बिर्तामोडमा चासोक तङनाम मनाइयो

0
7

बिर्तामोड ।

किरात याक्थुम चुम्लुङ्ग बिर्तामोडले चासोक तङ्नाम उधौली पर्व मनाएको छ।

बिर्तामोडमा उधौली न्वागी पूजासहित विविध कार्यक्रमको आयोजना गरी लिम्बू समुदायको संस्था कियाचु बिर्तामोड नगर शाखाले उधौली पर्व मनाएको हो।

कियाचु केन्द्रीय सदस्य अमृत योङहाङको प्रमुख आतिथ्य तथा कियाचु बिर्तामोड शाखा अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव सन्तोष बेघाले स्वागत गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कियाचु केन्द्रीय सदस्य योङहाङले जातीय एवम् मौलिक संस्कार-संस्कृति तथा पहिचानका रुपमा रहेका यस्ता पर्वोत्सवले हामीलाई तनावबाट मुक्त भई हर्षखुशीमा रमाउने अवसरसमेत प्रदान गर्ने भएकाले यिनको ठूलो महत्व रहने बताए। उनले अमूल्य सम्पति जातीय पहिचानको संरक्षणमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै लक्ष्य प्राप्तिको शुभकामना समेत व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष हिमालयप्रकाश कन्ङ्वाले हिउँदेवाली भित्र्याउने समयमा नयाँ उब्जनी आफूले भोग गर्नुअघि ईश्वरलाई अर्पण गर्ने विधान न्वागीपूजा गर्ने परम्परा प्रकृतिपूजक लिम्बू समुदायमा रहेको र त्यसलाई केही समय पहिलेदेखि सामूहिकरुमा मनाउने कार्यलाई निरन्तरता दिंदै आएको बताए। उनले आफूहरु व्यापक योजना र कार्यक्रमका साथ अघि बढेको र त्यसमा सबैले साथ र सहयोग गर्न आग्रह समेत गरे ।

कार्यक्रममा कियाचु जिल्ला सदस्य धर्म लक्सम्बा, आदिवासी जनजाति महासंघ बिर्तामोड नगरसभापति राजकुमार राजबंशी,बिर्तामोड नगर सल्लाहकार रिमानध्वज लोक्ताम, गोलधाप माङहिमका अध्यक्ष पूर्णबहादुर लिम्बूलगायतले शुभकामना मन्तव्य राखेका थिए।

सहसचिव सन्तोष बेघाले आयव्ययसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थालाई आर्थिक तथा अन्य सहयोग गर्ने दातालाई सम्मानपत्रले सम्मान गरिएको थियो। कार्यक्रममा जातीय भेषभूषासहित सांस्कृतिक नृत्य केलाङ च्याम्ब्रुङ,हाकपारे, धान नाच प्रस्तुत गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय कलाकार गंगा फ्याक लिम्बू तथा स्थानीय कलाकारहरु रिपना लिम्बू,हिमाल लेछर्कोले गीत तथा पालम प्रस्तुत गरेका थिए भने सहभागीले सामूहिक नृत्ष गरेर कार्यक्रमा रौनक बढाएका थिए। बिर्तामोड नपा-४ का वडाध्यक्ष राहुल शर्मा,कियाचु पूर्व केन्द्रीय सदस्य राधा सुब्बालगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन सचिव सुकबहादुर आङ्देम्बेले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here