आमाको त्याग सम्झँदा

0
14

असिमित आवश्यकतालाई पन्छाउँदै सीमित आवश्यकता परिपूर्ति मात्र पूरा गर्ने व्यक्तिभित्र पर्दछु म । हामीले सुखी र खुशी बन्नका निम्ति अनेकौं चाहनालाई घटाउनमा जोड दिनुपर्छ । किनकि आवश्यकतालाई बढावा दियौं भने हामीले कहिल्यै ती आवश्यकता पूरा गर्न सक्दैनौं अनि हाम्रो मुहारको खुशी उदासिनमा बदलिन्छ । हामीले पहिलो आवश्यकता बोध गर्न सक्यौं भने कदापी दुःखको भड्खालोमा पस्नु पर्दैन न त आसावादी नै बन्नुपर्छ ।

मनमा अनेकौं कुराले बास गर्छ, मेरो मनमा मात्रै हो कि अरुको मनमा पनि यस्तै हुन्छ सोच्छु कहिलेकाहीँ, मस्तिष्सकले कहिले यी कुरालाई दुविधाजनक बनाइदिन्छ । मलाई असाध्यै लेख्न मनपर्छ । मेरो मन भन्छ जेमा खुसी छौ त्यही गर तिमी । यो मनको आवाजलाई सुन्दै म कहिलेकाहीँ लेख्न बस्छु फेरि लेख्ने वातावरण मैले नपाएको आभाष गर्छु । कापीमा अपूरा लेख कति छन् कति यो हुनुमा आफैंलाई दोष दिन्छु । अस्थिर मनका कारण लेख पूरा गर्न असमर्थ हुन्छु । केही समय बित्छ फेरि कलम समाउँछु । कापी तयार पार्छु अनि मनमा उर्लिएर आएका भाव संगठित गर्न खोज्छु ।

यसै क्रममा आज फेरि कलम उठाएँ अनि मनमा तर्क–वितर्क गर्दै गरेका भावलाई कापीमा उतार्न खोजेँ । थाहा छैन पूरा लेख लेख्छु कि आधामै सीमित गर्छु । आज मलाई आमाको संघर्षको कथा लेख्न उक्साउँदैछ मेरो मन । धेरै दिन भयो आमाले सन्तानका निम्ति गरेकी त्याग, ममता र पीडाले घच्घच्याइरहेको । आमा पवित्र शब्द, भगवानको प्रतिमूर्ति, जननी, धर्ती जे भने पनि नपुग्ने आमाका लागि सम्बोधन थोरै लाग्ने । आँखा रसाउँछ लेख्दै गर्दा भक्कानिन्छु, गला अवरुद्ध हुन्छ अनि हात काप्छन् थर्थरी, आमाले सन्तानप्रति देखाउनुभएको त्याग तपस्या सम्झँदा ।

आमा बन्नु सानो कुरा होइन, सबैले भनेको सुनेको थिएँ, आफ्नो आमालाई हेरेर महशुस पनि गर्थेँ । मलाई जन्म दिने आमा अहिलेकी आमा होइनन् जुन आधुनिक जमाना अनुसार चलेकी छिन् । मेरी आमा त ती परम्परागत सोच, पुरुषवादी समाज र लैङ्गिक विभेदले ओतप्रोत समयकी आमा हुन्। जुन समयमा महिला अस्तित्व थिएन, घरधन्दा काँटा, कोदालो, गाई–भैंसी, बाख्राका निम्ति प्रशस्त समय खर्चिनुपर्ने थियो । त्यही समयमा परिवारमा संघर्ष गरेर मलाई आजको म बनाएकी हुन् उनै आमाले । मेरी आमा मात्रै होइन म त्यो समयका सम्पूर्ण पीडित आमाहरुलाई समग्र सम्झन्छु जसले सन्तानका निम्ति, आफ्ना निम्ति र श्रीमानका निम्ति समय निकाल्नै पाएनन् । बाध्यता र विवशतामा जेलिएर, थिचिएर आफ्ना अनेकौं भावलाई कुल्चिरहे निरिह बनी । पेटभरी खाना खान पाएनन्, राम्रो राम्रो भई हिँड्न त के सन्तोषको हाँसो हाँस्न पाएनन् । न त हातमा सीप न त परिवारको सौहार्द माया र साथ कति निरिह जीवन बिताए त्यस समयमा आमाले जसमा त्यसको छिटा मेरी आमापनि पर्यो होला तपाइँ जो कोही की आमामा पनि प¥यो होल ा।

