हाम्रा अनुभूतिहरु विमोचित

0
6

विर्तामोड।

पूर्वशिक्षक बिनोदकुमार ओली, उनका धर्मपत्नीहरु भद्रशीला एवम् खिनकुमारी ओलीको स्मृतिमा प्रकाशित ‘हाम्रा अनुभूतिहरु’ शनिबार बिर्तामोडमा विमोचन भएको छ ।

सरोजकुमार ओलीको सभापतित्व एवम् बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका अधिकांश वक्ताले स्मृति ग्रन्थले तत्कालीन समाजको ऐनाको काम गर्नुका साथै भावी पुस्तालाई प्रेरणा प्रदान गर्ने बताए ।

पुस्तकको समीक्षा गर्दै साहित्यकार, सम्पादक हरिनारायण भट्टराईले यो इतिहास, भूगोल, संस्कृति, राजनीति, शिक्षाशास्त्र, अध्यात्म आदिको समिश्रण भएको बताए । उनले भने– ‘स्मृति ग्रन्थ आफैंमा इतिहासको खोजी र निर्माण पनि हो । सबै वर्गका मानिसको आफ्नो इतिहास हुन्छ । समाजमा सबैको केही न केही योगदान हुन्छ ।’

संविधानसभा सदस्य भक्तबहादुर खपाङ्गीले यो स्मृति ग्रन्थ बिनोद ओली सरको कथा मात्र नभएर यसले भावी पुस्तालाई मार्गदर्शन गर्ने बताए । राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटीले स्मृति ग्रन्थ प्रकाशनको काम स्तुत्य रहेको बताउँदै बधाइ दिए । सामाजिक, राजनीतिक व्यक्तित्व कृष्ण हुमागाँईले विनोद सर र गुरुआमाहरुको कथाले तत्कालीन समाजको कथा भन्ने बताउँदै आउँदो पुस्तालाई बाटो देखाउने धारणा राखे ।

कार्यक्रममा बिर्तामोड नगर पालिकाका पूर्वप्रमुख धु्रवकुमार शिवाकोटी, साहित्यकार एवम् प्राज्ञ लक्ष्मी उप्रेती, ओली वंश प्रतिष्ठानका अध्यक्ष उमेशचन्द्र ओली, रुद्रगौरी–श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली लगायतले आ–आफ्नो धारणा राखेका थिए । १७ वटा लामा, छोटा लेख समावेश गरिएको उक्त पुस्तकको सम्पादन मोहनप्रसाद ओलीले गरेका हुन् ।

कार्यक्रममा उनले आफ्ना बुवाआमाहरुको प्रेरणा र सम्झनालाई ताजा बनाइ राख्न कृति प्रकाशन गरेको बताए । कार्यक्रममा स्व. ओलीका तेह्रथुमदेखि झापासम्मका थुप्रै विद्यार्थीहरुले आफ्ना गुरुलाई श्रद्धापूर्वक स्मरण गरेका छन् । किताबको परिशिष्टमा तत्कालीन समयका दुर्लभ तस्बीरहरु, लिखतहरु एवम् ओलीहरुको वंशवृक्षसमेत समावेश गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here