बेल्जियम बेल्जियम दिनान्तको रंगिन सम्झना

0
8

बाल्यकालबाट जवान हुँदै प्रौढतिर बढ्दै गरेको उमेर, जिन्दगीको हाँगामा लहरिँदै जीवनसङ्गिनी, छोरी र छोराको स्नेहले झन् बैंशालु बनाइरहेका छन् यो चञ्चले मनलाई । र त आनन्दित छु । जीवन जगतसँग साक्षात्कार गर्न अनुभव र अनुभूतिका फाँटहरूमा गुड्न हतारिन्छु । मानिसको इच्छा न हो भ्रमण ।

बिहान नौ बजे वासस्थान ब्रसेल्स आन्दरलेकबाट नामुर छेउ (दिनान्त) तर्फको यात्रा टोलीमा हामी दम्पत्ति र छोरी । नयाँ ठाउँको दृश्यावलोकन गर्ने धोको पूरा हुँदै गर्दाको खुशीले गद्गद भएको छु । यताउता नियाल्दा उमालमा पुगेर मेट्रोको टिकट हातमा बोकी मेट्रो चढेर सेन्ट्रल स्टेसनबाट नामुर हुँदै दिनान्त जाने मान्छे मान्छे । भिड त्यस्तै, यो समयमा युरोपभरि (दुई महिने छुट्टी) भ्याकेसन लागेको छ । ट्रेन स्टेशनमा टिकेट लिनेको भिड छ । हतार छ सबैलाई पुग्नु छ गन्तव्यमा । हामी पनि ट्रेन चढ्यौं ।

बेल्जियमको राजधानी ब्रसेल्सबाट झन्डै नब्बे किलोमिटर टाढा रहेको युरोपको पुरानो ऐतिहासिक शहर दिनान्त जाँदैछौं । कुदिरहेको रेलमा तीन जना नेपाली छौं । रेलभरि मान्छे छन् थरीथरीका । एसियाली, अफ्रिकी, युरोपेली, अरबी, र मलेसिया आदि अनेक हुलिया बोकेका अनुहारको हुल छ रेलमा । मलेसियाबाट आएका चार वटी केटीहरू हाम्रै आमनेसामने छन् । हाम्रा आँखा जुध्छन् घरी–घरी । कपाल पुरै ढाकेका हेर्दा सोह्र–सत्र वर्षका लाग्ने । अश्वेतहरूको भिडभाड बढ्ता छ । सफा, सिनित्त र सुकिला छन् रेलका डिब्बा र सिट ।

झोलाबाट कृष्ण बजगाईंद्वारा लिखित ‘भाय साक्रा’ यात्रारत स्थानको वर्णन, यात्रा अनुभूति र तिनीहरूसँग सम्बन्धित तथ्य मिथकहरूको समिश्रणलाई धेरथोर युरोपियन देशका विभिन्न ठाउँमा गरिएका यात्रालाई विषयवस्तु बनाई लेखिएका कुराहरू आमा–छोरीलाई सुनाउँदा दुबैले लेखकको मनग्गे प्रशंसा गरे ।

नेपाली साहित्यमा पछिल्लो समय यस किसिमको गम्भीर र बौद्धिक नियात्रा कृति पढ्न पाउनु दुर्लभ अवसर नै मान्नु पर्छ भनेँ मैले । प्रचण्ड गर्मीमा पनि वातानुकूलित साधनले ट्रेनभित्र हाम्रो यात्रालाई सहज तुल्याएको थियो । सफा एवम् चौडा सडक, सडकको वरिपरि रङ्गीचङ्गी फूल फुलेका बगैँचाहरू, कलात्मक गगनचुम्बी भवनहरू, हेर्दै आनन्द आउने आकाशे नागबेली पुलहरू पार गर्दै सीपयुक्त परिश्रममा फलेका अन्नबाली, गाउँ र बस्तीहरू, हरियो जङ्गलको घेरो र कतिपय ठाउँमा विशाल खाली चरनहरू हेर्दै त्यहाँ पुगियो । अचम्मको प्राकृतिक लीला ।

प्राकृतिक सौन्दर्यमा रमाउन चाहने जोसुकैका लागि पनि दिनान्त विशिष्ट आकर्षणको केन्द्र हो । वास्तवमा युरोपियनहरूले विज्ञान र प्रविधिको सहयोगले आफ्नो समाजलाई धेरै उन्नत स्थितिमा पु¥याएका रहेछन् । सफा र सुन्दर सडक, व्यवस्थित यातायात सेवा, योजनाबद्ध शहरीकरण, व्यक्तिगत र सामाजिक अनुशासनको परिपालनाबाट स्थापित सामाजिक सु–व्यवस्था आदि युरोपियन जनजीवनको विशिष्ट पक्ष रहेछ । हाम्रो समाजलाई फेर्नको लागि हामीले र हाम्रा शासक वर्गले पनि युरोपियनहरूबाट सिक्नु पर्ने थुप्रै पक्ष रहेछन् भन्ने सोच्दै जन्मभूमिलाई सम्झिए ।