अत्यास लाग्छ सम्पूर्ण बोझ, दुःख , पीडा समस्यालाई आफूमा दबाइ परिवार, सन्तानका निम्ति अनवरत रुपमा खटिरहने आमा सम्झँदा । म त्यति गर्न सक्दिनँ जति हजुरआमा, आमाका पालामा गर्नुभयो । सहन क्षमता पर्याप्त मान्नुपर्छ त्यति बेलाका आमामा किनकि आजकी नारीले अन्याय, अत्याचारबिरुद्ध तत्काल आवाज उठाइ हाल्छे अझ भनौँ सम्मान गर्नुपर्ने समयमा पनि अपमान गर्दै हुन्छे । आमाहरुले गर्नुभएको त्याग, तपस्या, स्नेह, पसिनाको मूल्य अहँ हामी सन्तानले चुकाउन सक्दैनौं । मलाई किन–किन यस्तो लाग्छ हामी सन्तान अवसरवादी, स्वार्थी र लालचले घेरिएर आमाहरुलाई बिर्सदैछौं । अझ भनौं आमाहरुलाई दुखाउँदैछौं । आमाले गर्भमा नौ महिना राख्दा कति भोको, तिर्खो थिइन् होला, जन्मपश्चात् पाखा पखेरा जाँदै गर्दा सन्तान भोकायो, तिर्खायो, रोयो कि भनी कति आत्तिइन होला । हतारिँदै दौडदै काँडालाई बेवास्ता गरी काँडामाझ टेकिन् होला । कति पटक ढुंगामा ठेस लागिन् होला, तर पनि उनलाई बिझेन, दुखेन, पोलेन सन्तानप्रतिको सोचाइले, सन्तानप्रतिको मायाले र सन्तान भेट्ने आतुरीले ।

मलाई आजकल मन–मस्तिष्कमा यिनै कुराले गिज्याइरहन्छ, यतिका दुःख–कष्ट भोगेर एक सन्तान होइन । धेरै सन्तान हुर्काउने त्यो समयकी आमाको कोखमा हामी लात त मार्दै छैनौं ? गर्भमा हामी हुँदा, बालक हुँदा उनले हाम्रो लागि सहेका अनेकौं दुःख, कष्ट, पीडामा अहिले हामीले मल्हमपट्टी लगाउन सकेका छौं कि छैनौं ? आमाको महानता, सहनशीलता, धैर्यतालाई हामीले महशुस गर्न सकेका छौं कि छैनौं ?

के हामी पनि आमा जतिकै बन्न सक्छौं ? सन्तानको निम्ति दुःख–कष्ट झेलेका ती समयका आमाहरुका गाला चाउरी परेको छन्, केश फूलेर सेतै भएका छन्, हातखुट्टाले राम्ररी काम गर्न छोडेका छन्, आँखा धमिला बन्दै गएका छन् । अब त आमाहरुको मन पनि कमजोर बन्दै गएको महशुस गर्छु । कठोर सासु–ससुराका नमिठा बचनले पनि नबिथोलिएका ती आमाका मन सन्तानको वियोगले कमजोर बने जस्तै लाग्छ । अब आमाहरुको मन साना–साना कुराले दुख्न थालेको छ । लाग्छ आमाहरु अब सहारा खोज्दै हुनुहुन्छ, लाग्छ आमाहरु एक्लो महशुस गर्दै घरको बलेँसीमा खसेको पानीका थोपासँगै आफू पनि अश्रुधारा बगाउँदै हुनुहुन्छ ।

