जनता औषधि कार्यक्रम

0
5

झापाको अर्जुनधारास्थित खुदुनाबारी स्वास्थ्य चौकीमा एउटा नयाँ कार्यक्रम सञ्चालन गरिएको छ । अर्जुनधारा–३, खुदुनाबारीमा रहेको स्वास्थ्य चौकीमा सोमबारदेखि सेवा शुभारम्भ गरिएको कार्यक्रमलाई ‘जनता औषधि कार्यक्रम’ भनिएको छ । सो कार्यक्रम अनुसार बजेट विनियोजन भएपछि सेवा प्रारम्भ भएको हो । कार्यक्रम अनुसार स्वास्थ्य चौकीमा सेवा लिन आउनेहरुले अब निःशुल्क प्राप्त गर्ने बाहेकका औषधि बजार मूल्यमा भन्दा पचास प्रतिशत कममा पाउनेछन् । स्वास्थ्यचौकीका प्रमुख डम्बरबल्लभ मिश्रले कार्यक्रमबाट सेवाग्राहीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने बताएका छन् ।

बिरामीले अब निःशुल्क बाहेकका औषधि सोही कार्यक्रम मार्फत सस्तो र सहजै प्राप्त गर्न सक्ने भन्दै स्थानीयले पनि प्रशंसा गरेका छन् । सभामुख देवराज घिमिरे समेतले कार्यक्रमलाई उदाहरणीय र अनुकरणीय भन्दै यसले महँगो मूल्य तिर्नु नपर्ने अवस्था सृजना गर्ने बताएका छन् । कार्यक्रमबाट औषधि किन्नैपर्ने बाध्यताकाबीच गरीब, असहाय, पिछडिएको वर्ग र सबै सेवाग्राहीलाई निर्धारितभन्दा कम मूल्यमा गुणस्तरीय औषधि पाउने भएपछि राहत हुने अपेक्षा गर्न सकिन्छ । कार्यक्रमका लागि पालिकाले पहिलो चरणमा विनियोजन गरेको पाँच लाख रुपैयाँबाट औषधि खरिद गरिएको छ । स्वास्थ्य चौकीमा रहेको औषधि व्यवस्थित र पारदर्शी ढंगले वितरण गर्नु स्वास्थ्य चौकीको अबको जिम्मेवारी हो ।

देश विकासका पूर्वाधारहरु मध्येको संवेदनशील क्षेत्र भनेकै स्वास्थ्य हो । स्वस्थ्य नहुञ्जेल समृद्धि र भौतिक विकासको कल्पना गर्न सकिँदैन । तसर्थ शिक्षाभन्दा पनि ममहत्वपूर्ण मानिएको स्वास्थ्य क्षेत्रको विकास आजको सर्वाधिक महत्वको विषय हो । आज स्वास्थ्य सेवा प्रदायक संस्था उल्लेख्य संख्यामा थपिएका छन् । निःशुल्क उपचार र औषधिको प्रबन्ध पनि हुन थालेको छ । तर, त्यसको सेवा, गुणस्तर र निरन्तरतामा समय–समयमा प्रश्न उठ्ने गरेको छ । यस्तोमा खुदुनाबारी स्वास्थ्य चौकीले प्रवाह गर्न थालेको जनता औषधि कार्यक्रम पनि व्यवस्थापन र सेवा प्रवाहको निरन्तरता र इमान्दारितामा निर्भर रहन्छ । कार्यक्रम प्रारम्भ गरे जस्तै अन्य क्षेत्र, जिल्ला र सबै सेवा प्रदायक संस्थाहरुमा विस्तार गर्न यसले उदाहरणीय अग्रता लिन सक्नुपर्छ । यसो भयो भने कार्यक्रमसँग सम्बन्धित सबै धन्यवादका पात्र पनि हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here