सशस्त्र प्रहरीको मिलेमतोको जालो नेपाल प्रहरीले तोड्यो, घुस दिन खोज्ने पक्राउ

0
22

झापा । सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेलका घुमुवा सशस्त्र प्रहरी सहायक निरीक्षक सिकेन्द्र कुँवरको सेटिङ र मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको जालो शनिश्चरे प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुमार खड्काले तोडेका छन् ।
दक्षिणी इलामका सामुदायिक वन र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने सामुदायिक वनबाट हुँदै आएको काठ तस्करी रोक्न प्रहरी नायव निरीक्षक खड्का ‘एक्सन’ मा उत्रिएसँगै सशस्त्र प्रहरीसँगको मिलेमतोमा हुँदै आएको काठ तस्करीको जालो तोडिएको हो । अर्जुनधारा–५ बाँसबारीस्थित भित्री सडकखण्डबाट काठसहित ट्याक्टर नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय झापालाई बुझाएसँगै सशस्त्र प्रहरी बल शनिश्चरे र सशस्त्र प्रहरी वल खुदुनावारीसँगको मिलेमतोमा लामो समयदेखि हुँदै आएको तस्करीको जालो तोडिएको हो ।
सशस्त्र प्रहरी वल शनिश्चरेका प्रहरी नायव उपरीक्षक राजेश्वरप्रसाद साह र सशस्त्र प्रहरी वल खुदुनावारीका प्रहरी नायव निरीक्षक हिरबहादुर राईसंगको मिलेमतोमा काठ तस्करी हुने गरेको खुलेको हो । सशस्त्र प्रहरी वल शनिश्चरेका प्रमुख साह करिव पाँच महिनाअघि शनिश्चरेको कमाण्ड सम्हाल्न आएदेखि नै तस्करीको धन्दा चलाउनेहरुसंग रकम असुल्ने कार्य गर्दै आएको र सशस्त्र प्रहरी वल खुदुनावारीका प्रहरी नायव निरीक्षक राई दशैं अघि मात्रै खुदुनावारीको कमाण्ड सम्हाल्न आएका थिए । उनलाई समेत यस अघिका सशस्त्र प्रहरीका इञ्चार्ज अमर भुजेलले लाइन मिलाइदिएको श्रोतको दावी छ । अस्थायी प्रहरी चौकी खुदुनावारी र सशस्त्र प्रहरीवल खुदुनावारीको कार्यक्षेत्र पार गर्दै तस्करीको काठ अर्जुनधारा भित्रिएसंगै शनिश्चरे प्रहरी चौकीका प्रहरी नायव निरीक्षक खड्काले नियन्त्रणमा लिएका थिए ।
काठ जुकेखाडी सामुदायिक वन क्षेत्रबाट आएको बताइन्छ । शनिबार बिहान साढे ५ बजेको समयमा अर्जुनधारा नगरपालिका– ५ बाँसबारीस्थित भित्री सडक खण्डबाट काठसहितको ट्याक्टर नियन्त्रणमा लिएर दक्षिणतर्फ आउँदै गर्दा विशेष सुराकीको आधारमा प्रहरी नायव निरीक्षक खड्काले काठसहित ट्याक्टर नियन्त्रणमा लिएका थिए । काठ बोकेको ट्याक्टर नियन्त्रणमा लिए लगत्तै प्रहरी नायव निरीक्षक खड्कालाई तत्काल ९५ हजार रुपैयाँ घुस दिएका थिए । केही समयपछि चार लाख रुपैयाँ घुस उपलब्ध गराउने भन्दै आफूसँग अहिले ९५ हजार रुपैयाँ मात्र रहेको र बाँकी प्रहरी चौकीमै पु¥याउने भन्दै तस्करीमा सम्लग्न उम्कन खोजेका थिए । तर, घुस रकमसहित अर्जुनधारा–३ निवासी ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँका ३८ वर्षीय रोहित घतानीलाई समेत पक्राउ गर्दै जिल्ला वन कार्यालय झापा पठाएसँगै खुदुनावारीबाट हुँदै आएको काठ तस्करीमा ब्रेक लागेको हो । ‘ट्याक्टर नियन्त्रणमा लिए लगत्तै आफूलाई चार लाख रुपैयाँ घुस स्वरुप उपलब्ध गराउने र ९५ हजार रुपैयाँ तत्कालै दिन्छौं भनेका थिए– प्रहरी नायव निरीक्षक खड्काले भने– प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने भन्दै उनीहरुलाई समेत नियन्त्रणमा लिएर जिल्ला पठाएको हुँ ।’ उत्तरबाट दक्षिणतर्फ मे१त ८०५ नम्बरको ट्याक्टरमा काठ आउँदै थियो– उनले भने– ‘गोप्य सूचनाको आधारमा हामीले सो ट्याक्टरलाई फलो गरेर नियन्त्रणमा लिएका हौं । माटोले छोपेर काठ ल्याइँदै थियो ।’
प्रहरीले बरामद गरेको काठमा चिरान ५ फिट लम्वाइका २ थान, ६ फिटका ११ थान, ७ फिटका १९ थान, ८ फिटका २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्युफिट सखुवा जातको काठ फेला परेको थियो । बरामद गरिएका काठको मूल्य मात्रै २ लाख ७० हजार रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । सशस्त्र प्रहरी वल शनिश्चरेका प्रहरी नायव निरीक्षक साहले तस्करीको लाइन मिलाउन सशस्त्र प्रहरी सहायक निरीक्षक सिकेन्द्र कुँवरको प्रयोग गर्ने गरेको बताइन्छ । कुँवर यसअघि जिल्लाको घुमुवाको रुपमा काम गर्दै आएका थिए । तर, उनको पश्चिम सिन्धुपाल्चोक सरुवा भएसँगै उनले नेकपा एमालेको शक्ति प्रयोग गरेर सशस्त्र प्रहरी वल शनिश्चरेमा काज मिलाएका थिए । उनी सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेल विश्वास पात्रका रुपमा समेत सशस्त्र प्रहरी वृत्तमा चिनिन्छन् ।


जिल्लामा कार्यरत रहँदा कुँवरलाई कुन क्षेत्रबाट के को लाइन चलाउन सकिन्छ भन्ने ज्ञान भएकाले अर्जुनधाराबाट काठको लाइन मिलाउन सशस्त्र प्रहरीका डीएसपी साहको नजिक बनेर तस्करीको सेटिङ मिलाउँदै आएको श्रोतको दावी छ । यता सशस्त्र प्रहरीबल शनिश्चरेका प्रहरी नायव उपरीक्षक साहले तस्करहरुसंग आफ्नो साँठगाँठ नरहेको बताएका छन् । आफ्नो घर जाने बेला भएको छ, म कुनै प्रलोभनमा नपर्ने उनले बताए । आफूले पनि नेपाल प्रहरीले काठ बरामद गरेको सुनेको र सो विषयमा अन्य जानकारी नभएको भन्दै काठ तस्करीमा आफ्नो संलग्नता नरहेको दावी गरे ।

इलामको दक्षिणी भागमा रहेका वनसंगै अर्जुनधारा क्षेत्रभित्र हचुमासा, हलुवागढ, सुखानी, शान्ति, जुकेखाडी, दहीझोडा सामुदायिक वन रहेका छन् । सामुदायिक वनबाट हुने गरेको काठ तस्करीमा सशस्त्र प्रहरीको मिलेमतो रहने गरेको स्थानीयले समेत बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here