बाटाभरि हाम्रा लेखमा पाइने रुख बिरुवाहरू, बाटामा हिमाली भेकमा पाइने धुपी र सल्लाका बोटहरू थुप्रै देखिन्थे । तर, कहाँ देख्न पाउन र हाम्रा देशका चिलाउने, टाँकी, पीपल, खन्यू, ऐँसेलु, बयर, धुपी, सल्लो, खयर आदि नाना प्रकार र जातका बोट वनस्पतिले ढाकिएको साँच्चै नै भू–स्वर्ग लाग्ने आफ्नै देशको याद आयो । तलबाट हेर्दा भित्तामा फिँजिएको विशाल ‘अक्करेभीर’, केही पनि नखसोस भनेर सुरक्षाको दृष्टिकोणले खोपेर चट्टानभरि तार जालीले सबैतिर घेरिएका देखिन्थे । कसरी यो सम्भव भयो भनेर मनमनै एक्लै बर्बराएँ म ।

युरोपियन पर्यटकहरू यहाँबाट धमाधम माथि उक्लिरहेका थिए । हामी पनि आन्तरिक पर्यटन नै हौ भन्दै अघि बढ्न थाल्यौं । वरिपरि हरियालीको बीचमा सिँढीयुक्त उकालो जति चढ्यो अर्को उकालो चुनौती बनेर उभिन्थ्यो । पहाडको अक्करे भीरमा पनि यति सुन्दर बनौट, यति भव्य अवस्थिति विश्वास गर्न आँखैले देख्नुपर्ने रहेछ । अनौठो प्राकृतिक भू–धरातल । सिँढी नचढ्नेहरूका लागि भिन्दै ठाडो उकालो र केबुलकारको अर्कै बाटोको व्यवस्था गरिएको छ । हामी पनि विदेशको उकालीको अनुभव लिनलाई हिँडेरै जाने निधो गरी अघि बढ्यौं । चार सय आठ खुड्किलालाई गन्दागन्दै पाइलाहरू गतिहीन भइरहेका थिए, स्याँ स्याँ र फ्वाँ फ्वाँ गर्दै खुट्टा चालिरह्यौं ।

हेर्दा राम्री फरासिली स्पेनकी युवती लारा यही उकालोमा भेटिई । ऊ नेदरल्यान्डको केटोसँग पदयात्रामा आएकी रहिछ । उकालोमा उसको उत्साह देखेर हामी चकित प¥यौं । लगभग बाह्र बजे हामी माथि पुग्दा डम्म मिलेका ठाउँमा शितल छहारी र रेस्टुरेन्टमा आनन्दले रमाइरहेका मान्छेहरूको भिड देखिन्थ्यो । मानव मेहनत र प्रकृतिको वरदानले सजिएको सुन्दर धरा जहाँबाट तल हेर्दा परको सागरबाट एउटा सङ्लो नदी निस्केर बगिरहेको जस्तो देखिन्थ्यो आफ्नै सुरमा । रातो डल्लो भएर थकित सूर्य हामी पछिल्तिर खस्दै थियो । म पनि मनमनै मुस्कुराएथेँ ।

युरोपियनहरूको सोच, शैली, संस्कार र व्यवहार देखेर जति प्रफुल्लित थिएँ, म उति नै नेपालको अव्यवस्था सम्झेर दुखित पनि । यता सधैँ पद्धति बसाल्ने असल नेतृत्वको राज, उता पद्धति भत्काएर फाइदा लिने जङ्गली राज मौलाइरहँदा मनभरि दुख्छु । उता आमा छोरी सेल्फी लिनामा व्यस्त छन् ।

माथि पुगेरभित्र घुमी–घुमी हेर्दा कतै म्युजियम कतै १९१४ देखि १९१८ सम्म प्रथम विश्वयुद्ध जल, थल तथा आकाशमा लडिएको दृश्य थियो । युद्धमा अभूतपूर्व ज्यान–मालको क्षति भएको थियो । यो विश्व युद्धमा ६० मिलियन मिलिटरीलाई सञ्चालन गरिएको थियो र १६ मिलियन मानिसहरूले ज्यान गुमाएका थिए । त्यसमध्य नौ मिलियन मिलिटरी र सात मिलियन सिभिलियनहरूले आफ्नो जीवनलाई बलिदान गरेका थिए ।

त्यो युद्धमा सेनाहरू कति घाइते भए, कति मारिए, कति हराए र कति अङ्गभङ्ग भए त्यसको लेखाजोखा छैन । यो लडाइँ धेरैजसो यही भूमिको आसपासमा भएको थियो । जर्मन डिवीजनले एक साथ म्युजे (ःभगकभ) नदीको दाहिने किनारमा आक्रमण गरे तथा प्रथम एवम् द्वितीय युद्ध मोर्चामाथि अधिकार जमाएका थिए । त्यहाँभित्र ऊ बेलाका डरलाग्दा गुफा कतै अन्धकार हलमा युद्धमा सुनिने मिश्रण चिच्याहट र बारुद गोलीको आवाज सुनिन्थ्यो ।

