मलाई नसुनाइएको बुबाको मृत्यु खबर

0
5

म्यासेन्जरमा आमाले लगातार फोन गरिरहनुभयो, आमाको त्यो दैनिकी जस्तै हो । बिहानको समय उनी (धनु भट्टराई) र म निक्कै व्यस्त रहन्छौं । धुलाबारी माध्यमिक विद्यालय उनको सेवारत विद्यालय हो । उनले बिहान ६ः१५ मा विद्यालय पुग्नै पर्छ । यो एउटा शिक्षकको काम र जिम्मेवारी । त्यो उनको नियमित ड्युटी नै हो, त्यो ।

यही पुस ५ गते बिहान ७ः४५ देखि म्यासेन्जरमा आमाको फोन आइरह्यो । आमाको तारन्तर फोन आएपछि मैले रिसिभ गरेँ । तीन पटकसम्म उठाइनँ । चौथो पटकको उठाएँ । आमाको हतास आवज– बुबा सारो हुनुभो तँ हिँडीहाल । झापाको धुलाबारी बस्दै आएको मैले तत्काल गाडी बोलाएँ । गाडी आउँदासम्म मैले उनलाई पुनः विद्यालय पु¥याएँ ।

कोठामा फर्किएर लुगा लगाएँ, गाडी लिएर सम्बोधन गर्ने साइनो सालो । कृष्ण पोखरेल धुलाबारी आए । केही कपडा झोलामा हालेर म हतपत हिँडे । त्यसबेलासम्म मैले दाइ कृष्ण र भाइ विनोदलाई फोन गर्न भ्याइसकेको थिएँ । बुबा बिरामी भएको अशुभ खबर सुनाएर उनीहरूलाई झट्टै दमक निस्केन भनेँ ।

कृष्ण पोखरेल र म दमक आइपुग्नु अगावै दाइ र भाइ गौरादहको दहगाउँबाट दमक आइसकेका थिए । हामी तीन दाजुभाइ रफ्तारमा हुइँकियौँ, तर दुर्भाग्य बुबालाई जिवितै भेट्न हाम्रो अभिलाषा विफल बन्यो । बुबा ११ः३५ मा हामीसँगको भौतिक साथ छोडेर सदाका लागि अलप हुनुभयो ।

गाह्रो भएको आमाको अल्प खबरसँगै म बुबालाई एम्बुलेन्समा धरान, विराटनगर वा बिर्तामोडको सुबिधा सम्पन्न अस्पतालमा चेक गराउने हुटहुटीमा लागिरहेँ । आमाको खबरपछि मैले काका मुक्ति, भाइहरु बद्री, दिलिप र भुवनलाई छिटो पठाइदिन निरन्तर दबाब दिइरहेँ । तर, त्यो दबाब सार्थक बन्न सकेन । अवस्था अन्तिम भइसकेको रहेछ । बुबा बिरामी भएको केही क्षणमै बित्नु भयो ।

मैले निरन्तर दबाब दिएपछि भाइ बद्रीले एम्बुलेन्समा उनको ठूलोबुबालाई धरानसम्म ल्याउन कोसिस गरेँ । बुबाको अवस्था जटिल भनेसँगै भाइ बद्रीको त्यो प्रयास निरर्थक बन्यो । बुबालाई कहिँ लानै भ्याइएन । बिहान ११ः३५ मा भौतिक रूपमा बुबा सदाका लागि यो धराबाट अस्ताउनु भयो ।

बुबा धार्मिक व्यक्तित्व । हरेक बिहान–बेलुका पूजापाठ गर्नै पर्ने । गायत्री जप्ने, पितृलाई सम्झने–तर्पण दिने, पाञ्चायन पुज्ने, चण्डी पाठ गर्ने । जुठो, सुतक बाहेक उहाँको यो दैनन्दिनको कर्म हो । बुबा त्यसकै तयारीमा जुट्नु भएको रहेछ । बुबाले सक्नु भएन, त्यो दिन पूजा गर्न भ्याउनु भएन । बुबाको छ दशक लामो पूजा यात्रामा त्यही दिनदेखि सदाका लागि पूर्णविराम लाग्यो ।

