वृद्धाश्रममा जातीय विभेद

0
6

मोरङ।

मोरङको एक बृद्धाश्रममा जातीय विभेदको घटना सार्वजनिक भएको छ । दलित भएकै कारण मोरङको उर्लाबारी नगरपालिका–७ निवासी ६२ वर्षीया शोभा सुन्दासलाई बृद्धाश्रममा बस्न नदिएर फर्काइएको घटना सार्वजनिक भएको हो । सुनदासका आफन्त कोही छैनन् । सकुञ्जेल त उनले ज्यालामजदुरी गरेर ज्यान पालिन् । तर, केही वर्षयता वृद्ध उमेर र रोगका कारण काम गर्न नसक्ने भएपछि छरछिमेकको सहारामा बाँचिरहेकी छन् ।

त्यसैले उनले हालै उर्लाबारी–१की वडासदस्य टीका भुजेललाई भनिन्– ‘मलाई कतै वृद्धाश्रमतिर लगिदिनूस् न, धर्मै हुन्छ ।’ त्यसपछि वडासदस्य भुजेलले वृद्धाश्रमको खोजी शुरु गरिनन् । यसै क्रममा उनले विराटनगरको पुष्पलाल चोकस्थित जागृति आश्रमको फोन नम्बर पत्ता लगाएर सञ्चालक भूवनेश्वरी आचार्यलाई फोन गरिन् ।

‘उहाँले ओके गर्नुभयो, मलाई मन्त्रालयबाट पनि फोन आएको छ राख्नू भनेर, पठाउनू भन्नुभयो’– वडासदस्य भुजेलले भनिन्– ‘अनि मैले उहाँ (शोभा) को नागरिकताको फोटोकपी, वडाको सिफारिस सबै मिलाएर एकजना बैनीको साथमा जागृति आश्रममा पठाएँ ।’ यही मंसीर १४ गतेको कुरा हो । आश्रममा बस्न भनेर आएकी शोभा सुन्दासलाई सञ्चालक भूवनेश्वरीले सोधिन्– ‘तपाईंको नाम, थर के हो ?’

शोभाले जवाफ दिइन्– ‘शोभा सुन्दास ।’ त्यसपछि भूवनेश्वरीले फेरि सोधिन्– ‘यो सुन्दास भनेको के हो ?’– शोभाले भनिन्– ‘दर्जी ।’ ‘ओ हो ! यस्तो (जातको) मान्छे त हामीले राख्ने गरेका छैनौँ’, यति भनेर भूवनेश्वरीले वडासदस्य भुजेललाई फोन लगाइदिन अनुरोध गरिन् । ‘मलाई फोन आयो, त्यो दिदी (भूवनेश्वरी) बोल्नुभयो’– वडासदस्य भुजेल भन्छिन्– ‘तपाईंको मान्छेलाई राखिनँ भन्नुभयो !’ पहिल्यै त्यत्रो सल्लाह गरेका, पठाइदिनू भनेपछि नै पठाएको हो ।

भूवनेश्वरीले जवाफ दिइन्– ‘उहाँ त यस्तो (‘अछूत’) जातको हुनुहुँदोरहेछ ।’ यसपछि उनले आश्रम सञ्चालकलाई प्रश्न गरिन्– ‘दिदी, दलित भएकै कारण उहाँले आश्रममा बस्न नपाउने ?’ यसपछि भूवनेश्वरीले आफ्नो असथर्मता व्यक्त गरिन् । उनले भनिन्– ‘होइन बैनी, मैले मात्र भनेर हुँदैन, सबैले मान्नुप¥यो । म सबैसँग सोध्छु । मिटिङ बोलाउँछु, अनि मात्र भन्न सक्छु ।’

‘उहाँ पन्छिनु भो । जातीय विभेदकै कारण उहाँ बस्न नपाउनुभएको हो’– भुजेलले भनिन् । जिल्ला प्रहरी कार्यालय, मोरङमा आश्रम सञ्चालक भूवनेश्वरी आचार्यबिरुद्ध उजुरी पनि परेको छ । तर, आचार्यले आफूले जातीय विभेद नगरेको दावी गरिन् ।

उनले भनिन्– ‘मैले त्यस्तो गरेको छैन, यहाँ भाइसँग कुरा गर्नुस् ।’ फोनमा कुरा गर्दै आफूलाई आश्रमको दाता बताउने रेवत कार्कीले आश्रम सञ्चालक भूवनेश्वरीको प्रतिरक्षा गर्न खोजे । उनले भने– ‘आश्रम चलाउने दिदी पनि ८५÷८६ वर्षकी हुनुहुन्छ, उहाँलाई आफूले के बोलेँ भन्ने पनि त्यति थाहा हुँदैन । केही त उहाँले भन्नुभो होला, त्यसका लागि मैले सरी भनिसकेको पनि छु ।’ कार्कीले आफू लायन्स क्लबको पूर्वडिस्ट्रिक्ट गभर्नर भएको जानकारी दिँदै आफ्नै अगुवाइमा उक्त आश्रमका लागि ३५ लाखको भवन बनिरहेको बताए । कार्कीले थपे– ‘जुन हिसाबले इस्यु (जातीय विभेद) बनाइएको छ, त्यस्तो खालको इस्युचाहिँ होइन यो ।’

भूवनेश्वरीविरुद्ध उजुरी

जात थाहा पाएपछि आश्रमबाट फर्काइएकी शोभा सुन्दासले सञ्चालक आचार्यविरुद्ध जातीय विभेद अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

यही मंसीर २० गते दिएको उजुरीमा उनले भनेकी छन्– ‘म निवेदक मिति २०८०/८/१४ गते उर्लाबारी–३ को सिफारिसहित पुष्पलाल चोकमा रहेको जागृति आश्रममा बस्न भनी आएकी थिएँ । तर, तपाईं दलित हो, दलितहरूलाई यहाँ राख्न मिल्दैन भनी मलाई सो आश्रमबाट हटाइदिएको, मेरा आफ्ना आफन्त कोही पनि नभएको हुँदा आश्रममा बस्न भनी सम्बन्धित ठाउँको सिफारिससहित आएकोमा दलित भनी हेलाहोचो गरी आश्रममा बस्न नमिल्ने भनी बस्न नदिएको, हाल नेपाल छुवाछूतमुक्त देश भइसक्दा समेत दलितमाथि हेलाँहोचो गरेको हुँदा विपक्षीलाई झिकाई कारबाही गरिपाऊँ ।’

प्रहरी प्रमुखलाई थाहै छैन !

शोभा सुन्दासले आश्रम सञ्चालकले जातीय विभेद गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको आज ३ दिन भइसक्यो तर त्यहाँका प्रहरी प्रमुख एसपी दीपक पोखरेल अहिलेसम्म यस विषयमा आफूलाई जानकारी नभएको बताउँछन् ।

‘मैले बुझ्नुपर्छ । आज शनिबार बिदाको दिन भएकाले सम्बन्धित फाँटका मानिस छैनन्’– उनले भने– ‘भोलि (आइतबार) म बुझ्छु ।’ तर, आश्रमका दाता कार्कीले आश्रम सञ्चालक भूवनेश्वरीलाई जिल्ला प्रहरी कार्यालयबाट खबर भइसकेको बताएका छन् । ‘दिदी भूवनेश्वरीलाई एसपी कार्यालयले बोलाएको छ’– कार्कीले भने– ‘म आफैँ जान्छु त्यहाँ, छलफल गर्न ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here