फेरि अर्को एकलव्यको अवसान

0
9

नेपाली काव्य फाँटमा एउटा नयाँ फूल फक्रिएको छ । त्यो फूल हो कवि देशु वनेमको ‘फेरि एउटा अर्को एकलव्यको अवसान’ म तिम्रो बागी हुँ शिर्षकको कविताबाट शुरु भएको यस कृतिभित्रको कविता यात्रा ७०औं कवितामा पुगेर संग्रहको बिट मारिएको छ । कृतिभित्र, जिन्दगी, टालाटुली बटुली, म तिम्रो संविधानको कुन अक्षरमा छु, असारसँग, सपनाहरु अधुरै रहुन्, देश भिर र चिन्डो, पत्कर जिन्दगी, बाटुलीको प्रेमकथा, भ्यागुताहरु, यो देशमा के भइरहेको छ ? चाकाचुली, मुस्कान जस्को सामना म गर्न सक्तिनँ शिर्षक लगायतका कविताहरु प्रकाशित भएका छन् ।

कवि वनेमका कविताहरुमा देशप्रतिको माया तथा नेपालको गिजोलिएको राजनीतिप्रतिका चिन्ता र चिन्तनहरु पोखिएका पाइन्छन् । कृतिको पहिलो कविताको एक अंश पढौं, मलाई फाँसी दिएर मार, किनकि म तिम्रो बागी हुँ, गोलीको पर्राले उडाए हुन्छ मलाई, किनकि म तिम्रो राष्ट्रघाती हुँ, यसर्थ कि, मैले तिम्रो राष्ट्रको परिभाषालाई, आँखा चिम्लेर स्वीकार्न सकिनँ । यसबाट कविताबाट नेपाली राजनीतिक परिस्थिति झल्किन्छ । नेपाली राजनीति या संविधानले सम्पूर्ण नेपालीहरुलाई बराबर सामाजिक न्याय दिन सकेको छ त ? भन्ने प्रश्न यस कविताले गरेको पाइन्छ ।

म आफ्नो देश खोजिरहेको छु शीर्षकको कविताको केही हरफ पढौं, हिमालमा छैन पहाड र मधेशमा पनि छैन, म टोपी होइन धोती र दोचा मात्र पनि होइन, म म हराएको मान्छे, देश हराएको मान्छे, म आफंैभित्र आफू खोजिरहेको छु, म आफ्नो देश खोजिरहेको छु । यस कविताबाट, हामी देशभित्र छौं र नेपाल हाम्रो देश हो र पनि देश आफ्नो जस्तो भइरहेको छैन, देश अरु कसैले कतै लाँदैछ अर्थात अर्कैको अधिनमा रहेको सन्देश दिन्छ । यो सन्देश वर्तमान अवस्थामा निकै नै सान्दर्भिक छन् ।

कृतिको नाम रहेको कविता फेरि एउटा अर्को एकलव्यको अवसान संग्रहको अन्तिममा प्रकाशित भएको छ र यो कविता केही लामो छ । यस कवितामा देशमा भएको परिवर्तनको यथार्थ पोखिएका छन् । परिवर्तन भए तर के साँच्चै परिवर्तन भए त ? कविताले साँचो परिवर्तन नभएको भाव पोेखेको छ । कवि वनेमका कविताहरु यस्तै–यस्तै भावमा सिर्जना भएका पाइन्छन् । संसारमा अरु देश कहाँ कहाँ पुगिसके अनि त्यहाँका जनताहरु कति सुखी र खुशी छन्, तर नेपालमा ? नेपाली जनताहरुका मुहारमा कहिल्यै वास्तविक खुशी झल्कन पाएनन् । यिनै पिरलो र पीडा पोखिएका छन् कविताहरुमा ।
अर्को कविताको एक अंश पढेर यसको भाव जानौं, ऊ लुटिएका औंलाहरु सुम्सुम्याएर, युद्ध जितेको भ्रममा गर्व गर्छ, अरु हारेर पनि जित्छन्, ऊ जितेर पनि हार्छ, हारिरहन्छ, फेरि पनि हारिरहन्छ । यो कविताको भाव नेपालमा घटित दश वर्षे जनयुद्धबारे समेटिएका छन् । क्रान्ति ग¥यौ र सफल पा¥यौ भन्ने पक्षले के साँच्चै आमजनताहरुलाई जीतको अनुभूति दिन सके त ? आजको नेपाल हेरेर थाहा भइहाल्छ ।