पुस ५ मा पनि बुबा सखारै उठ्नु भयो । लघुशंका र सोच गरेर, स्नान पनि सक्नु भयो । घरको बलेसीमा धारा आउँछ । ड्रममा पानी भरिएको हुन्छ, भरिन्छ । तर, बुबाले त्यो ड्रमको पानीले कहिल्यै नुहाउनु हुन्न । त्यो दिन पनि बुबाको पहिलाकै दैनिकी दोहोरियो । भञ्ज्याङ पुग्नु भयो । नुहाउनु भयो । घरदेखि त्यहाँसम्म जान धेरैमा दुई मिनेट लाग्ला । बुबाले नुहाउनु भयो, पूजापाठका लागि शुद्ध पानी बोकेर घर आइपुग्ना साथ असहज महशुस गर्नुभयो । तुलसाको मोठमा पानी राख्नु भयो । आमालाई भन्नुभयो– ओइ ! मलाई चिसो भयो, असजिलो भयो । बाँकी बोल्नु भएन ।

हाम्रो घर भोजपुर पहाड हो, हाम्रो सामान्य घर छ । घरको बाहिर तीन वटा खाट छन् । जस मध्ये बीचको खाटमा मात्रै बुबा बस्नुहुन्छ, हुन्थ्यो । बुबा अन्तिम पटक त्यही खाटमा ढल्कनुभयो । बुबाको अन्तिम अवस्था भइसकेको रहेछ ।

बुबा डिल्लीप्रसाद गौतमले मेरी आमा चित्रकुमारी गौतमसँग अन्तिम वाक्य बोल्नु भयो– केटाकेटी अत्याउने भइ यसले । यो नै बुबाको अन्तिम वाक्य थियो । जतिबेला बिहानको ७ः५७ बजेको थियो । उहाँले इसाराले आमालाई फोन गर्न रोकिरहनु भयो ।

बुबा जतिबेला खाटमा बस्नु भयो, उतिबेला नै अन्तिम सास फेर्नु भएको रहेछ । मलाई आमाले फोन गर्दा सारो भन्नुभएको मात्रै रहेछ । छोरोले पीर मान्छ, आत्तिन्छ भन्ने आमाको निष्कर्ष रह्यो । त्यो सुझ्बुझपूर्ण निर्णय हो । बाबुआमाले सधैँ सन्तानलाई सानो देख्नु स्वभाविक हो, यो परम्परा नै हो ।

मेरा अभिभावकले त्यही गरिरहनुभयो । राजेन्द्र आत्तिन्छ भन्नेमा उहाँहरुको सोचमा कुनै खोट छैन । बुबा लिन आइज मात्रै भनिरहनुभयो । त्यो असम्भव भयो । तर, मैले आमाको फोनसँगै बुबालाई एम्बुलेन्समा हालेर पठाइदिन दबाब दिइनै रहेँ ।

म झापाबाट हिँडेदेखि किन्न भनेर म्यासेन्जरमा औषधिको नाम पठाइयो । मैले धरानमा आएर औषधि खोजेँ, भेटिएन । औषधि नभेटिएको मेरो जवाफसँगै नखोजी रहनु छिटो आउनु मात्रै भनियो । फेरि मैले पाख्रीबासमा आएर त्यो औषधि खोजेँ, भेटिएन । फोन गरेँ र भने औषधि भेटिएन । भनियो– त्यो औषधिको अब काम छैन । त्यसबेला मात्रै थाहा भयो, अब मेरो बुबा रहनु भएन । फेरि फोन गरेँ, साँच्चो भन्नु न ! जवाफ थियो– त्यस्तो होइन, तँ छिटो आइज ।

म पाख्रीबासबाट हिँडेपछि फोन गर्न छाडिदिएँ । किनकि, उहाँहरुलाई फोन होइन, अरु नै पीडाले निलेको थियो । अभिभावक गुमाएको पीडा उहाँहरु सहन गरिरहनुभएको थियो । भैँसेदेखि तल झरेपछि हामी चढेको कारको ब्रेक लागेन । केही समय बस्नै पर्ने भएपछि बुबाकै विषयमा कुरा गर्दै केहीबेर बस्यौँ । गाडी तातेर ब्रेकमा समस्या आएको रहेछ । बिना मर्मत केहीबेरमै गाडी ठिकठाक भयो ।

हामी गाडी चढ्यौँ । मैले गाडीको रफ्तार बढाउन भनेँ । पहाडी सडकै भए पनि गाडी ८० को स्पीडमा गुड्न थाल्यो । हामी जरायोटार आइपुगिम् । इन्ट्री गर्नु पर्ने नियम रहेछ । गाडी प्रहरी चौकी अगाडि रोकियो । म गाडीबाट हतपत उत्रिएँ । सडकमा उभिएका प्रहरीले सोधे– कहाँ जाने हो । मैले भनेँ– पाउली । उनले भने– पर्दैन, जानुस्–जानुस् । पण्डितबाकोमा हिँड्नु भएको ?

