लिभिङ टुगेदर

0
7

घरको अवस्था त्यति नराम्रो थिएन । बुवा गाउँ नजिकैको बजारमा सानो निजी व्यावसायिक काम गर्दथे । आमा घरधन्दा, आउने–जाने, आफन्त, खेतबारी, आदि मै व्यस्त हुन्थिन् । खान लाउनको त्यति गाह्रो हुन्नथ्यो । तर, सबै साथी विदेशकै कुरा गर्थे, कमाइको कुरा गर्थे, राम्रा राम्रा फोटाहरु पठाउँथे ।

टिकटक, इन्स्टाग्राम र फेसबुकमा आउने साथीहरुका रङ्गीन तथा अन्तरङ्ग गतिविधिले आशाको आशा चुलिन थालेको थियो । यूएईमा बस्ने उनकी फुपुकी छोरी सोफीसँग उनको वाट्सेपमा कुराकानी भैरहन्थ्यो । एकदिन आशा बीबीएको सेकेण्ड सेमीको तयारीको लागि राति १२ बजेसम्म बसिन् । सोफीसँग कुरा नगरी रहन सकिनन् ।

‘तँ तुरुन्त मिलार आइज, चार–चार बर्ष पढेर समय किन कटाउँछेस ?’ –सोफीको कुरा सुनेर आशाले भनिन् ‘हुन त हो तर…’
सोफीले तुरुन्तै भनिन्– ‘के तर, तेरो विश्वविद्यालयले रिजल्ट निकाल्दासम्म तेरो अरु दुई बर्ष अझ खेर जान्छ ।’
सेकेन्ड सेमको परीक्षा सकेर आशाले पडा्इ छोडिन् । ऊनी यूएईको ‘अल हीरा बीच’ नजिकैको स्थानमा पुगिन् । बीचको दृश्यले उनी रोमाञ्चित हुन्थिन् । उनलाई सोफी कै जस्तो जीवन जिउन मन लाग्यो ‘लिभिङ टुगेदर’ । रुपमा उनी छी भन्ने थिइनन् । पाल्पाको शितल भन्ने केटोसँग कति छिटो पिरती बस्यो पत्तै भएन । उनीहरु एकै कोठामा बस्न थाले । अनौपचारिक, अनाधिकृत श्रीमान–श्रीमती भएर बस्दा झन् उमङ्ग भएको सोचिन । न सासू, न ससुरा, न त कोही कसैको डर । आकाशका स्वतन्त्र पंक्षीको जोडी जस्तो आफ्नो जोडी भएको जस्तो लाग्थ्यो । आशा कपडा दोकानमा काम गर्थिन्, शितल मोबाइल कम्पनीमा ।

‘कति छिटो पाचौं बर्ष बितिसकेको ?’ आशाले जीवनमा बाँच्ने आशाको त्यान्द्रोसम्म नराखी एक्लै शुस्केरा हालिन् । पेटमा सात महिनाको गर्भ छोडेर शितल यूके गएको पनि महिना दिन भयो । उतै पढाईको भिजा मिलाउँछु भनेर यूएई छोडेको दिनदेखि कहिल्यै सम्पर्क भएन । न विवाह दर्ता थियो, न केटाको परिवारको जानकारी नै थियो उनलाई । विवाह गरौं भन्दा भरेभोलि भन्दै टार्ने गर्दथ्यो । सबै कुरा सम्झँदै उनी दिनरात रुन थालिन् । घरमा बुवा–आमालाई भन्ने कुनै शब्द थिएनन् न आँट र हिम्मत नै थियो ।

होटल व्यवसायी धनबहादुर राईले उद्धार गरेर नेपाल फर्कने टिकट मिलाई दिए । बीबीए सँगै पढेका कति साथीहरु बैंक र राम्रा फाइनान्स कम्पनीहरुमा काम गर्थे । कोही विदेशमै फर्दर स्टडीमा गएका थिए । सबै कुरा सम्झँदै हवाइजहाजबाट नेपालका सेता हिमाल र नीला पहाड हेर्दा उनी भावुक बनिन् । उनको आँखाबाट बगेका कोशी र कर्णालीले छाती तलको घ्याम्पो जत्रो पेट निथु्रक्कै भिजेको प्रष्ट देखिन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here