कवि वनेमका काव्य सिर्जनाहरु कति ओजपूर्ण छन् भनेर जान्न कविता संग्रहमा सुरेन्द्र घिसिङ (घिसिङ च्याङबा)को भूमिकाबाट पनि जान्न सकिन्छ । ‘संग्रहका प्रत्येक पङ्ति दोहोर्याएर फेरि पढूँ–पढूँ झैं लाग्छ । प्रत्येक पंक्तिका गहिरा अर्थहरु छन् । विशेषगरी उनी प्रगतिवादी कविता लेखन अन्तर्गत सक्रिय निजत्व शैलीका साथ देखापरेका कवि हुन् । यस सङ्ग्रहका सबै कविताहरु वर्तमान परिवेशभित्रका विसंगत जीवन भोगाइको अभिव्यक्तिका रुपमा व्यक्त भएका छन् । वर्तमान विषय परिवेशप्रति उत्यन्तै चनाखा छन् । सबै कविताहरु पूर्ण रुपमा परिपक्व छन् ।

अझ भनौं समय सामन्तिसँग परिचित र सचेत छन् । त्यसैले प्रत्येक कविताभित्र विद्रोहको हुँकार छ, क्रान्तिचेत छ । समाजमा व्याप्त वर्गीय विभेद र यथास्थितिवादीहरुप्रति ठाडो चुनौती छ र तिनै विषयवस्तुको सेरोफेरोमा सम्पूर्ण कविताहरु केन्द्रित छन् । प्रस्तुत सङ्ग्रहभित्रका कविताहरु नवीनतम् प्रयोगका साथ जीवन, समाज र राज्य व्यवस्थाका विकृति, विसंगति र जनघाती कार्यका बिरुद्ध सशक्त बागी भएर उभिएका छन् । वास्तवमा देशु वनेमका यी कविताहरु जिन्दगीभरि प्रताडित निरीह निमुखा आजका मान्छेका वास्तविक विद्रोही आवाजहरु हुन् । समतामूलक समाज निर्माणका लागि उत्तिकै उत्प्रेरक छन् । काव्यिक शैली, शिल्प, भाव विधान र नवीनतम् बिम्व प्रतीक विधानका दृष्टिले पहिचानसहितको एउटा कोशेढुङ्गो अवश्य सावित हुनेछ ।’

कवि वनेम आफैका शब्दमा, ‘मलाई लाग्छ, मेरा कविताहरु भोगाइ हुन् । मैले कविता भनेर लेख्न शुरु गरिनँ, पछि ती कविता बनेका हुन् । मलाई लाग्छ, कला काल र कर्मभन्दा पर छैन । कला अर्को ग्रहबाट ल्याइन्न, यही माटोका अंश हुन्, जसलाई जुन आँखाले पारख गरिन्छ, त्यो त्यही हुन्छ । मलाई लाग्छ मेरा रचनाहरु त्यो भन्दा फरक हुन सक्दैन र त्यो कविता के हो, म अझै प्रष्ट छैन । सानो छँदा मेरा गुरुहरुले छन्द नै कविता हो भनेर सिकाउनुभयो, म त्यस्कै पछि दगुरेँ । म छन्दमा कुराकानी गर्ने भएँ । आमासित छन्दमा कुरा गरेँ, मामालाई छन्दमा चिठी लेखेँ, तर कालान्तरमा त्यो मेरो छन्दोबद्ध भाषण सम्भाषण त कविता जस्तो लागेन । मैले छन्दलाई छाडिदिएँ । तैपनि लेखिरहेँ, लेख्दैछु । म अझै कविता के हो भन्नेमा अन्योलमै छु । मैले भानुभक्त, देवकोटा, घिमिरेदेखि लिएर, रिमाल, भूपी, शंकर कोइराला, ईश्वर बल्लभसम्म पढेँ । सबै कवि हुन्, सबैका कविता हुन्, म भने मझधारमा अल्झिएको माझी जस्तै भएँ । कसैले आत्मरञ्जन त कसैले परमार्थका लागि कविता भनेका छन् । तर, न म सन्तुष्ट छु न त मेरा रचनाले कसैको पक्ष लिन्छ भन्नेमा म ढुक्क छु । तसर्थ, कविताको एउटा राजमार्ग भए हुन्थ्यो जस्तो लाग्छ ।