प्रहरीले हतारमा जानुस् र इन्ट्री पनि गर्नु पर्दैन भनेपछि मेरो बुबा बितिसकेको प्रष्ट भयो । जरायोटाबाट हाम्रो घर पाउली पुग्न तीन किलोमिटर जति छ । हामी घरमा आउँदा बुबालाई तुलसाको मोडमा लडाएको रहेछ । घरमा सयौं मानिस जम्मा हुनुहुन्थ्यो ।

मैले हतारमा बुबाको मृतमुख हेरेँ । मलाई केले किच्यो किच्यो । अत्ताल्लिएरै सम्हालिने कोशिस गरेँ, सम्हालिएँ । केश मुण्डन गर्न भनियो । मैले अडान कसेँ । आज बुबालाई घाट लगिन्न भन्ने । मरो अडान फिक्का सावित भयो । दाहसंस्कार गर्ने वैरेनी घाटामा सयौँ आफन्त र शुभचिन्तक भेला हुनु भएको रहेछ । चिता नै बनाइसकेको रहेछ ।

आफन्त, शुभचिन्तकको बाक्लो उपस्थिति । घनघोर पीडाले थिचिएरै मैले निर्णय गरेँ– चिता नै बनाइसकेपछि बुबाको शव भोलिपल्टसम्म राखिरहनु हुन्न । बुबानै नरहेपछि जिद्दी गर्नुको के अर्थ ! म आफन्त र शुभचिन्तकको मन नदुखाउने निर्णयमा पुगेँ– केवल मलाई पर्खनु भएको हो, उहाँहरुलाई, किन खिन्न बनाउने ! बुबाको दाहसंस्कार त्यही दिन गरियो । हजार कोसिस गर्दा पनि घाटबाट फिर्न मन लागेन । मेरो दिमाग बेसुरा भइरह्यो । जेनतेन राति १ बजे घर आइपुगियो । बुबा वियोगको पीडा सहन गर्नुको हामीसँग कुनै विकल्प छैन ।

मलाई थाहा छ, हामीले जति नै अलाप गरेपनि अब बुबा कहिल्यै फिर्नुहुन्न । उहाँसँगको भौतिक संगत सदाका लागि निमषभरमा टुङ्गियो । तर, बुबा मसँग अझै नजिक हुनुभएको छ । म अब जता जान्छु बुबा त्यतै जानुहुन्छ । मैले जसरी हेर्न चाह्यो, त्यसरी हेर्न सक्छु । जत्रो आकृति दियो, त्यतै बनाउन सक्छु । बाहिर होइन, अब मभित्र बुबा हुनुहुन्छ । मेरो साथ, मस्तिष्क र सोचमा बुबा हुनुहुन्छ । न कि, अन्यत्र बाहिर । मैले यत्ति बुझेँ ।

सबैलाई थाहा छ, मृत्यु कसैका लागि प्रिय हुन्न । मलाई चाहिँ यतिमात्र थाहा छ, अभिभावक आफन्त, शुभचिन्तक, प्रियजनका लागि म अझै परिपक्व भएको छैन । सत्य यही हो, म यो विषयमा अपरिपक्व छु । तर, यो भन्दा ठूलो कुरा मप्रति राखिएको सद्भाव र सुझबुझ हो । म आत्तिनु हुन्न र निरास बन्नुहुन्न । सांसारिक नियमलाई उहाँहरुले गरेको प्रयास मेरो जीवन मै स्तुत्य रहने छ ।

मेरो बुबाको मृत्युको असह्य खबर नसुनाएरै देखाउनु भयो, यसले अघाध स्नेह र सद्भाव दर्शाउँछ । जसले मलाई झापामा हुँदा बुबाको मृत्युको खबर सुनाएको थियो भने म आत्तिन सक्थेँ, असहज हुन सक्थेँ, बेहोस हुन सक्थेँ । बुबाको मृत्युसँगै अर्को असहजता हुन सक्थ्यो । बुबालाई भौतिक रूपमा नभेटे पनि भावनात्मक रूपमा सबैको समीपमा रहेछु । त्यसैले बुबाको मृत्युको खबर मलाई हठात नसुनाइएको रहेछ, सिँधै नभनिएको रहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here