अब त अति भो सरकार !

0
8

 

टंक विकल्प,

कविता

गरिब जनताले
आफ्ना लालाबालालाई
अलिकति मीठो खाना र
राम्रो नाना जोड्ने चाडको मुखैमा
तिमी
दैनिक उपभोग्य दालचामल , ग्यास र
नुनभुटुनको भाउ बढाएर
मुट्ठीभर व्यापारीहरूलाई
किन समृद्धिको चाङमाथि चढाउँछौ ?
हुँदा खाने जनताको ओठमा
पोटाउन लागेको थोरै ‘ खुसीमाथि
किन महङ्गीको आरा रेट्छौ ?
उता
धनबहादुरले छोरीको फिस तिर्न नसकेर
स्कुलमा नाम काटियो
अहिले ऊ भाँडा माझ्छे साहुकोमा
दौलत बहादुरको छोरो खाडी मुलुक भासिएको छ
ऋणको भारी बोकेर टाउकोमा
यता
आइतमायाको घरमा तमसुकहरूको एकपछि अर्को खात लागेको छ
अभाव र भोकमरीले कामेकी
मनमायालाई बोक्सीको बात लागेको छ
एकले अर्काको अस्तित्व छिन्ने र
बेथितिले उछिन्ने होडबाजी चलेको छ अहिले देशमा
केही अकर्मण्यहरु रातारात मालिक हुने र
कर्मशीलहरू दिनानुदिन करिया बन्ने
उद्योग चलेको छ अहिले मुलुकमा
तिमीले बोकाएको करको भारीले
दुनियाँको ढाड कहिल्यै नसोझिने गरी कुप्रिएको छ
यतिखेर
कौपिन धारी साधुसन्त सडकमा ओर्लिएका छन्
धर्म संस्कृति मासियो भनेर
बुद्धिजीवी, नागरिक चिन्ता बोलिरहेछन्
राष्ट्र भ्रष्टाचार र कमिसनको दलदलमा भासियो भनेर
राष्ट्रचिन्तकहरू हैरान छन्
सरकार विदेशीको कठपुतली भयो भनेर
शिक्षकहरूले सडकमै चकडस्टर फ्याँकेका छन्
गरिखाने शिक्षानीति देऊ भनेर
डाक्टरहरू स्टेथिस्कोपसँगै सडकमा ओर्लिएका छन्
ज्यानजोखिम भो सुरक्षा देऊ भनेर
द्वन्द्वपीडितहरू आँसुले सडक पखाल्दैछन्
सत्य निरुपण खोजेर
बेरोजगारहरू मशाल लिएर निस्किएकाछन्
रोजगारी नपाएर
मजदूरहरू पिसल्टिएका छन्
मजदुरीमा खडेरी लागेर
किसानहरू आजित छन्
समयमा मलबिउ र उचित बजार नभएर
के भनी साध्ये छ र सरकार ?
अस्ति उसले
सडकमै आत्मदाह गर्‍यो
अमूल्य जीवनको मोह त्यागेर
उनीहरुले घरैमा सामुहिक आत्महत्या गरे
भोको पेटको व्यथा मझेरीभरि छरेर
तिनीहरू
हरेकदिन विदेश पलायन हुँदैछन्
भविष्यको सुनौलो जिन्दगी लिलाम गरेर
सरकार !
अब कहाँ जाऊँ ? जन्मेको धर्तीबाट भागेर
शालनाल गाडेको घुर्‍यान छाडेर
भाग्दा देशको माटो निस्ताउँछ
बस्ता तिम्रो शासन बिझाउँछ
अब त अति भो सरकार !
बरु फाँसी देऊ
यसरी थोपाथोपा मर्नुभन्दा
एक भुल्कै मर्न मन छ
तर
मर्नुअघि
फाँसीको तखतामा उभिएर गलेपासो लगाएपछि
एउटा अन्तिम प्रश्न सोध्नुछ
सरकार !
किन यसरी आफ्नो र देशको दुर्नाम छर्छौ ?
आखिर
जनता सकिएपछि
कसलाई शासन गर्छौ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here