कवि वनेमले यस्तो भने पनि संग्रहमा समेटिएका उनका कविताहरु उच्चकोटीका कविता हुन् । मिठा मिठा, पढौं–पढौं लाग्ने, जिब्रो, मन मस्तिष्कमा छाप बनेर बस्ने वनेमका कविताहरु सुन्दर कविताहरु हुन् । उनका कविताहरुमा देशको, शहीदहरुको, देशलाई योगदान गर्नेहरु प्रतिको चिन्तन पाइन्छन् । साथसाथै, जीवन जगतका यावत आयामहरुबारे लेखिएका कविताहरु मन छुने छन् । त्यतिमात्र होइन प्रकृतिका विविध आयामबारे पनि कविता लेख्न कवि वनेम बिछट्टै सिपालु देखिएका छन् । वास्तवमा वनेम अब्बल कवि हुन् ।

कैद भई प्रस्तरहरुमा, निष्प्राण लडिरहेका, आवाजहीन भै, ऐलानी चोकहुँदी उभिरहेका, ए सहिदहरु हो, तिमी त मरेर शहीद बन्यौ, तर यहाँ लाखौँ बाँचेर शहीद बनेका छन्, म उनीहरुलाई के भनौँ ? अभागी शहीदहरु कविताबाट । म उम्रन्छु, मेरो आफ्नै माटो छ, म पलाउँछु, मेरो आफ्नै पानी छ, म लहराउँछु, मेरो आफ्नै हावा छ, म फल्छु, मेरो आफ्नै नाम छ । म तिम्रो गमलाको फूल होइन कविताबाट । उकाली ओराली अनि मैदान, जता, जहाँ हिँडे पनि, खुट्टा बोकेर हिँड्ने जुत्ता, पानी झरी र हिलोमा, दङ्दङी गनाउने गरी ओसिए पनि, सुक्खा खडेरीमा, कक्रक्क भएर सुके पनि, अनि चिसो हिउँमा, कट्कट् भएर जमे पनि, आत्था ऐया नभन्ने जुत्ता, भुँइको भुँइमा, कहिल्यै धुरीमा नपुग्ने बिचरा । जुत्ता कविताबाट । यस्ता यस्ता मनमा थपक्कै बस्ने कविताहरु कसरी कविता होइनन् ? कवि वनेमका कविताहरु कविता विधाको सबै कुञ्जीमा खरो उत्रिन सक्छन् । उनका कविताहरुमा जुन मिठास र निर्मल पनि पनि पाइन्छ ती साँच्चै नबिर्सने खालका छन् ।

लुरुङपा पाँचथर पुख्र्यौली थलो रहेका वनेम बिर्तामोड–१० झापा बसोबासी रहेका छन् । स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका वनेम महेन्द्रज्योति मावि बिर्तामोड–१० मा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै शिक्षाको उज्यालो छरेका छन् । कवि वनेमका यस अघिका कृतिहरुः अशान्ति उपन्यास, उज्यालोतिर कविता संग्रह र देशुका दुखाईहरु कविता संग्रह रहेका छन् । ती आमाहरुलाई जो गृहयुद्ध होस् या जनयुद्ध शीतयुद्ध होस् या धर्मयुद्ध युद्धको नाममा मारिए भनि समर्पण गरिएको चिटिक्क बान्की परेको यस काव्य कृतिभित्रका अर्को एकलव्य को हुन त ? जसको अवसान भयो रे । त्यो जान्नका लागि कवि देशु वनेमका कविता संग्रह अबश्य पढौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here