात्रा पनि सहज हुँदोरहेछ । बाटो पनि सजिलो लाग्दो रहेछ । लेख्न बस्नु मात्र पर्छ बसिसकेपछि केही न केही त लेखी हालिन्छ । लेख्न अभ्यास मात्र होइन, यसमा अध्ययन पनि उत्तिकै हुनुपर्ने रहेछ । कलात्मकता त लेखनको मेरुदण्ड नै भयो । त्यसपछि विषयबस्तु भाषाशैली आदि तत्वहरू त छँदैछन् । सबै–सबै धनसम्पत्ती आर्जन गर्नपटी लाग्दा पनि म भने जुन कुरामा लागेर केही पाइँदैन, सधैँ त्यही कुरामा लागिरहेँ । यो के प्रतिको आकर्षण हो !

अलि बढी नै महत्वकांक्षी भएँ कि अब त लत नै बसिसकेछ । लत मात्र होइन, लत नै बसिसकेछ । नलेखि बस्न नसकिने । आत्मसन्तुष्टि भन्दा पनि मनमा लागेका सबै कुरा लेखिसक्दा पनि पूर्ण भए जस्तो लाग्दैन । यो कस्तो तृष्णा हो ! सधैँको अपूर्णता । साहित्यको विशेषता अपूर्णता मै सम्पूर्णता भएर पनि हो कि हिँड्दै गर्दा एक जना दाइले भन्नुभयो, त्यो फल्नो साहित्यकार अरे सानो हुँ भन्दैन । होइन, दाइ साहित्यकारहरू प्रायः त्यस्तै हुन्छन् । माइन्ड गर्नु हुँदैन । घमण्डी भए पनि इमान्दार हुन्छन् । बेइमान हुँदैनन् । मैले यसो भनेर बचाउ गरेपछि उहाँको मुखमा पनि बुझो लाग्यो, सायद उहाँले पनि त्यो कुरा महशुस गरेको हुनुपर्छ । त्यसपछि उहाँले पनि सच्चिँदै भन्नुभयो– हैन, मान्छे ठिक छन् । भेटमा राम्रैसँग बोलचाल पनि हुन्छ । त्यही हो अलि मै हुँ भने झैं गर्छन् । सायद ममा पनि त्यो अवगुण देख्दो हो कसैले । म त्यहाँभन्दा अगाडि जान चाहिनँ । त्यसपछि हाम्रो संवादले बिट मा¥यो । विचार त हरेक मान्छेले हरेक मान्छेको गरिरहेकै हुँदोरहेछ भन्ने लाग्यो । उहाँले गरेको कमेन्टले म पनि निक्कैबेर रन्थनिएँ । मानिसलाई जे बने पनि जस छैन । मैले आजसम्म लेखकमा कुनै खोट देखेको थिइनँ । बुढाले देखाए ।

विषय अर्कैसँग सम्बन्धित भए पनि क्षेत्रले थोरै मन कुड्यायो । सबैसँग रत्तिन सक्नुपर्ने रहेछ । देवकोटा र लेखनाथको पालादेखि साहित्यकारलाई हेर्ने दृष्टिकोण फरक रहे जस्तो लाग्यो । त्यसो त गीत, सङ्गीत र कलाकारहरूलाई हेर्ने दृष्टिकोण पनि पहिले फरक थियो । देवकोटालाई हेरेर लेखक, कविहरू अलि सनकी, चुरोट पिउने, एकान्तप्रेमी, घमण्डी आदि स्वभावका हुन्छन् । लेखनाथको पालादेखि दाह्री पालेका, झुत्राझाम्रा लुगा लाउने हुन्छन् भन्ने जस्तो छाप प¥यो कि ! भन्नेको मुख थुन्न त का सकिन्छ र ! त्यसपछिका कतिपय लेखकले त्यस्तो धारणालाई भाँच्दै ल्याएको भान पनि हुन्छ । साँच्चो अर्थमा भन्ने हो भने लेखक तथा कवि किमार्थ त्यस्तो स्वभावको हुँदैन । बरू उसलाई आर्थिक र समयको अभाव हुन सक्छ । ऊ त सत्यवादी पो हुन्छ । इमान्दार हुन्छ । ऊ जे देख्छ भोग्छ र अनुभूत गर्छ त्यही लेख्छ । उसले के बिराउँछ । उसले समयको भरपुर सदुपयोग गर्छ । आफ्ना लेख, रचनाहरूलाई सन्तानलाई जस्तै माया गर्छ ।

आफ्नै कुरा गर्दैछु म । मेरो लेखनको उत्तराद्र्ध काल पूवाद्र्ध जस्तो सहज बनेन । घरका मान्छेहरू नै भन्न थाले, लेखेर के हुन्छ ? पैसा कमाउनुपर्छ । के खाने ? कसरी बाँच्ने ? मलाई यो कुराले एकातिर सारै चित्त दुख्थ्यो भने अर्कोतिर टाउको सियोको टुप्पोले झैं घोच्थ्यो । मेरो पहिलेदेखिको लत हो । नलेखी बस्न सक्दिनँ । लेखेर केही बिग्रदैन । राम्रै हुन्छ भनेर सम्झाउँदा पनि कहिले बत्ति निभाइन्थ्यो । कहिले त्यही विषयलाई लिएर झगडा हुन्थ्यो । कहिले त मलाई मैले लेखेका ती सम्पूर्ण चिजहरू पुरस्कार र प्रमाणपत्रसहित पर खोलामा लगेर बगाइदिउँ कि कतै भेला पारेर डढाइदिउँ झैं पनि लाग्थ्यो । लेखनको एउटा युग निर्माण गरिसकेको मान्छे त्यसो गर्न पनि सक्दिनथेँ । कहिले यही कुराले धेरै प्रताडित पनि हुन्थेँ म ।

साहित्यका खातिर मैले परिवारको त गरिन, गरिन । आफ्नै स्वास्थ्यको पनि ख्याल गरिनँ । कहिले त म बिहानको ३ बजे मात्र पनि सुत्थेँ । १२ त सधैजसो नै बज्थ्यो । यहीकारण पनि म विरामी परिरहन्थेँ । खासमा मेरो घाँटीको समस्या थियो । यद्यपि मैले यसको कुनै पर्वाह नै गरिन । निरन्तर लेखिरहेँ । लेख्न थालेपछि न भोक न तिर्खा न निद्रा विन्दास लेख्थेँ म । विरामी हुँदा पनि म उठ्नै नसक्दा मात्र नत्र उठ्न सक्ने भएपछि उठेर लेख्न थालिहाल्थेँ । कागजका पन्न र टुक्रा म गोजीमा पनि बोकि हिँड्थेँ । कलम त प्रायः साथमै हुन्थ्यो । कुन बेला के फुर्छ टिपेर राख्थेँ अनि पछि त्यसलाई मूल लेखमा समाहित गर्थेँ । अहिले पनि प्रायः त्यसै गर्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here