जतिसुकै कष्ट, पीडामा पनि सन्तानलाई दुःखको छिटा पर्न नदिने आमाहरुमा सन्तान कै कारण पीडा भएको आभाष म किन गर्र्दैछु आजकल ? किन मलाई त्यो समयमा निडरता देखाउने आमाहरु वृद्ध अवस्थासँगै डरैडरमा रहनुभएको महशुस हुन्छ ? म सोच्दैछु आधुनिकताका नाममा सबै शहर पसिसके, आँगनभरी छरिएर खेल्ने, कुद्ने सन्तान आ–आफ्ना बाध्यता र विवशताको खोल ओडी आमाहरुबाट टाढा कोही राजधानी त कोही शहरी क्षेत्रमा रहन थाले । आजकल त ती बुढी आमालाई आउँदैन चाडवाड, आउँदैन कुनै उत्सव । पीडामा मुस्कुराउने आमा पर्वमा रुन थालेकी छिन्, कारण सन्तान नै रहेछन् । सानामा लड्छ कि भनी रुन्थिन् यति हो समानता शुरुवातदेखि अन्त्यसम्म रुवाइ सन्तानकै निम्ति रहेछ । सन्तान भन्ने कुरा नहुँदा परिवार, समाजबाट अपहेलित बन्ने डर हुँदा सन्तान बढेर उसैले हेला गर्ला भन्ने डर आखिर त्यो समयका आमाहरुलाई खुसीको बहार नआएकै रहेछ, निचोडमा पुगेँ ।

निचोडमा पुगेर पनि आज मेरो कलम रोकिन मानेकै छैन । मलाई आमाहरुको त्याग र तपस्या प्रति सन्तानले अन्याय गर्नु हुन्न जस्तै लाग्छ । सकेसम्म आमाहरुलाई कुनै न कुनै तवरबाट उहाँहरु कै आसपासमा छु भन्ने आभाष दिलाउनुपर्छ, जो कोहीले जस्तै लाग्छ । बुढेसकालमा सुखको सास फेर्न दिनुपर्छ । यति मात्र होइन हाम्रो निम्ति अथाह खुशी खोज्न नै पूरा जीवन बिताइदिने आमाहरुका निम्ति हामीले पनि हाम्रो व्यस्त समयलाई मिलाएर आमाका निम्ति समय अवश्य निकाल्न सक्नुपर्दछ । आमाहरुका निम्ति हामीले दिएको थोरै समयले उहाँहरुमा यति खुसी मिल्छ कि जुन कुरा हामी कल्पना पनि गर्न सक्दैनौं ।

हामीले यति कुरा नभुलौं हामी जुन अवस्थामा जे छौं त्यो हाम्रो आमाबुवाको देन हो । आमाबुवा नै हाम्रो पहिलो भगवान र आदर्श हो । उहाँहरु कै छत्रछायामा हुर्किएका सन्तान उहाँहरुबाट टाढा जाने सोच्दै नसोचौं । किनकि सबै कुरा किन्न पाइएला, तर आफ्ना आमाबाबु किन्न पाइन्न । आमा–बुवा हाम्रो जीवनको ऊर्जा हुन् र संसारमा सबै स्वार्थी बन्लान हाम्रो खुसी–दुःखमा ताली, गाली बर्साउलान् । तर, आमाबुवा निःस्वार्थ रुपले हाम्रो खुसीमाभन्दा दुःखमा आकाश बनेर ढाकिरहनु हुन्छ । निरतर जीवनको अन्तिम कालखण्डसम्म पनि अर्थात् जीवनको अन्तिम सास पनि सन्तानकै निम्ति फेरेर विदा लिनुहुन्छ यो सांसारिक मायामोहबाट । आमाबुवाको मन कहिल्यैै नदुखाउँँ, उहाँहरुलाई एक्लो महशुस हुन कदापी नदिऔं, यही हामी सन्तान हुनुको पहिचान हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here