‘सुकिला मान्छेको सामूहिक मृत्यु’भित्र कवि ढुंगाना

0
6

प्रेम, विद्रोह, आक्रोश, व्यंग्य, पीडा, अतृप्ती, आशा, निराशा, विरोधाभाष, जागरण र अस्तित्व जस्ता मानवीय स्वभावका प्रतिनिधिका रुपमा संग्रहित भावना समेटेका कविताहरुको संगालो हो राजेश ढुंगानाको ‘सुकिला मान्छेको सामुहिक मृत्यु’ । संग्रहको नाम राखिएको कुरा पुष्टि गर्न कविता ‘सुकिला मान्छेको सामुहिक मृत्यु’ पनि समेटिएको छ यस संगालोमा । यस संगालोमा लामा, छोटा र संक्षिप्त गरी ५५ वटा कविता संग्रहित छन् ।

कविता संग्रहको पहिलो संस्करण २०७० मा र दोश्रो संस्करण २०८० मा छापिएको छ । कविताहरु पढ्दा पढिरहुँ जस्ता छन् । अल्छी लाग्ने, निन्द्रा लाग्ने अवस्था आउँदैन । प्रायः सबै कवितामा ओज र सन्देश छ । कविता जीवन्त लाग्छन् भने मिठास र व्यंग्यले कविता प्रभावकारी पनि छन् । वर्तमानलाई समेटिएकोले केहीलाई छोडेर कालजयी पनि छन् । कवि ढंगानाले आफ्नो भूमिकामा पनि लेखेका छन्– मैले मान्छेलाई कविताको मूख्य विषय बनाएको छु ।

समग्रमा यस ब्रम्हाण्डमा अहिलेसम्म्को खोज र अनुसन्धानबाट मान्छे नै मूख्य हो मान्छेका लागि । समस्या पनि मान्छे हो समाधान पनि मान्छे नै हो । त्यसैले मान्छेले मान्छेलाई हेर्नुपर्छ । गोडमेल गर्नुपर्छ । मलजल गरेर हुर्काउनुपर्छ । बढाउनुपर्छ । फुलाउनु र फलाउनु पर्छ । अरु जीवजन्तुको पालनपोषण, संरक्षण, वातावरणीय विकास र सम्बद्र्धन पनि मान्छेलाई नै केन्द्रित गरेर गर्नुपर्छ र गरिरहेकै छ ।

भन्नलाई भनिन्छ, सृष्टिमा रहेका सबै प्राणी र वनस्पतिको साझा हो यो ब्रम्हाण्ड । तर, यस सृष्टिको सुन्दरता भनेकै मान्छे हो । यस तथ्यलाई बुझेको कुरा गर्छन् कवि ढुंगानाले आफ्ना कविता मार्फत ।

कविता राम्रा छन् वा छैनन् भन्ने कुरा पाठकको आ–आफ्नो रुची अनुसार पनि हुँदोरहेछ । तर, पनि ढुंगानाका कविताहरुलाई नराम्रो मान्नुपर्ने कारण मैले देखिन । कविताहरु पढ्दै जाँदा तौली–तौली प्रयोग गरिएका शब्द चयनले कविताहरु पढिरहन मन लाग्छ । यसको अर्थ कविताहरुमा ‘दम’ छ ।
अर्थमन्त्रीज्यूलाई प्रश्न नामक कविताको एउटा अंश हेरौं–

माननीय अर्थमन्त्रीज्यूको
बजेट भाषणको
अन्तिम शब्द पनि सकिएपछि
गाउँको कुनै नाम भएको नेपालीलाई
सोध्न मन लागेको थियो
तपाईंको बजेटमा
म चाहिँ
कहाँ र कुन कुनामा पर्छु ।

यस कविताले देशमा सरकारले बनाउने हरेक बर्षको बजेट जनता केन्द्रित नभएको प्रति तिखो व्यंग्य छ । वास्तविकता पनि त्यस्तै छ । उनका हरेक कवितामा केही न केही सन्देश छ, विद्रोह छ, अस्तित्वको लडाइँ छ । रोजाई कविताको अंश हेरौं–