केबुलकारबाट झर्ने निधो भो । सबै चढ्यौ । एकैपटक १३ जना (१३६०) किलोग्रामको भार वहन थाम्न सक्ने र सुरक्षाको बारेमा लेखिएको थियो । म जस्ता भिर र अक्करमा खेलेकालाई पनि माथिबाट तल हेर्दा मन चिसो हुन्थ्यो । यताउता नियाल्दा सबै डराइरहेका जस्ता देखिन्थे ।

आनन्दित भएँ म युरोपियन विकासको तीव्रगतिसँग अनि गौरवान्वित भएँ म मान्छेले गर्न चाहँदा हुन सक्ने विकासको परिणाम देखेर । अजङको पहाड मुन्तिर म्युस (ःभगकभ) नदीको किनारमा अवस्थित १३औं शताब्दीतिर बनाइएको विशाल चर्च छ, जसको रूपरोगन र भित्री बाहिरी आकृति हेर्दा लाग्छ यो पक्कै कुनै राज खानदानको दरबार हो ।

क्षितिज मुन्तिर बेगिएको नदी (ःभगकभ) शीतल बतासको मधुर झोक्कासँग रमाउँदै हुलकाहुल बालबालिकाहरू आमा बुवासँग आइस्क्रिम खाँदै रमाउँदै हिँडिरहेका देखिन्थे । के बुढा के बुढी सबै आलिङ्गनमा आनन्दित हुँदै मुस्कुराइ रहेका थिए । रात होस् या दिन, मुस्कुराउन समयले कसैलाई छेक्दो रहेनछ ।

मनमनै सोच्छु सानो प्राप्तिमा ठूलो खुशी खोज्ने ठाउँ प्रकृति नै रहेछ र त्यो देशको विकास रहेछ । यात्रा गर्नु भनेको पुस्तक पढ्नुभन्दा महत्वपूर्ण हो भन्ने कुरा कता–कता पढेको याद आयो । कसिला भेस्ट र टपक्क टाँसिएका मिनिस्कर्टमा सेता तिघ्रामा अनेक रङ्गरोगनका ट्याटु देखाउँदै हिँडिरहेका केटीहरू आफ्नै धुनमा व्यस्त छन् । मास नदीको किनारमा आलिङ्गनबद्ध थुप्रै युवा युवतीहरूले माया साटासाट गरिरहेका थिए । म्युस (ःभगकभ) नदी सुस्तरी बग्दै थियो आफ्नै पारामा ।

पर्यटकको मुख्य आकर्षक यस नदीमा दुई तले पानी जहाजको (फेरि) माथिल्लो तल्लामा चिसो पिउँदै वरपरका ऐतिहासिक स्मारकहरूको दृश्यावलोकन गर्दै रमाइरहेका थिए । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको यो (ःभगकभ)नदीका वारिपारि प्रशस्तै रेस्टुरेन्टहरू देखिन्थे । रङ्गीचङ्गी बियरका छातामुनि अर्धनग्न प्रेमिल युगल जोडीहरू मुखले मुख सेकिरहेका देखिन्थे । नदीभरि कुदिरहेथे रङ्गिन डुङ्गाहरू जलपरीहरूसँगै । दुई तले सिपमा चढेर नदीका छालहरूसँग रमाउन थाल्यौं हामी । सुन्दरताको रङ छरिएपछि जुनसुकै चिज पनि चम्किँदो रहेछ ।

हेर्छु ओरिपरी, सुन्दर सहरको शान्त (ःभगकभ) नदीमा विचारका अनेक छाल ओहोरदोहोर गर्छन् मनभरि । खचाखच छन् सिपभरि मान्छे । फक्रँदै गरेको फूलको थुङ्गो जस्ती लाग्ने मोरीहरू ओरिपरी छन् । बतासको कामुक स्पर्श, गोरी मोरीहरूको राताम्मे अनुहार सेल्फीमा कैद गरिरहेका देखिन्थे ।

वारिपारि नियाल्दानियाल्दै ४५ मिनेट बितेको पत्तै भएन । हतार–हतार थकित ज्यान रेलको प्रतीक्षालयको एउटा कुर्सीमा थन्काएर आँखा ब्रसेल्स जाने रेलको प्रतीक्षामा प्लेटफर्ममा समयको सूचना दिने ‘मोनिटर’ तिर हेर्दाहेर्दै रेल टुप्लुक्कै आइपुग्यो र चढ्यौं रेलमा बाउ–माउ र छोरी । जीवन पर्यन्तसम्म रहिरहोस् दिनान्तको रङ्गिन सम्झना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here