नेपाली सेनाद्वारा विद्यार्थीलाई सैनिक डेमो तथा चेतनामुलक कक्षा

0
10

बिर्तामोड । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले बालबालिकाहरुलाई सैनिक डेमो, चेतनामुलक कक्षा तथा नैतिक आचरणसम्बन्धी शिक्षा प्रदान गरेको छ । आज चारआलीस्थित गणमा आयोजित कार्यक्रममा बिर्तामोडका विभिन्न विद्यालयका एक सयजना विद्यार्थीहरुलाई अभिमुखीकरण तथा भ्रमण गराइएको हो । 

नम्बर २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि धनबहादुर थापाको विशेष पहल तथा विराट सामुदायिक अध्ययन केन्द्र बिर्तामोको संयोजनमा अभिमुखीकरण तथा भ्रमण कार्यक्रम गराइएको थियो । केन्द्रबाट सञ्चालित समुदायिक शिक्षा अभियानअन्तर्गत बाल तथा किशोर आचरण कार्यक्रममा अरिदमन गणमा गणपति प्रमुख सेनानी इमेशमेहर श्रेष्ठले सैनिक खेलको डेमो प्रस्तुत गरेका थिए ।
त्यस्तै, सर्पदंश केन्द्र चारआलीका चिकित्सकबाट चेतानमुलक कक्षा, नेपाली सेनाका पण्डितबाट नैतिक आचरण सम्बन्धी प्रवचन तथा गणका जवानहरुले सैनिक अनुभव, अरिदमन गणको आर्केस्ट टोलीबाट राष्ट्रभक्तिका गीतहरु तथा सैनिक भिडियोको प्रस्तुति गराइएको थियो ।

कार्यक्रममा नम्बर २१ बाहिनी अड्डाका बाहिनीपति थापाले देशको भविष्यलाई जगबाटै बलियो बनाउन यस्ता कार्यक्रमहरु सञ्चालन गर्न अपरिहार्य रहेको धारणा राखेका थिए । त्यस्तै, गणका गणपति श्रेष्ठले कार्यक्रम सञ्चालन गर्न समन्वयका लागि केन्द्रलाई धन्यवाद दिएका थिए । उनले आगामी दिनमा यस्ता कक्षाहरु निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, केन्द्रका अध्यक्ष तथा संयोजक लगायत प्राध्यापक र शिक्षकशिक्षिकाहरुले कार्यक्रमको प्रशंसा गरेका थिए । उनीहरुले नेपाली सेनासम्बन्धी विविध विषयमा ज्ञान भई भविष्यमा देशको जिम्मेवार नागरिक हुने राय व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here