अर्जुनधारा नगर विकास बहुउद्देश्यीयको दोस्रो सभा सम्पन्न

0
7

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

संस्थाको कार्यालय परिसरमा संस्था सञ्चालक समितिका अध्यक्ष प्रत्युसआजाद रानाको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष रानाले गत आर्थिक वर्ष ०७९÷०८०को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा शेयर सदस्य संख्या वृद्धि तथा पूँजी निर्माण, कृषि उत्पादन सम्बन्धी अभिमुखिकरण तालिम, धान पकेट कार्यक्रमको निरन्तरता, बीज वृद्धि कार्यक्रम, कृषि प्राविधिक सेवा सञ्चालन, रासायनिक मलको व्यवस्थापन र उपलब्धता, तालिम र गोष्ठीको आयोजना, कृषि उपज संकलन, भण्डारण र बजारीकरण, कार्यविधि निर्माण, वडा इकाई उपसमिति गठन÷पुर्नगठनलगायतका कार्यहरु संस्थाले गरेको उल्लेख गरिएको छ ।

संस्थाले आगामी दिनमा पूँजी निर्माण गर्न शेयर रकम वृद्धि तथा दिर्घकालिन बचत कार्यक्रम, कृषि उत्पादन संकलन, भण्डारण, प्रशोधन तथा कृषि उद्योग स्थापना तथा उत्पादित वस्तुको बजारीकरण गर्ने, नगरपालिका र वडा कार्यालयहरुसँगको समन्वयमा विशेष बाली पकेट क्षेत्रको निर्धारण गरि उत्पादन वृद्धि कार्यक्रम सञ्चालन गर्ने, बचत संकलन तथा उत्पादन वृद्धिका लागि कर्जा लगानीको वातावरण बनाउने, सरकारद्वारा सञ्चालन गरिने योजना अनुसार परियोजना प्रस्ताव तयार गरि कार्यक्रम माग गर्ने, कृषि उपभोक्ता भण्डार स्थापना गरि शेयर सदस्यहरुमा सेवा प्रवाह गर्नेलगायतका कार्यहरु गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी संस्थाको जम्मा शेयर पूँजी ३८ लाख २७ हजार नौ सय रुपैयाँ, निक्षेप संकलन सात लाख १५ हजार दुई सय ५१ रुपैयाँ, लगानीमा रहेको रकम १४ लाख ८६ हजार पाँच सय ४३ रुपैयाँ, जगेडा कोषमा पाँच लाख रुपैयाँ र स्टक मौज्दातमा २१ लाख तीन सय २५ रुपैयाँ रहेको छ । त्यस्तै गत आर्थिक वर्षमा दुई करोड १६ लाख ८७ हजार आठ सय ४० रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्ष ०८०/०८१को लागि अनुमानित दुई करोड ७७ लाख ६० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सभामा पेश गरिएको थियो ।

सोही कार्यक्रममा धान बाली बीज वृद्धि कार्यक्रम अन्र्तगत सफल कृषकहरु अर्जुनधारा–१ निवासी लोकनाथ वाग्ले, अर्जुनधारा–७ निवासी राजेन्द्रप्रसाद निरौला र अर्जुनधारा–४ निवासी वेदप्रकाश घिमिरेलाई नगद पुरस्कारसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

सभामा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष सूर्य खतिवडा, अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्का, शनिश्चरे साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष भैरवबहादुर खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिकी सदस्य देवकला प्रसाईंले स्वागत गरेको उक्त सभाको सञ्चालन उपाध्यक्ष छत्र पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here