रोकिएला भ्रष्टाचार ?

0
8

भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर ९ मा विश्वभर यो दिवस मनाउने गरिन्छ । भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गर्नुपर्नेमा जोड दिएर यो वर्ष दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्र संघको भ्रष्टाचारबिरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुल्ला गरिएको थियो । सोही समयदेखि डिसेम्बर ९ लाई भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने गरिएको छ । यस दिवसमा विश्वभर सरकारी र नागरिक संघ–संस्थाहरूको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न काम हुने गर्छन् ।

भ्रष्टाचार न्यूनीकरण र सदाचार प्रवद्र्धनका लागि नागरिकस्तरबाट सक्रिय रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल यस दिवसका अवसरमा संयुक्त राष्ट्र संघीय महासन्धिका प्रावधान बमोजिम नेपाली ऐन–कानूनमा आवश्यक सुधार र थप नयाँ कानूनको निर्माणतर्फ यथाशीघ्र आवश्यक कदम चाल्न सरकारी कार्यहरू थप पारदर्शी एवम् प्रभावकारी र चुस्त बनाउँदै भ्रष्टाचारको सम्भावना न्यून गर्न सरकारलाई अनुरोध गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नागरिकलाई पनि महासन्धी कार्यान्वयन हुने वातावरण बनाउन सरकारलाई दवाब दिन, भ्रष्टाचार रोक्ने मुख्य जिम्मेवारी सरकारको हो भन्ने कुरामा सचेत रहन, भ्रष्टाचार नियन्त्रणमा युवाको संलग्नता बढाउन, शिक्षा र स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रलाई भ्रष्टाचारबाट जोगाउन र भ्रष्टाचारलाई उजागर गर्न अपिल समेत गरेको छ ।

संसारभर भ्रष्टाचार प्रतिको चेतनामा वृद्धि गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मानिसहरूमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउन सकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ भ्रष्टाचारीहरूलाई कारवाही गरेर उदाहरण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटोतर्फ अघि बढ्न सकिन्छ । नेपालमा कुनै पनि संस्था या राज्यका विभिन्न अङ्गमा रही पदमा रहेका व्यक्तिहरूले आफ्नो अधिकारको दुरुपयोग गरेमा कारवाही गर्न संवैधानिक निकायका रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।

नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ । तर, आयोगले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । पछिल्लो समय विकासोन्मुख मुलुकमा भ्रष्टाचार बढ्दै गएको विभिन्न तथ्याङ्कहरुले देखाएका छन् ।

नेपालमा स्थानीय तहमा धेरै भ्रष्टाचार हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीले पुष्टी गरेका छन् । स्थानीय तहमा नितगत भ्रष्टाचार धेरै हुने गरेको जनाइएको छ । कागजी प्रक्रिया मिलाएर हुने भ्रष्टाचारका कारण उनीहरुलाई कानूनी दायरामा ल्याउन समेत समस्या हुने गरेका छन् । झापामा पनि यस्ता भ्रष्टाचारले बढवा पाएका गुनासो बढ्दै गएको छ । भ्रष्टाचार कै कारण देशको विकास हुन नसकेको जनाइएको छ ।

सिमित व्यक्ति मोटाउने तर लक्षित वर्गासम्म सेवा र सुविधा नपुग्ने गरेका कारण पनि नेपालमा भ्रष्टाचार बढ्दै गएको जनाइएको छ । भ्रष्टाचार एक वा एकभन्दा बढी व्यक्ति वा संस्थाका गतिविधिसँग जोडिएको विषय भएकाले यसलाई तोड्न प्रभावकारी रुपमा जनचेतना बढाउनुपर्नेमा नेपालका सम्बन्धित निकायहरुले जोड दिन जरुरी छ । भ्रष्टाचारबिरुद्ध सबै एकजुट भए भ्रष्टाचारको सञ्जाल जरैदेखि उखेल्न सक्ने भन्दै भ्रष्टाचार रोक्ने अभियानमा सहयोग गर्न सबैसँग एकजुट हुन आजको दिनले सबैमा प्रेरणा मिलोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here