मरेरै भए पनि एक पटक
सदैब मान्छे भएर बाँच्ने किरिया हाल ।
समय कवितामा कवि लेख्छन् ।
पसिनाको क्रय–विक्रयलाई
अब पनि हामीले
उपलब्धिमा व्याख्या गर्नुहुन्न
अझै पनि हामीले रगतको अंशबण्डा गरेर
जीवनको अर्थ खोजी हिँड्नुहुन्न ।

आफूलाई शान्तिदूतको देशमा बस्ने शान्तिप्रिय भन्ने कुरा फगत देखाउने कुरा मात्र अथवा आडम्बर हो भन्ने कविको धारणा ‘गौतम बुद्ध’ नामक कवितामा पाइन्छ । एउटै कविताको पनि थुप्रै र लामा व्याख्या तथा विश्लेषण गर्न सकिने भाव र प्रतिक कविले दिएका छन् । यसबाट कवि ढुंगानालाई सिद्धहस्त कविभन्दा फरक पर्दैन । उनको यही एउटा कविामा भएको हिंसा र शान्तिको विश्लेषण र व्याख्या गर्न पर्याप्त हुन्छ भन्ने लाग्छ । हेरौं कविताको अंश ।

बुद्धको नाम लिनु, इतिहासको गर्वमा हामीले
ठीक त्यस्तै कुरा न हो,
जस्तो,
कोर निस्केको सम्पूर्ण हातबाट
सद्दे रहेको एउटा औंला
अरु छोपेर
त्यो मात्र सुटुक्क देखाउनु ।

स्वतन्त्रता र मुक्त जीवन मान्छेका लागि अति प्रिय कुरा हो । हुन त संसराका सबै प्राणी स्वतन्त्र खोज्छन् र मुक्त जीवन बाँच्न चाहन्छन् । तर, मान्छेले आफ्नो फाइदाका लागि उनीहरुलाई अधिनमा राख्छन् । आफू उन्मुक्त हुन चाहन्छ । तर, अरु प्राणीलाई आफ्ना लागि बन्धनमा राख्न चाहन्छ र राखेको छ । आफू उन्मुक्त हुन चाहे पनि मान्छे विभिन्न कारणले बन्धनमा बस्न बाध्य हुन्छ ।
मान्छेले राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक, पारिवारिक, शारीरिक लगायतको बन्धनमा बस्नु पर्छ । राजनीतिक बन्धन मान्छेले तोड्न सक्छ । तर, अरु बन्धन तोड्न मुश्किल हुन्छ । उसले बन्धन तोड्न नसके पनि मनले बन्धन तोडेर मुक्त हुने र त्यो चाहना राख्न उसलाई कसैले रोक्न सक्दैन । यसै प्रसंगमा कविको ‘मुक्तताको गीत’ कविताको अंश हेरौं–

आँखा फुट्नु अगावै
मान्छेले नांगो आँखाले आकाश देखिसकेको छ
अब त आँखा नै फुटे पनि
मान्छेले उदांग क्षितिजको
स्मरण भने
एकरत्ति पनि बिर्सन सक्दैन ।

कवि कवितामा स्वछन्द बगेका छन् । उनलाई कुनै भेल, बाढी, पहरा, या शक्तिले रोक्न, छैक्न सक्दैन । कवितामा शब्द चयन, शब्दको प्रयोग, तौली तौलिकन, माझेर टलक्क टल्किने गरी सजाएर प्रयोग गरे जस्तै लाग्छन् । उनका कवितामा कुनैमा मान्छेमा हुने निराशा छ, आशा छ । कुण्ठा पनि छ । बाध्यता पनि छ । विरोधाभाष पनि छ । विश्वास पनि छ । नढाँटी भन्ने हो भने मान्छे भएपछि मनमा जे–जे खेल्छन् । तिनलाई कवितामा उनले विभिन्न माध्यमबाट व्यक्त गरेका छन् । यसैले यस संग्रहका सबै कविताको अलग–अलग विश्लेषण गर्नुभन्दा पाठकले आफैं पढेर महशुस गर्दा आउने आनन्द, समालोचना पढेर नहुने ठानेर यस आलेखलाई यहीं विराम दिन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here